७० लाखको लगानीमा वीरेन्द्रनगरमा ड्रागन खेती, बेर्ना पनि पाइने – Nepal Press

७० लाखको लगानीमा वीरेन्द्रनगरमा ड्रागन खेती, बेर्ना पनि पाइने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ड्रागन खेती सुरु भएको छ । वडा नं. १२ नेवारेमा मालिक कृषि तथा ड्रागन फ्रुट फर्मले ७० लाखको लगानीमा उक्त खेती गरेको हो । एक वर्ष अघिदेखि सुरु गरिएको फर्मले ड्रागन फ्रुटको उत्पादन प्रारम्भ गरेको हो ।

सञ्चालक पदमा रावत बुढाका अनुसार अहिले उत्पादन भएको ड्रागन फ्रुट बगैँचाबाटै विक्री भइरहेको जानकारी दिइन् । सुरुवातीमा उत्पादन भएको ड्रागन विक्रीका लागि बजार खोजिराख्नु नपरेको उनको भनाई छ ।

बुढाका श्रीमान् वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेका हुन् । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छन् । करिब ७० लाखको लगानीमा भाडाको २८ कट्ठा जमिनमा फर्मले ड्रागन फ्रुटको खेती गरेको हो ।

‘भारतको गुजरातबाट ल्याएर लगाइएको बेर्नाबाट व्यावसायिक उत्पादन सुरु गरेका छौँ ।’ उनी भन्छिन्, ‘एक सिजनमा प्रति बिरुवा पाँच केजीको दरले वर्षमा ५२ हजार केजी उत्पादन हुने अपेक्षा लिएका छौँ ।’

ड्रागन फ्रुटको प्रति केजी मूल्य अहिले आठ सय रुपैयाँ छ । फर्ममा हाल दुई हजार ६ सय ड्रागन फ्रुट लगाइएको छ । ड्रागन फ्रुट बिक्रीसँगै बिरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ ।

एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर