एसपीको सरुवामा प्रहरी हेडक्वार्टरलाई सकस, काजको सहारामा किस्ता-किस्ता गरिँदै – Nepal Press

एसपीको सरुवामा प्रहरी हेडक्वार्टरलाई सकस, काजको सहारामा किस्ता-किस्ता गरिँदै

काठमाडौं। जिल्लाको नेतृत्व गर्ने प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्न प्रहरी प्रधान कार्यालयलाई निकै सकस देखिएको छ । असार ८ गते एक वर्षे कार्यकाल पुगिसकेका जिल्ला प्रमुखहरू तीन पटक सरुवा निकाल्दा पनि पूर्ण रूपमा फेरिएनन् ।

प्रहरी प्रधान कार्यालयले साउन ८ गते ११ जना एसपीको काज सरुवा निकालेको थियो जसमा ७ वटा जिल्लाका प्रमुख फेरिएका थिए ।

कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, मकवानपुरमा बामदेव गौतम, रौतहटमा वीर बहादुर बोहरा र डोटीमा दिलीप घिमिरेलाई पठाउने निर्णय भएको थियो ।

प्रहरी प्रधान कार्यालयले फेरी साउन १२ गते २४ जना एसपीको सरुवा गर्‍यो । साउन ८ गते काज सरुवा भएका ७ जनालाई नियमित सरुवा स्वरूप सोही ठाउँमा दरबन्दी बनाइयो ।

अघिल्ला विभिन्न मितिमा काज सरुवाबाट महोत्तरी प्रमुख भएका प्रवीण पोखरेल, सिन्धुपाल्चोक प्रहरी प्रमुख भएका रामेश्वर यादव, कैलाली प्रमुख भएका सोमेन्द्रसिंह राठाैर र मोरङ प्रमुख भएका शान्तिराज कोइरालाको पनि सोही ठाउँमा दरबन्दी तय भयो ।

प्रहरी प्रधान कार्यालयले आइतबार फेरी एसपीको काज सरुवा निकालेपछि थप ४ जिल्लाका प्रमुख फेरिएका छन्।इलाममा दिलीप घिमिरे, सुनसरीमा प्रभु ढकाल, उदयपुरमा ज्ञानेन्द्र फुयाँल र नुवाकोटमा रमेश पण्डित पुगेका छन् ।

यति गर्दा पनि एसपीले नेतृत्व गर्ने अझै तीन जिल्लाका प्रहरी प्रमुख फेर्नुपर्ने अवस्था छ । दाङ, बाँके र सुर्खेतका प्रहरी प्रमुखको एक वर्षे कार्यकाल गत असार ८ गते पुगे पनि उनीहरू अझै फेरिएका छैनन् । केही दिनमा फेरी सरुवा निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ ।
‘एकैपटक सरुवा नगरेर पटक पटक गर्नुका पछाडि प्रहरी प्रधान कार्यालयमाथि शक्तिकेन्द्रको दबाब बुझ्न सकिन्छु,’ एक उच्च प्रहरी अधिकृतले भने ।

डोटी किन गएनन् दिलीप ?

प्रहरीको कर्मचारी प्रशासन शाखामा काम गरेका दिलीप घिमिरेलाई साउन ८ गते डोटी प्रमुखमा काज सरुवा गरिएको थियो । तर साउन १२ गते निकालिएको नियमित सरुवामा दिलिपको सशस्त्र गण दुई नम्बरमा दरबन्दी उल्लेख थियो ।

उनै दिलीप आइतबार निकालिएको काज सरुवामा इलाम प्रहरी प्रमुख बनेर जाने तय भएको छ ।

विगतमा कर्मचारी प्रशासन शाखामा काम गरेका एसपीले आकर्षक ठाउँमा सरुवा माग्ने गरेको देखिए पनि आफूलाई डोटीमा पठाउन खोजिएपछि घिमिरे खुसी थिएनन् । त्यही कारण त्यहाँको सरुवा रोकेर उनले इलाम ताकेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर