तिलोत्तमामा गठबन्धनभित्र खटपट, कांग्रेसले एकतर्फी उम्मेदवार घोषणा गरेपछि अरु दलमा खैलाबैला – Nepal Press

तिलोत्तमामा गठबन्धनभित्र खटपट, कांग्रेसले एकतर्फी उम्मेदवार घोषणा गरेपछि अरु दलमा खैलाबैला

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्तारुढ दलका नेताहरुले गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेलगत्तै नेपाली कांग्रेसका उम्मेदारहरुको नाम सार्वजनिक गरेपछि गठबन्धनमा सहभागी दलबीच खटपट सुरु भएको छ ।

सत्तारुढ पाँच दलका स्थानीय नेताहरु बीच स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेको एक घण्टा नबित्दै नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

तिलोत्तमा नगरपालिकामा क्रियाशील सत्तारुढ गठबन्धनका नेताहरुले सोमबार बैठक बसेर सहकार्य गरेर जाने निर्णय गरेका थिए । तर सहमति गरेको एक घण्टा नबित्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले सामाजिक सन्जालमा तिलोत्तमा नगरपालिकाका वडाअध्यक्षका उम्मेदवारहरुको नाम धमाधम सार्वजनिक गरेपछि अन्य दलमा खैलाबैला मच्चिएको छ ।

नेपाली कांग्रेसले तिलोत्तमाका १७ वडामध्ये ११ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन भएको भन्दै धमाधम बधाईसहित नाम सार्वजनिक गरेका छन् । जसअनुसार वडा नम्बर ४ मा गोविन्द भुसाल, ५ मा रमेश डुम्रे, ६ मा गणेश पाठक, ७ मा दिलमणि पंगेनी, ८ मा केशव राज अर्याल, ९ मा ध्रुव न्यौपाने, १० मा मनबहादुर गुरुङ, ११ मा तेज बहादुर कुवर, १३ मा नारायण ढकाल,१६मा झबि भुसाल र १७ मा दानबहादुर चौधरीको नाम घोषणा गरेको छ ।

यसरी कांग्रेसले उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि ती वडामा रहेका अन्य दलबाट वडाअध्यक्षका आकांक्षीहरु असन्तुष्ट देखिएका हुन् । उनीहरुले पार्टीको नेतृत्वसंग सहमति गर्दागर्दै कांग्रेसले उम्मेदवार सार्वजनिक गरेपछि आफूहरुले नपाउने स्थिति बनेको भन्दै पार्टी नेतृत्वसंग असन्तुष्टि जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माले पाँच दलीय गठबन्धन गरेर जाने सहमति गरेपछि कांग्रेसले नाम सार्वजनिक गर्नु सहकार्य र सहमतिको भावनाविपरीत भएको बताए ।

‘कांग्रेसका नेताहरुले सहमति गरेपछि नाम सार्वजनिक गर्न हँुदैनथ्यो तर सार्वजनिक गर्नुभयो । वडा बांँडफाँट भएपछि मात्रै उम्मेदवार सार्वजनिक गरेको भए हुन्थ्यो, सर्वसम्मत भनेर सार्वजनिक भएपछि फिर्ता हुनलाई समस्या पर्छ ।’, शर्माले भने । विगतमा पनि कांग्रेसले अस्थित्व स्वीकार गर्न नसक्दा सहकार्य गर्ने वातावरण नबनेको उनले स्मरण गरे ।

नेपाली कांग्रेस तिलोत्तमा नगरसभापति हरिलाल पाण्डेले पार्टी केन्द्रले चैत ३० गतेभित्र पार्टीका उम्मेदवारहरुको नाम सिफारिस गर्नु भनेकोले सर्वसम्मत भएका वडाहरुको नाम सार्वजनिक गरिएको र अन्य वडामा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको बताए । ‘केन्द्रले भनेअनुसार निर्णय गरेका हौं, सहमति भयो भने फिर्ता हुनुपर्छ भनेका छौं’, पाण्डेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर