नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल (क्रान्तिकारी)को माग – Nepal Press

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (अखिल क्रान्त्रिकारी)ले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधवार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई सिंह दरबार पुगेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेको हो ।

चरम बेथितिका कारण देशको शैक्षिक अवस्था भद्रगोल बनेको भन्दै तत्काल सुधारका कदम चाल्न समेत क्रान्तिकारीले माग गरेको छ। २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँ पटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने पनि उनीहरूको माग रहेको छ ।

सामुदायिक शिक्षादेखि व्यवसायिक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको उनीहरूको जिकिर छ ।

शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्टाउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको अखिल (क्रान्तिकारी) को माग पत्रमा उल्लेख छ उल्लेख छ ।

‘विभिन्न मानकहरूलाई आधार मानेर हेर्ने हो भने हाम्रो त्रिभुवन विश्वविद्यालयलाई आज संसारको उत्कृष्ट एक हजारको सूचिमा पनि पर्न निकै कठिन छ ।’ अखिल क्रान्तिकारीले भनेको छ, ‘एकातिर, आज विश्वविद्यालय पढ्न चाहने उत्कृष्ट विद्यार्थीहरूको रोजाई त्रिभुवन विश्वविद्यालय बन्न सकिरहेको छैन भने अर्कोतिर, दक्ष जनशक्ति बिदेसिने ‘ब्रेन ड्रेन’को समस्या दिनप्रतिदिन बढिरहेको छ। शिक्षाका कुनै पनि क्षेत्र सन्तोषजनक छैनन्।’

प्राविधिक शिक्षा नाम मात्रको प्राविधिक शिक्षा जस्तो महसुस हुन थालेको भन्दै अखिल क्रान्तिकारीले पुरै शिक्षा क्षेत्र नै उद्धारको पर्खाइमा रहेको उल्लेख गरेको छ।

त्यस्तै अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्न पत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गरी यस्तो प्राज्ञिक बेथितिको पूर्णतया अन्त्य गर्न माग गरेको छ ।

त्रि.वि. लगायतका अन्य विश्वविद्यालयहरूमा पदाधिकारी लगायत विभिन्न नियुक्तिहरूमा हुने राजनीतिक भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्ने व्यवस्था गर्न समेत उसले भनेको छ।

प्रत्येक २र२ वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरूमा करिब १४ वर्ष देखि हुन सकिरहेको छैन भन्दै अखिल क्रान्तिकारीले पछिल्लो समय मिति २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरूमा पनि झन्डै ६ वर्ष देखि स्ववियुविहिन भएकोले तत्काल सबै विश्वविद्यालयहरूमा तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरी तनावरहित वातावरणमा निर्वाचन हुने परिपाटी मिलाउन माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर