भरतपुरमा गठबन्धनको सभा : आह्वानबिनाको धम्की मात्रै ! – Nepal Press

भरतपुरमा गठबन्धनको सभा : आह्वानबिनाको धम्की मात्रै !

भरतपुर । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको ‘इपिसेन्टर’ बनेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले बिहीबार संयुक्त चुनावी सभा गर्‍यो ।

रातभरको झरीले ‘ताल’ बनेको भरतपुरको केन्द्रीय बसपार्क चौरमा हतारहतार पानी झिकेर, माटो भरेर तयार पारिएको कार्यक्रमस्थलमा गठबन्धनले सोचेजति उपस्थिति देखिएन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गठबन्धनका संयोजक रामचन्द्र पौडेल लगायतका नेताले चुनावी सभालाई सम्बोधन गरे ।

सामान्यतया चुनावी सभामा कार्यकर्ताभन्दा जनतासँग बढी अपिल गर्ने गरिन्छ । तर, भरतपुरमा त्यस्तो देखिएन । गठबन्धनका नेताहरूले भरतपुरका जनतालाई कुनै आह्वान गरेनन् । चुनावीसभाको मञ्चबाट गठबन्धन दलमै रहेका असन्तुष्टि सम्बोधनको प्रयत्नमा देउवा, प्रचण्ड, नेपाल र पौडेल व्यस्त रहे ।

सभामा कांग्रेस सभापति देउवाले गठबन्धनविरुद्ध नजान आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिए । गठबन्धन र चुनावी तालमेल गर्ने आफ्नो निर्णयलाई पुष्टी गर्न पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रसंग झिके । गत पुसमा कांग्रेसको १४ औं महाधिवेशनमा ५९ प्रतिशत मत ल्याएर देउवा सभापतिमा निर्वाचित भएका थिए । भरतपुरको सभामा भने आफू र आफ्नो नीति ८२ प्रतिशतले अनुमोदन भएको दाबी देउवाले गरे । जबकी कांग्रेस महाधिवेशनको बन्दसत्रमा कुनै नीतिगत बहस वा राजनीतिक प्रस्तुति गरिएकै थिएन ।

‘पार्टी भनेकै जनताको हो । कांग्रेस पार्टीको चुनावमा ८२ प्रतिशतले मलाई जिताए । त्यो भनेकै गठबन्धन गर्नु ठीक छ भनेको हो नि । गठबन्धन नचाहेको भए त मलाई हराइहाल्थे नि’, देउवाले भने । उनले उम्मेदवार रेनु दाहालको नाममा ‘बखेडा नगर्न’ आफ्नै पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

‘रेनु दाहाललाई जिताउनु हाम्रो कर्तव्य हो । उहाँको नाममा बखेडा नगर्नुहोला’, देउवाले भने । देउवाले आफ्नो मन्तव्यमा गठबन्धनको औचित्य र स्थानीय निर्वाचनमा गठबन्धनका एजेण्डाबारे खासै बोलेनन् । जनतालाई आह्वान गरेनन् । एकोहोरो गठबन्धन र तालमेलप्रति असन्तुष्ट कार्यकर्तालाई धम्क्याइरहे । ‘रेनुलाई जिताउनुपर्छ । गठबन्धन टुट्न दिनुहुन्न । गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’, देउवाले भने ।

अर्का वक्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो मन्तव्यमा अधिकांश समय कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरूलाई घुर्क्याउनमै खर्च गरे । पूर्ववक्ता कांग्रेस नेताहरूले ‘स्थानीय निर्वाचनपछि विगतमा जस्तै धोका दिने त होइन ?’ भनी सोधेको प्रश्नमा प्रचण्ड प्रसन्न देखिएनन् ।

कांग्रेस कार्यकर्ताले हँसिया हथौडामा भोट दिन नमाने देशै दुर्घटनामा पर्ने चेतावनी प्रचण्डले दिए । आफूले सबैको साथ पाए १५ वर्ष गठबन्धन जोगाएर लैजान उत्साही हुने तर ‘टेन्सन’ दिए जेपनि हुनसक्ने आशयको प्रचण्डवाणी ‘कांग्रेस कार्यकर्ता’ माथिकै प्रहार थियो ।

वक्ताका रूपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस कार्यकर्तालाई धम्की नै त दिएनन् तर अधिकांश समय एमाले र केपी ओलीको आलोचनामै खर्चिए । ‘एमाले कुहिएको फर्सी हो, छोएपनि रोग लाग्छ’, नेपालको भनाइ थियो । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको भाषणमा पनि गठबन्धनले जनतालाई गर्ने कुनै आह्वान भेटिएन ।

गठबन्धनको संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समय गठबन्धनको औचित्य पुष्टी गर्नमै खर्चिए । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेताहरूलाई ‘धैर्यहीन, इमोस्नल र भावावेशमा चलेको’ आरोप लगाए । गठबन्धनको सैद्धान्तिक व्याख्या गर्दै पौडेलले वीपीले भनेको प्रजातान्त्रिक समाजवाद पूरा गर्नेदेखि बहुलवादमा आधारित बहुदलीय व्यवस्थाको रक्षापनि गठबन्धनबाटै हुने बताए । गठबन्धनले कांग्रेसलाई अवसर दिएको भन्दै उनले पनि असन्तुष्ट कांग्रेस कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गरे ।

‘गठबन्धन नभएको भए गैडाकोटको कृष्ण नेपाली कसरी मुख्यमन्त्री हुन्थे ? यही चितवनको जिउँदो शहिद बलराम पौडेल कसरी मन्त्री भएर झण्डा हल्लाएर हिँड्थे ?’, चुनावी सभाबाट कांग्रेस कार्यकर्तालाई पौडेलको प्रश्न थियो ।

कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिका कारण परिणाममा असर नपुगोस् भनेर गठबन्धनले सचेतता पूर्वक भरपुरमा चुनावी सभा राखेको थियो । चुनावी सभामा चौर खाली देखिएपछि स्थानीय नेताहरूले ‘सभामा मान्छे थोरै भएपनि चुनाव जिताउने’ वाचा गर्नुपरेको थियो । चुनावी सभामार्फत उम्मेदवार, पार्टी र गठबन्धनले गर्नुपर्ने राजनीतिक र विकासको खाका भरतपुरको मञ्चबाट प्रस्तुत हुन सकेन ।

तुलनात्मकरूपमा मेयरकी प्रत्याशी रेनु दाहालले आफूले विगतमा गरेका काम र भावी योजनाबारे सभामा स्पष्ट धारणा राखिन् । समग्रतामा सत्ता गठबन्धनको भरतपुर सभा ‘गठबन्धन टुट्ने वा चुनाव हार्ने भयबाट ग्रस्त र असन्तुष्ट कांग्रेसजनलाई घुर्क्याउने अस्त्र’ मात्रै बन्न पुग्यो ।


प्रतिक्रिया

2 thoughts on “भरतपुरमा गठबन्धनको सभा : आह्वानबिनाको धम्की मात्रै !

  1. सटिक अनि सान्दार विश्लेषण। यो हो नि न्युज भनेको त।

  2. याे लुटेराहरूकाे ग्याङ् हाे, देश लुटने लुटेराहरू । ओलि र एमालेले जितेमा लुटन नपाईएला भन्ने ठूलाे चिन्ता छ यिनलाई ।यिनका प्रिय भनेका बिचाैलिया, भ्रष्टाचारी, तस्कर, बलत्कारी, हत्यारा , अनैतिक हुन् । बैशाख ३० गते यिनलाई नामाे निशा मेटिने गरि पछार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर