ङातापोल मन्दिर निर्माण भएको ३२० वर्ष पूरा, गरियाे झण्डोत्तोलनसहितको वर्षबन्धन पूजा – Nepal Press

ङातापोल मन्दिर निर्माण भएको ३२० वर्ष पूरा, गरियाे झण्डोत्तोलनसहितको वर्षबन्धन पूजा

काठमाडौं । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचछाने) मन्दिर निर्माण भएको आज ३२० वर्ष पूरा भएको छ । मन्दिर निर्माण पूरा भएको दिनको सम्मानमा बिहीबार ३२०औं वर्षबन्धन पूजा गरिएको छ ।

तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल मन्दिर नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ । उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरिएकोसमेत उल्लेख छ ।

सोही इतिहासलाई आधार मानेर प्रत्येक वर्षको असार शुक्ल प्रतिपदाको दिन छाग (बोका) तथा हाँसको बलि दिएर वर्षबन्धन पूजा गरिँदै आएको छ । बिहीबार कोरोनापछि पहिलोपटक बलिसहित वर्षबन्धन पूजा गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो दुई वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण बलिविनै मन्दिरको वर्षबन्धन पूजा गरिएको थियो ।

मन्दिरमा वर्षबन्धन पूजा र दशैंबाहेक अन्य दिन बलि पूजा हुँदैन । भैरवमाथि सवार सिद्धिलक्ष्मीको पूर्णकदको मूर्ति रहेको मन्दिर भक्तपुर तलेजुअन्तर्गत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानले व्यहोर्दै आएको छ ।

मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले वर्षबन्धन पूजा र दसैंको महानवमीमा मात्रै ङातापोलमा बलिसहितको पूजा हुने बताए ।

मन्दिरको सरसफाइ र नियमित मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्सेनि वर्षबन्धन पूजाको परम्परा बसाएको भक्तपुर तलेजुका मूल नाइके जोशी बताउँछन् । वर्षवन्धन पूजा गरिएको प्रतीकस्वरुप मन्दिरको गजूरमा झण्डोत्तोलन गर्ने प्रचलन छ । सोहीअनुसार बिहीबार पनि भक्तपुर नगरपालिका ६ तुछिमलाका अवालहरुले मन्दिरको गजूरमा झण्डोत्तोलन गरेका छन् ।

भक्तपुर तलेजुका राजोपाध्याय, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्षबन्धन पूजा गरिन्छ । विधि विधानसहित सिद्धिलक्ष्मीको पूजा गरिएसँगै भक्तपुर नपा ६ तुछिमला निवासी अवालहरुले मन्दिरको गजूरमा झण्डोत्तोलन गर्ने गर्छन् ।

स्थानीय तुछिमला टोलसुधार समितिका पदाधिकारीहरुले सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्धचन्द्र अंकित ध्वजा मन्दिरको गजूरमा फहराउँदै आएका छन् ।

पाँच तलामध्ये दुई तलासम्म मन्दिरभित्रबाटै माथि जाने व्यवस्था छ । तर, मन्दिरको गजूरमा पुग्न तेस्रो, चौथो र पाँचौं तलाको छाना भएर जानुपर्छ । यी तीन तलामा मन्दिरको पछाडिपट्टिको छानामा ढक्कनसहितको प्वालको व्यवस्था गरिएको छ ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा सामान्य क्षति पुर्‍याएको थियो । भक्तपुर नपाले दुई वर्षअघि उक्त तलाको जीर्णोद्धारसँगै मन्दिरका सबै तलाको झिंगटी छाना सुधार गरेको थियो । १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामात्रै भत्किएको थियो । जबकि उक्त मन्दिर सामुन्ने रहेको तीन छाने भैरवनाथको मन्दिर पाताल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *