पालिकादेखि केन्द्रसम्म एमालेका सरकारले के गरे ? घोषणापत्रमा समेटिए उपलब्धि – Nepal Press

पालिकादेखि केन्द्रसम्म एमालेका सरकारले के गरे ? घोषणापत्रमा समेटिए उपलब्धि

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा देशभरका कुल ३३ हजार एक सय ७४ जनप्रतिनिधिका लागि भएको निर्वाचनमा नेकपा एमाले एक्लैले ४२ दशमलव ५ प्रतिशत पद जितेको थियो । अर्थात् १४ हजार एक सय पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

यद्यपि यसमा गाउँ कार्यपालिका र नगर कार्यपालिका तथा जिल्ला समन्वय समितिका पदाधिकारीको संख्या जोडिएको छैन । त्यो आँकडा जोड्दा एमालेको स्थान अझै माथि हुन्छ ।

७ सय ५३ पालिकाका प्रमुख तथा अध्यक्ष पदमा मात्रै २ सय ९४ पद एमालेकै उम्मेदवारहरूले जितेका थिए । जसको दर केही कम अर्थात् ३९ प्रतिशत हुन आउँछ ।

२०७४ मा एमालेको जितको सिलसिला यही रोकिएन । मंसिरमा सम्पन्न भएको ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि एमालेका उम्मेदवारहरूले उल्लेख्य सिटमा जित हासिल गरे । यद्यपि यसको सहायक कारण माओवादी केन्द्रसँगको गठबन्धन पनि थियो ।

२०७४ मै भएको राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेको जब्बर हैसियत कायम भयो ।

यसरी धमाधम सम्पन्न निर्वाचनहरू जितेर देशको पहिलो दल भएको एमालेले त्यसपछि देशका ७ प्रदेशमध्ये ४ मा आफ्नै नेतृत्वमा सरकार बनायो । थप दुई प्रदेशको सरकारमा बलियो हिस्सेदारीसहित सहभागी भयो ।

संघमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनायो । ओलीले प्रधानमन्त्रीका रूपमा तीन वर्ष सरकार चलाए ।

यसरी स्थानीय तह, प्रदेश र संघमा एकछत्र राज गरेको एमाले यसै वर्ष फेरि आवधिक निर्वाचनमा जाँदै छ । यसको पहिलो खुट्किलोको रूपमा वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनमा जाँदै गर्दा एमालेको सरकार सञ्चालन गर्नेक्रममा गरेका कामकारबाहीको विषयमा गुण र दोषको चर्चा/परिचर्चा भइरहेको छ ।

यस्तोमा एमाले आफ्नैको धारणा के छ त ? धेरैको जिज्ञासाको विषय । यि जिज्ञासाको जवाफ एमालेले घोषणापत्रमार्फत खोजेको छ । आफूले गरेका कामको उपलब्धि जनतासमक्ष लैजाने एमालेले स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणापत्रको नै माध्यम प्रयोग गरेको छ ।

शुक्रवार जारी घोषणापत्रमा एमालेले आफ्नो सरकार सञ्चालनका क्रममा गरेका कामकारबाहीहरूको विवरण उल्लेख गरेको छ । त्यसका लागि घोषणापत्रको पेज नम्बर १४ देखि २० सम्मको प्रयोग गरिएको छ ।

त्यसमा भौतिक पूर्वाधार तर्फ स्थानीय स्तरमा ४ हजार ३ सय ६२ कि.मि. कालोपत्रे सडक निर्माण भएको र जुन पाँँच वर्षअघिको पक्की सडक सञ्जालभन्दा दोब्बर भन्दा बढी रहेको एमालेको दाबी छ ।

यस्तै यसै अवधिमा ७ सय २५ स्थानीय तहमा सडक जोडिएको, पुष्पलाल लोक मार्ग, काठमाडौं–तराई द्रुत मार्ग र पूर्व–पश्चिम राजमार्ग निर्माण र

विस्तार रफ्तार आएको पनि एमालेको दाबी छ ।

यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको लगायतका विमानस्थलको कामलाई पनि एमालेले आफ्नै पछिल्लो कार्यकालमा सम्पन्न भएको दाबी गरेको छ । यस्तै देशैभर तुइन विस्थापन गर्दै २ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको पनि दाबी छ ।

यस्तै घोषणापत्रमा चीनसँग नयाँ नाकाहरू खोल्ने काम, उत्तरी सीमा जोडिएका जिल्लामा एकीकृत विकास, लार्चा र टिमुरेमा बहुउद्देश्यीय एकीकृत भन्सार संरचना र सुख्खा बन्दरगाह निर्माण, वीरगन्ज र विराटनगरमा एकीकृत जाँच चौकी निर्माण र सञ्चालन गरिएको उल्लेख छ ।

यस्तै अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइप लाइन निर्माण, चोभारमा सुख्खा बन्दरगाह निर्माण, जयनगर–जनकपुर– कुर्ता रेलमार्ग निर्माण र सञ्चालन , पूर्व–पश्चिम रेलमार्ग निर्माण आरम्भ, डोल्पा र हुम्लासम्म राष्ट्रिय सडक सञ्जाल विस्तार गरेर देशका सबै जिल्लामा सडक पहुँच विस्तार गरेको कुरा पनि घोषणापत्रमा दाबी गरिएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गुणात्मक प्रगति, प्रत्येक पालिकामा न्यूनतम पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण, प्रत्येक प्रदेशमा विशेषज्ञ सेवासहितको प्रादेशिक अस्पताल र सरुवा रोग अस्पताल, वीर अस्पताल लगायत केन्द्रीय अस्पतालहरूको पूर्वाधारसहितको क्षमता विस्तार, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज निर्माणको कार्यारम्भ गरिएको भनी एमालेले दाबी गरेको छ ।

यस्तै एमालेकै कार्यकालमा नेपालीको औसत आयु तीन वर्षको अवधिमा दुई वर्षले लम्बिएर ७१ वर्ष पुगेको, बाल तथा मातृ मृत्युदर घटेको पनि दाबी गरिएको छ ।

शिक्षातर्फ विद्यालय भर्ना, टिकाउ दर, साक्षरता दरमा उल्लेखनीय वृद्धि भएको, ९ हजार ५ सय विद्यालय भवन पुनर्निर्माण, मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयको स्थापना, प्राविधिक शिक्षाको विस्तारमा उदाहरणीय काम भएको दाबी गरिएको छ ।

यस्तै मेलम्चीको पानी काठमाडौंमा अवतरण र वितरण भएको, देशैभर एक घर एक धाराको अभियान सञ्चालन भएको, हालसम्म ९१ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच भएको, नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको लगायतका विषय पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै सामाजिक न्याय र सुरक्षामा उल्लेखनीय उपलब्धि, भएको, सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ, भूमिहीन र घरबारविहीनहरूलाई संविधान प्रदत्त आवासको हक उपलब्ध गराउन भूमि आयोग गठन र आवासका लागि जग्गा उपलब्ध गराउने कामको सुरुवात, खर या फुसको छाना विस्थापन एमाले सरकारकै पालामा सम्भव भएको घोषणापत्रमा उल्लेख छ ।

एमालेकै कार्यकालमा हजारौँ संख्यामा सरकारी कार्यालय, स्वास्थ्य संस्था र सम्पदाहरूको पुनर्निर्माण भएको पनि भनिएको छ ।

यसै गरी देशैभर रोजगारी सिर्जना, पालिकाहरूमा रोजगार सूचना केन्द्र स्थापना र बेरोजगारहरूको तथ्याङ्क सङ्कलनको काम भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत न्यूनतम १०० दिनको रोजगारी वा बेरोजगार भत्ताको सुरुवात गरिएको पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै ऊर्जा, सिचाइ र कृषि क्षेत्रमा भेरी– बबई डाइभर्सन, सुनकोसी मरिन डाइभर्सन जस्ता तराई– मधेसका रूपान्तरणकारी योजनाहरू आरम्भ, सिक्टा र रानी जमरा योजनाबाट सिचाई सुरु, राष्ट्रिय गौरवको तामाकोसी जलविद्युत आयोजना सम्पन्न, विद्युत् उत्पादन क्षमता एक हजार ४५ मेगावाटबाट दोब्बर वृद्धि भई २ हजार एक सय ७४ मेगावाट एमालेकै कार्यकालमा पुगेको दाबी गरिएको छ ।

एमाले कार्यकालमा सूचना प्रविधि र सेवा प्रवाहमा अभूतपूर्व विस्तार,

सञ्चार पूर्वाधार संरचनाको विस्तारका कारण इन्टरनेटको प्रयोगकर्ता संख्या दोब्बर भई ८५ प्रतिशत पुगेको विषय पनि समेटिएको छ ।

यस्तै एमालेकै जनप्रतिनिधिको पहलमा आफ्नो विशेषता र आवश्यकता अनुसार एउटा वडाबाट अर्को वडा जोड्ने सडक, पुल, चक्रपथ, घोडेटो र पदमार्ग निर्माण गरेको, पालिकामा हेलिप्याड निर्माण भएको, दलित, बादी समुदाय र अन्य बेघरबारलाई आवास निर्माण, ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको पनि दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर