युवराज ज्ञवालीको आशंका- माधव नेपाल एमाले समाप्त पार्ने ग्रायण्ड डिजाइनमा लाग्नुभएको छ – Nepal Press
नेपाल टक

युवराज ज्ञवालीको आशंका- माधव नेपाल एमाले समाप्त पार्ने ग्रायण्ड डिजाइनमा लाग्नुभएको छ

अहिले मुख्य प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसको बीचमा

कैलाली । ३२ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नेपाल चीन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेलको प्रस्ताव गरे । श्रेष्ठको प्रस्तावलाई एमाले अध्यक्ष केपी ओलीले त्यति महत्व दिएनन् । बरु भने, ‘विचार मिल्दैन भने किन त्यो पार्टीमा बस्नुहुन्छ ।’

स्थानीय तहको परिणामपछि एमालेभित्र पनि वाम तालमेलको कुरा आइरहेको छ । तर, ओलीले कांग्रेससँगको साथ छोडेपछि मात्रै यस विषयमा छलफल हुने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्रको बहस सुरु गर्दा ९ साउनमा एमाले नेता भुसालले एमालेबाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गर्न सिंहदरबार पुगेका थिए ।

पछिल्ला यी दृश्य र परिदृश्यले नेपाली राजनीति फेरि फरक मोडमा पुग्ने हो कि भन्ने चर्चा सुरु भएको छ । प्रस्तुत छ, स्थानीय तह निर्वाचन परिणामबारे एमालेको बुझाइ, अगामी संसदीय निर्वाचनको आँकलन र वाम तालमेलबारे एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग गरिएको कुराकानी :

– तपाईंले स्थानीय तह निर्वाचनमा एमाले एक्लै होमिन्छ र राम्रो परिणाम ल्याउँछ भन्नुभएको थियो । त्यो वेला गलत रिपोर्टिङ गरिएको थियो कि तपाईं भ्रममा हुनुहुन्थ्यो ?

स्वाभाविक रूपमा जित्ने उद्देश्यले नै चुनावमा गइन्छ । हार्ने उद्देश्यले कोही पनि जाँदैन । त्यो वेला स्थानीय तहमा पनि नेकपा एमालेको बहुमत थियो । संसदमा अहिले पनि ठूलो दल छ । यो त्यसको आधार हो । यस्तो आधार भएको पार्टीले निर्वाचनमा बहुमत ल्याउँछौं भन्नु कुनै अनौठो होइन । त्यो स्वाभाविक कुरा थियो ।

– त्यसमा जनताको भावना बुझ्ने प्रयास गरिएन ?

नयाँ चुनाव नहुँदासम्म त पहिलेकै मत परिणामलाई आधार मान्ने हो नि ! अहिले स्थानीय तहको चुनाव भइसकेपछि केही कुरामा तलमाथि भयो । त्यो वेला हामी त्यसै पनि बहुमतमा थियौं । त्यो बेला भन्नु उपयुक्त थियो ।

पाँच दलीय गठबन्धनले गर्दा पनि स्वाभाविक रूपमा हामीले धक्का पाएका हौं । आन्तरिक रूपमा अन्तर्घात पनि भएको छ । त्यसले पर्दा पनि हामी पदीय हिसाबले दोस्रो स्थानमा रहन बाध्य भयौं ।

– एमाले स्थानीय तहमा दोस्रोमा पुग्नुमा दोष कसलाई जान्छ ? मतदाता, उम्मेदवार कि नेतृत्व ?

मतदातालाई दोष दिने कुरा आउँदैन । उहाँहरु हाम्रो कामबाट खुशी भए मत दिनुहुन्छ, नभए दिनुहुन्न ।

– एमालेको कामबाट अहिले मतदाता खुशी छैनन् भन्ने कुरा हो ?

त्यस्तो अवस्था पनि होइन । एमालेको लोकप्रिय मत अहिले पनि सबैभन्दा राम्रो छ । तर, पदको हिसाबले यो चुनावमा हामी दोस्रो भएका छौं ।

पाँच दल मिल्दा पनि केही केही स्थानमा थोरै मतले हारेका छौं ।

– तपाईंले निर्वाचनमा पराजित हुनुको कारण गुटबन्दी होइन अन्तर्घात भन्नुभयो । गुटबन्दी नभई अन्तर्घात हुन्छ र ?

त्यो कुरा त अहिले पनि मैले भनिरहेको छु । हाम्रो पार्टीमा अहिले माथिबाटै हुने गुटबन्दी छैन । यो नेकपा एमालेको इतिहासमा पहिलो घटना हो ।

पहिले कुनै बेला सीपी मैनालीको गुटबन्दी थियो । त्यसपछि वामदेवजी र सीपी मैनाली एक ठाउँमा भएर गरेको गुटबन्दी र पार्टी विभाजन । त्यसपछि माधव-केपी एकातर्फ झलनाथ अर्कोतर्फ भएको कुरा । पछि माधव-केपी दूरी भयो ।

तर, अहिले त्यस्तो अवस्था छैन । अहिले मैले छुट्टै गुटबन्दी गरेको छैन । म तेस्रो पोजिसनमा छु अहिले । ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । पहिलो पोजिसनमा केपी ओली हुनुहुन्छ ।

– राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई हराउन तपाईंहरूले गुटबन्दी गरेको र खिमलाल देवकोटालाई जिताएको कुरा भुल्नुभएको हो ?

गुटबन्दी भन्ने कुरा बलियो भएपछि गर्ने र कमजोर हुँदा नगर्ने भन्ने कुरा हुँदैन । अहिले गुटबन्दी गर्न हुँदैन भन्ने हाम्रो मान्यता छ ।

– मैले फेरि सोधे, बादललाई हराउन तपाईंहरूले गुटबन्दी गर्नुभएको होइन ?

त्यो वेलामा त प्रत्यक्ष देखिने समूहै थियो नि ! हामी त्यो वेला त समानान्तर नेकपा एमाले बनाएर हिँडेका थियौं । नेकपा एमालेको जिल्ला, प्रदेश र केन्द्र भन्ने ब्यानर नै बनाएर हिँडेका थियौं हामी ।

(हाँस्दै) पछाडि नेपाल-खनाल पनि…।

माथि ब्यासमा त त्यो हुन्थेन । हामी नेकपा एमाले नै भन्ने गरेका थियौं । संसद विघटन भयो । त्यो चित्त बुझेन । त्यो कुराको आलोचना भयो । आलोचना गर्नेहरू एक ठाउँमा आएका थियौं । संसद विघटन गर्नु गलत थियो । बेठीक थियो भन्नेहरू सबै एक ठाउँमा आएका हौं ।

त्यो बेलासम्म एमाले विभाजन गर्न हुँदैन भन्नेमा हामी थियौं । जेठ २ मा जानुपर्छ भनेका थियौं । १० बुँदे सहमतिले त्यो कुरा पूरा गर्‍यो ।

– त्यसो भए १० बुँदे सहमतिपछि माधवकुमार नेपालहरूले पार्टी फुटाउनु गल्ती हो ?

त्यो त गल्तीमात्र होइन महागल्ती हो । हामीले समानान्तर एमाले भनेका थियौं । एमाले विभाजन गर्न हुँदैन भनेका थियौं । हाम्रा मागहरू थिए, ती १० बुँदाले सम्बोधन गरेको थियो ।

– १० बुँदे सहमति माधवकुमार नेपालले नमान्नुको कारण के हो ?

केपी कमरेडले महाधिवेशन नगरी १५ सयको केन्द्रीय कमिटी बनाइसक्नुभएको थियो । हामीले त्यो मान्न हुँदैन भनेका थियौं । संसद पुनःस्थापना र जेठ २ हाम्रा मागहरू थिए ।

संसद अदालतले पुनःस्थापन गरेपछि एउटा मागमात्रै बच्यो । त्यो माग पनि १० बुँदे सहमतिले पूरा गर्‍यो । त्यसपछि पार्टी विभाजन गर्ने कुरा एकदमै खतरनाक कुरा थियो । ऐतिहासिक भूल र ठूलो गल्ती थियो ।

– नेपालले किन त्यस्तो गर्नुभयो त ?

नेकपा एमालेलाई समाप्त पार्ने ग्रायण्ड डिजाइनमा उहाँ पनि कहींकतै लाग्नुभयो कि भन्ने आशंका छ ।

– सुरुमा तपाईंहरुले पनि माधव नेपाललाई साथ दिनुभयो नि ! ग्रायण्ड डिजाइनको पहिलो चरणको हिस्सेदार तपाईंहरु पनि हो ?

त्यस्तो होइन । नेकपाको दुईतिहाइ सरकार नेपालमा बन्यो । कम्युनिष्टविरोधी देशी-विदेशी शक्तिहरूको लागि सही नसक्नु थियो । त्यो असफल पार्न पार्टीभित्रको अन्तरविरोधमा उनीहरू मज्जाले खेले ।

– देशी-विदेशी शक्तिहरूले सबैभन्दा धेरै कसलाई प्रयोग गरे ?

क-कसलाई गरे, गरे नि ! किटानीको साथ को कताबाट भए भन्ने कुरा कति देखिएको हुन्छ, कति देखिएको हुँदैन । उनीहरूले नेकपालाई विभाजित बनाए । फेरि नेकपामात्रै फुटाएर पुगेन । नेकपा एमाले पनि विभाजन पार्ने उनीहरूको रणनीति बन्यो ।

– किन ?

एमाले विभाजित नगरेसम्म फेरि बहुमत ल्याउने खतरा थियो उनीहरूको लागि । त्यही भएर एमालेभित्र पनि कम्युनिष्टविरोधी शक्तिहरू राम्रोसँग खेले । त्यसको उदाहरण शेरबहादुर देउवाले एमाले फुटाउने गरी ल्याएको अध्यादेशबाटै प्रस्ट भइसकेको छ नि !

– अहिले देउवालाई आरोप लगाउनुहुन्छ । उहाँलाई तपाईंहरूले नै प्रधानमन्त्री बनाउनुभएको होइन ?

हामीले बनाएको होइन । अदालतले बनाएको हो ।

– अदालतसम्म यो विषय पुर्‍याउन भूमिका खेल्ने त तपाईं पनि हो नि !

त्यो वेला शेरबहादुरको पक्षमा केही साथीहरूले हस्ताक्षर गर्नुभयो । म त सांसद पनि थिइन । अर्को कुरा हामीसँगै रहेका केही साथीहरूले हस्ताक्षर गर्न मान्नुभएन ।

– देउवालाई प्रधानमन्त्री बनाउने गरी तपाईंहरूले सुरु गर्नुभएको हस्ताक्षर अभियान ठीक थियो कि गलत ?

(केही केर मौन) त्यसको समीक्षा गर्ने हो भने संसद पुनःस्थापना भएपछि सरकार कसले बनाउने भन्ने निर्णय सांसदबाट हुनुपर्ने थियो । अदालतले संसदमा फिर्ता गरिदिनुपर्ने थियो । त्यो नभएर अदालतले नै प्रधानमन्त्री घोषणा गरिदियो ।

– त्यो वातावरण पनि त तपाईंहरूकै कारण सृजना भएको हो नि होइन र ?

त्यो वेला हामीले र हाम्रा पक्षका साथीहरूले संसद पुनःस्थापना भएपछि सांसदबाटै सरकार बनाउने बाटोतर्फ जानुपर्ने थियो ।

– हस्ताक्षर गर्नु गलत रहेको ठम्याइ हो ?

अहिलेसम्मको घटनाले त्यसरी हस्ताक्षर गर्नु गलत रहेछ भन्ने देखाएको छ । त्यो हस्ताक्षर नगरेको भए वा अदालतले संसदमै पठाइदिएको भए एमालेकै नेतृत्वमा अरू केही दल मिलेर केपी ओलीकै नेतृत्वमा सरकार बन्थ्यो र अहिले त्यस सरकारले चुनाव गराउँथ्यो ।

अहिले त्यही कुराले समस्या सृजना गरिरहेको छ । स्थानीय तहमा पनि पदीय रूपमा हाम्रो दोस्रो हुन बाध्य भयौं ।

– अब हुने संसदीय निर्वाचनमा एमालेको पोजिसन कस्तो होला ?

स्थानीय तहमा धेरै ठाउँमा झिनो मतले हारेका छौं । त्यसलाई बढाउन सकिन्छ । हामी त्यसमा लागिरहेका पनि छौं ।

– स्थानीय निर्वाचनभन्दा अगाडि तपाईंहरू पूरै हौसिनुभएको थियो । परिणाम त त्यस्तो आएन । अहिले हौसला छ कि त्रास ?

यो चुनावपछि हामी पहिले जस्तो नभएर सतर्क छौं । तपाईंले भनेको जस्तो स्थानीय तहको निर्वाचनभन्दा पहिले हामीलाई अलि बढी नै आत्मविश्वास थियो ।

एमालेमा प्रवेश गर्नेहरूको भयङ्कर लहर थियो । त्यसले हामीलाई आत्मविश्वास बढाएको थियो । तर, जति एमालेमा प्रवेश गरे, तिनीहरूले भोट कहाँ हाले भन्ने कुरा अनौठो छ ।

वीरगञ्जमा भन्नुहोस् उनी पूर्वमेयर र स्थापित व्यक्ति हुन् । उहाँले ल्याएका मान्छे र एमालेको भोट जोड्दा बहुमत आउनुपर्ने थियो । तर, कहाँ गए ती भोट ? जुम्लामा, हुम्लामा ती मान्छेहरूको मत कहाँ गयो ? ती जिल्लामा एउटा पनि पदाधिकारी छैन ।

अन्य धेरै ठाउँमा अन्तर्घातले पनि परिणाम नराम्रो आएको छ । स्थानीय तहमा जस्तो अन्तर्घात प्रदेश र संघीय निर्वाचनमा हुँदैन ।

– अहिले वाम तालमेलको कुरा पनि आइरहेको छ । एमालेइतर वाम तालमेलको सम्भावना हो कि त्यसमा एमाले पनि समेटिन सक्छ ?

आवश्यकताको रूपले हेर्ने हो भने वामपन्थी एक ठाउँमा हुनुपर्छ ।

तर, एकथरि वामपन्थीहरू कांग्रेससँग मिलेर एमाले हराउने भन्दै गठबन्धन गरिरहेका छन् । पाँच दलीय गठबन्धनको नेता त शेरबहादुर देउवा हुनुहुन्छ । प्रचण्डजी र माधव नेपालजीले पाँच दलीय गठबन्धनको नेता म हुँ भनेर कसैले मान्छ ?

– एमाले अध्यक्ष नै सहभागी भएको कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले शेर र सवाशेरको प्रसङ्ग निकाल्दै पुनः तालमेल र पार्टी एकताका लागि प्रस्ताव राखेका थिए । त्यो सम्भव छ ?

उहाँहरूले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरिरहनुभएको छ । आफूले केही सीट पाउन नेपाली कांग्रेसलाई जिताउने हो । यो धेरै गम्भीर विषय हो ।

अहिले मुख्य प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसको बीचमा हो । कांग्रेसले जित्ने भनेको पूँजीवादले जित्ने हो । एमालेले जित्ने भनेको समाजवादीले जित्ने हो । यो लडाइँ कम्युनिष्ट र कांग्रेसबीचको हो ।

कि कांग्रेसले जित्ने हो कि एमालेले । माओवादीले अहिले केही सीट बढाउने हो । समाजवादीले आफ्नो इज्जत बचाउनेमात्र हो । तर, उहाँहरू कांग्रेससँग मिलेर एमाले हराउन लाग्नुभएको छ । एमालेको पत्तासाप गर्नुपर्छ भनेर लागिरहनु भएको छ ।

एकातर्फ कांग्रेससँग मिलेर एमाले हराउने मोर्चा बनाइरहनु भएको छ अर्कोतिर उहाँहरू वाममोर्चा भन्दै हुनुहुन्छ । उहाँहरूले भन्न खोजेको वाममोर्चा एमालेसहितको होइन । एमालेविरोधी मोर्चा बनाएर कांग्रेससँग बार्गेनिङ गर्ने उहाँहरूको रणनीति हो । उहाँहरूको अहिले पनि रणनीति एमाले हराउने हो, कांग्रेस हराउने होइन ।

नेपालमा समाजवाद ल्याउने भन्ने अनि पूँजीवादमा लागेर हुन्छ ? कम्युनिष्टलाई बलियो बनाएर समाजवाद आउँछ । अहिले उहाँहरू कुरा गर्नुहुन्छ पश्चिमको, हिँड्नुभएको छ पूर्वतिर ।

यदि उहाँहरूले एमालेसँग तालमेल गर्न खोज्नुभएको हो भने कांग्रेससँग हाम्रो गठबन्धन छैन, अब हामी कांग्रेससँग प्रतिस्पर्धा गर्छौं भन्नुपर्‍यो ।

– त्यति भन्ने सम्भावना छ वा त्यो भनेपछि एमालेसहितको वाममोर्चा बन्छ ?

पहिला त त्यो भन्नुपर्‍यो नि ! कांग्रेससँग मिल्ने वा तालमेल गर्ने होइन, त्योसँग प्रतिस्पर्धा गर्ने हो, हराउने हो भनेर उहाँहरूले भन्नुभएपछि बल्ल वार्तामा बसिन्छ । अहिले त उहाँहरू कांग्रेसलाई पहिलो बनाउने भन्दै हिँडिरहनु भएको छ ।
कांग्रेससँग धेरै सीट माग्न एमालेसँग मिल्ने कुरामात्रै उहाँहरूले गर्नुभएको हो ।

– केही दिन पहिले सिंहदरबारमा घनश्याम भुसालले प्रचण्डलाई भेटेर एमालेसहितको वाममोर्चा बनाउन आग्रह गरेको कुरा पनि आइरहेको छ । एमालेभित्रैबाट पनि माओवादीसँग तालमेलको प्रयास भइरहेको हो ?

व्यक्तिगत रूपमा कसले कोसँग कुरा गरिरहेको छ भन्ने कुराले अर्थ राख्दैन । त्यस्तो त मेरो पनि कुराकानी भइरहेको छ नि ! संस्थागत रूपले कमरेड केपी ओलीसहित हाम्रो सचिवालय तयार हुनुपर्‍यो नि ! हामीले संस्थागत रूपमा वाम तालमेलमा जानुपर्ने भए निर्णय गर्नुपर्छ भनेका छौं । कुराकानी त मेरो पनि चलिरहेको छ अर्काको पनि चलिरहेको छ ।

– प्रतिनिधिसभा र प्रदेशसभामा एमालेसहितको वाम तालमेलको सम्भावना छैन त्यसो भए !

सम्भावना नै छैन भन्न सकिँदैन । कांग्रेससँग बार्गेनिङ गरेर उतै सन्तोष हुनुभयो भने उहाँहरू यता आउँदै आउनुहुन्न । त्यसपछि हामीले पनि वामपन्थी तालमेल भनेर केही अर्थ छैन ।

कांग्रेसले उहाँहरूलाई टेरपुच्छर लगाएन भने एमालेतिर आएर लौ मिलौं भन्ने स्थिति आउनसक्छ ।

– कांग्रेस ९५ सम्म झरेर ७० सीट एमालेबाहेकका दललाई दिएर भए पनि गठबन्धन गर्ने योजनामा छ । त्यसरी कसिलो गठबन्धन भए त तपाईंहरू प्रत्यक्षतर्फ शून्यमा झर्नुहुन्छ होला नि !

जनताले भोट दिए एमाले शून्यमा किन ? एमालेले त जित्छ नि ! पाँच दलीय गठबन्धनले हामीलाई भोट हाल्ने होइन नि ! भोट त जनताले हाल्ने हो ।

– स्थानीय तहमा पनि त जनताले नै हालेको हुन् । जनताले त देखाइदिए एमालेको हैसियत ।

जनताले त देखाइदिए, त्यही भएर सबैभन्दा धेरै मत आएको हो । तिनै जनताले त हाल्ने हुन् प्रतिनिधिसभा र प्रदेशसभामा पनि भोट ।

– अझै हाम्रो बहुमत आउँछ भन्ने दम्भ एमालेमा बाँकी छ ?

दम्भ होइन । यसलाई दम्भको रूपमा नलिनु न ! माधव नेपालजी त चुनाव जित्छु भनेर हिँडिरहनुभएको छ भने नेकपा एमाले त अहिले पनि संसदमा सबैभन्दा ठूलो पार्टी हो । त्यो पार्टीले बहुमत ल्याउँछु भन्नु त स्वाभाविक कुरा हो नि !

– माधव नेपाललाई त गठबन्धनको साथ छ नि तपाईंहरू एक्लै हुनुहुन्छ ?

त्यहाँ विश्वास छैन । उहाँ आफैं भन्नुहुन्छ, कांग्रेसको विश्वास छैन । विश्वास नै नभएको शक्तिको आडमा चुनाव जित्छु भन्ने हिम्मत गरिरहनुभएको छ । प्रचण्डजी पनि चुनाव जित्छु भनेर लागिरहनु भएको छ । एमाले त ठूलो र लोकप्रिय छ ।

– माधव नेपाल त २५/३० जना समानुपातिकबाट ल्याउने रणनीतिमा हुनुहुन्छ !

अनि एमालेको आउँदैन ? एमालेको त प्रत्यक्ष र समानुपातिक दुवैमा राम्रो मत आउँछ । त्यो दुवै जोडेर त बहुमत ल्याउँछौं भनिरहेका छौं हामी ।

– एमाले एक्लै लड्दा प्रत्यक्षमा कति सीट आउँछ ?

सबैभन्दा ठूलो कुरा एमाले एक्लै लड्नुपर्ने अवस्था सृजना हुँदैछ । वामपन्थी गठबन्धन कांग्रेससँगको गठबन्धन तोड्ने अवस्थामा मात्रै सम्भव छ ।

तर, अहिलेको अवस्थामा एमालेसहितको वामपन्थी गठबन्धनको सम्भावना छैन । एमालेले एक्लै बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ । त्यो सम्भावना छ ।

– एक्लै लड्नुपर्ने निश्चित जस्तै छ । त्यही भएर प्रत्यक्षतर्फ कति सीट जित्ने अवस्था छ एमालेको ?

यति नै संख्या भनेर अहिले जोडघटाउ गरेका छैनौं । स्थिति अहिले तरल छ । पाँच दलीय गठबन्धन कसरी जान्छ, त्यसले पनि भर पर्छ । त्यो गठबन्धन रहन्छ कि रहन्न भन्ने अझै फाइनल भएको छैन । त्यसैले यति संख्या भन्ने अवस्था छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर