आचारसंहिता उल्लंघनले चर्चा पाएको तिलोत्तमा – Nepal Press

आचारसंहिता उल्लंघनले चर्चा पाएको तिलोत्तमा

रुपन्देही । आचारसंहिता तोडेको विषयले चर्चा पाएको पालिका हो रुपन्देहीको तिलोत्तमा नगरपालिका । गृहमन्त्री, नयाँ मेयरका उम्मेदवार, बहालवाला मेयर सबैले आचारसंहिता उल्लंघन गरेर यो नगरपालिका चर्चामा आएको छ ।

गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृह नगर भएकाले पनि यहाँ कसले के गरे बढी नै चासो रहेकाले हुनसक्छ । निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि गृहमन्त्री आफै गृह जिल्ला आएर पार्टीका विभिन्न कार्यक्रममा पुगे । यसको चौतर्फी आलोचना भयो । निर्वाचन आयोगमा यो विषयमा उजुरी पर्‍यो ।

उनका भाइ, कांग्रेस जिल्ला सभापति तथा अहिले तिलोत्तमाका मेयरका उम्मेदवार रामकृष्ण खाँणले आफ्नो मनोनयन दर्ता गर्ने दिनमा बालबालिकालाई लाइन लगाएर नारा जुलुससहित निर्वाचन कार्यालयमा गएपछि उनको पनि व्यापक आलोचना भयो ।

उनले यो विषयमा आफ्नो प्रतिक्रिया दिँदै भने– कसले कहाँबाट ती बालबालिका ल्याउनुभयो पत्तै भएन, ल्याउने पनि राम्रोको लागि नै ल्याउनुभएको हो जानकारी नभएर । आचारसंहितामा त्यसरी बालबालिका प्रयोग हुनुहुँदैन भन्ने थाहा थियो, गल्ती भयो अब दोहोरिँदैन, हामी प्रतिबद्ध छौँ अरूले पनि पूर्ण पालना गर्नुपर्‍यो ।

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे पदमै रहेका बेला एमालेका औपचारिक कार्यक्रममा मेयर मोहन चापागाईँलाई जिताउन हिँडेका छन् । उनी निर्वाचन परिचालन कमिटीको संयोजक नै बनेर औपचारिक कार्यक्रममा हिँडिरहेका छन् ।

‘पार्टीको उम्मेदवार बनेर मेयर बनेको हुँ, अहिले पनि पार्टीले खटाएर यो जिम्मेवारी लिएको हुँ, आचारसंहिता सबैले पालना गर्नुपर्छ । कसैलाई छुट हुने कसैलाई नहुने राम्रो होइन, अरूले गरेको चर्चा नहुने मेरो मात्रै चर्चा बढी भएकोमा दुःखी छु,’ घिमिरेले भने । उनको यो विषयमा आयोगमा निवेदन परेको छ ।

गृहमन्त्री, नयाँ मेयरका उम्मेदवार, बहालवाला मेयर सबैले आचारसंहिता उल्लंघन गरेको यो नगरपालिकाका वडाध्यक्ष पनि अहिले धमाधम पार्टीको झण्डा बोकेर चुनावी मैदानमा छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । वडाध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । ‘वडाध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरूमा सहभागी हुँदै आएको छु’, उनले भने ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका आयुक्त अयोध्या भण्डारीले जन निर्वाचित कुनै व्यक्ति कुनै दल वा उम्मेदवारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरीत हुने बताए ।

‘जनप्रतिनिधि कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइँदैन, त्यो आचारसंहिता विपरीत हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर