ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत – Nepal Press

ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

रुपन्देही । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो, गुल्मी । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ पालिकामा बहुमत जित निकालेको एमाले अहिले तीन पालिकामा सीमित भयो । अहिले पाँच पालिका जितेर कांग्रेस पहिलो, चार पालिका जितेर माओवादी दोस्रो र तीन पालिका जितेर एमाले तेस्रो भएको छ । यद्यपि उपाध्यक्ष एमालेबाट थप चारवटा पालिकामा जितेको छ ।

एमाले विभाजनपछि नेकपा एस बनेको समयमा पनि यी दुवै नेताहरु एकजुट बनेपछि अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधि कसैले त्यो पार्टी रोजेनन् । तर अहिले पार्टी विभाजनको असर, जिल्लाका १० पालिकामा भएको पाँच दलीय गठबन्धन, पार्टीभित्र टिकट वितरणमा देखिएका केही समस्याका कारण पार्टी यो अवस्थामा पुगेको हो । उसो त केही पालिकामा उम्मेदार दोहोरिएका कारण पनि पार्टीभित्रै असन्तुष्टि चुलिएको थियो ।

एमालेबाट मुसिकोट नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भए । छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवालीले जित निकाले । सत्यवती गाउँपालिकाको अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामुले जिते । तर अघिल्लोपटक सजिलोगरी जितेका पालिका यसपटक गुमाएको छ ।

एमालेका लागि यो नजिता आगामी प्रदेश तथा संघीय निर्वाचनका लागि पनि चुनौती हो । यहाँ कालीगण्डकी, रुरु र मदानेमा थोरै मतले अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्षमा जितेको छ । धुर्कोटमा माओवादीसँगको गठबन्धनमा उपाध्यक्ष जितेको छ । स्थानीय कार्यकर्ताले नेताहरुको आन्तरिक किचलोकै कारण यहाँ एमालेले जित्न नसकेको सामाजिक सन्जालमा लेखिरहेका छन् ।

यसअघि एमालेले जितेका रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा गठबन्धनको बलमा कांग्रेसले जित्यो । रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जीत निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् । गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जीत निकाले ।

गठबन्धनको फाइदा लियो माओवादीले

सत्ताका लागि जोसँग पनि गठबन्धन गर्ने रणनीति माओवादीले गुल्मीमा पनि प्रयोग गरेको छ । १० पालिकामा सत्तारुढ दलसँग गठबन्धन गरेको माओवादी २ पालिकामा एमालेसँग गठबन्धन गरेर फाइदा लिएको छ । धुर्कोट र कालीगण्डाकीमा सत्तारुढ दलको गठबन्धन रणनीतिविरुद्ध उसले एमालेसँग गठबन्धन गरेको हो । उनीहरुको सहमतिमा ५ दलभन्दा बाहिर कुनै दलसँग गठबन्धन गर्न नपाइने औपचारिक नीति बनेको थियो । तर त्यो नीति गुल्मीमा पालना भएन माओवादीबाट र फाइदा लियो ।

२०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक ४ पालिकामा जित निकालेको छ । धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जित निकालेको छ ।

एमालेको प्रभाव क्षेत्र मानिएको रूरूक्षेत्र गाउँपालिका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । यहाँ माओवादीले जित्यो । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेका हिमाल श्रेष्ठलाई पराजित गरे ।

सचिव गोकर्ण विष्टले ३ दशकदेखि शर्चश्व कायम राखेको ईस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा केसीलाई १२५ मतान्तरले पराजित गरेका छन् । कांग्रेस नेता डा. चन्द्र भण्डारीको गृह पालिका छत्रकोटमा एमालेका रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी भए ।

उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवाली विजयी भइन् । शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपाध्यक्ष, उपप्रमुख पाएको थियो तर धुर्कोटको उपाध्यक्षमा चन्द्र सुनार २ हजार ५०० बढी र मुसिकोटको उपप्रमुखमा श्रीराम महत पराजित भएका छन् ।
उम्मेदवार दोेहोरिँदा समस्या

मालिका गाउँपालिकामा अघिल्लोपटक जितेका रितबहादुर थापा यसपटक पराजित भए । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले ६ हजार १७६ मतका साथ विजयी हुँदा थापा ४ हजार ६१७ मतमा सीमित भए ।

उपाध्यक्षमा रनमाया पुनलाई पराजित गरी नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मतका साथ विजयी भए । ईस्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेले विमला खत्रीलाई दोहोर्याएर उम्मेदवार बनायो । एमाले सचिव गोकर्ण विष्टको गृह गाउँपालिकामा एमालेले भोगेको यो पराजयले आउने चुनावमा निश्चय नै क्षति पुर्याउने छ ।

निवर्तमान उपाध्यक्ष विमलालाई पराजित गर्दै उपाध्यक्षमा कांग्रेसकी पार्वती कुँवर विजयी भइन् । अध्यक्षमा पनि कांग्रेसकै भगतसिंह खड्का ५ हजार ५८९ मतका साथ विजयी भए । एमालेले आफ्नो किल्ला बताउँदै आएको ईस्मा अहिले गठबन्धनको बलमा कांग्रेसले भत्कायो ।

गुल्मीकै सत्यवती गाउँपालिकामा कांग्रेसका निवर्तमान अध्यक्ष पारिश्वर ढकाल पराजित भए । ढकाललाई हराउँदै यसपटक एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) ले ६ हजार २६७ मतका साथ विजयी भए । दोहोरिएर उम्मेदवार बनेका ढकालले ५ हजार ६११ मत मात्र ल्याउन सके ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएर राधिका अर्याल एमालेबाट उम्मेदवार थिइन् । तर, यसपटक अर्यालले जीत निकाल्न सकिनन् । उनी कांग्रेसका विष्णुप्रसाद भण्डारीसँग पराजित भइन् । भण्डारी ५ हजार १६ मतका साथ विजयी हुँदा अर्यालले ३ हजार ३४७ मत मात्र ल्याइन् ।

गुल्मीकै कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी तारा थापालाई पराजित गर्दै एमालेकी मन्जुकुमारी दर्लामीले बाजी मारिन् । थापालाई दर्लामीले १०० मतान्तरले हराइन् । थापाले ४ हजार ३८४ ल्याउँदा दर्लामीले ४ हजार ४८४ मत ल्याइन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा ४ हजार ८१० मतका साथ दोहोरिएन निर्वाचित भए ।

झाँक्रीको गृहजिल्लामा नेकपा एस नौ वडा सदस्यमा सीमित

नेकपा एसकी केन्द्रीय सचिव एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा उक्त पार्टीका नौजना वडा सदस्यमा सीमित भएका छन् । जिल्लाका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन बनाएर समाजवादीका सदस्यले निर्वाचनमा जित हासिल गरेका हुन् । जसअनुसार मदाने र मुसिकोटमा तीन–तीन, मालिकामा दुई र ईस्मा गाउँपालिकामा एकजना वडा सदस्यमात्रै विजयी भए ।

मदानेमा ‘रुख’ चिन्ह लिएर वडानम्बर १ मा खिम बहादुर केसी, वडा नम्बर २ मा महेन्द्र जिसी र वडा नम्बर ३ मा सुन्तला विक वडा सदस्यमा विजयी भए । मालिकामा ‘हँसिया हथौडा’ चिन्ह लिएर वडा नम्बर २ मा तातीदेवी विक, वडा नम्बर ८ मा ‘रुख’ चिन्ह लिएर सागर गिरी निर्वाचित भएका छन् ।

त्यस्तै ‘रुख’ चिन्हबाट इस्मा– ६ मा गोपाल सुनार, मुसिकोट – २ मा राधिका घिमिरे र रामबहादुर महत एवम् मुसिकोट –३ मा सावित्रा भण्डारी निर्वाचित भएको अध्यक्ष भण्डारीले जानकारी दिए । पार्टीले मुसिकोट र धुर्कोटमा उपमेयर, उपाध्यक्ष उठाए पनि सफलता पाएनन् । जिल्लाभरि समाजवादीका २० जना उम्मेदवार थिए ।

गुल्मीमा कांग्रेसले पाँच, माओवादी केन्द्रले चार एवम् एमालेले तीन पालिकामा प्रमुख जितेका छन् । ०७४ को निर्वाचनमा एमालेले सात, कांग्रेसले चार एवम् माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेका थिए ।

गुल्मीमा कसले कति मत ल्याएर जिते ?

रेसुङ्गा नगरपालिकाः खिलध्वज पन्थी (८६१४) नेपाली कांग्रेस
मुसिकोट नगरपालिकाः जीवलाल खरेल जीवन (७३९९) नेकपा एमाले
ईस्मा गाउँपालिकाः भगतसिंह खड्का (५५८९) नेपाली कांग्रेस
काली गण्डकी गाउँपालिकाः बेदबहादुर थापा (४८१०) नेपाली कांग्रेस
गुल्मी दरबार गाउँपालिकाः सरोजकुमार थापा (६१६६) नेपाली कांग्रेस
चन्द्रकोट गाउँपालिकाः युवराज खत्री (५७००) नेकपा माओवादी केन्द्र
छत्रकोट गाउँपालिकाः रामप्रसाद पाण्डे (६५८६) नेकपा एमाले
धुर्कोट गाउँपालिकाः भूपाल पोखरेल (६०८९) नेकपा माओवादी केन्द्र
मदाने गाउँपालिकाः महेन्द्रबहादुर कुँवर (४७०७) नेपाली कांग्रेस
मालिका गाउँपालिकाः देवीराम अर्याल (६१७६) नेकपा माओवादी केन्द्र
रुरुक्षेत्र गाउँपालिकाः यदु ज्ञवाली (५८१७) नेकपा माओवादी केन्द्र
सत्यवती गाउँपालिकाः टीकाराम पाण्डे, (६२६७) नेकपा एमाले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर