चुनावमा भाग लिने विप्लवको प्रस्ताव क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी – Nepal Press

चुनावमा भाग लिने विप्लवको प्रस्ताव क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी

काठमाडौंं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले धारणा राखेका छन् ।

शुक्रबार बाँडिएको प्रस्तावमा चुनावमा सहभागी हुने भनिएको थियो । उक्त प्रस्ताव अध्ययनको लागि भन्दै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो ।

प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको आरोप लगाउँदै फिर्ता लिन सुझाव दिएका छन् ।

आजको बैठकमा विप्लवले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने भनिएको थियो । तर, बहुसंख्या केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि सचिवालय सदस्यहरुकै धारणा आउनुपर्ने माग राखेका थिए ।

सो मागअनुसार आज सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले महासचिवको प्रस्ताव क्रान्ति विरोधी भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार नेता बास्तोलाले महासचिव विप्लवको प्रस्तावमाथि धारणा राख्दै भने, “महासचिव कमरेडको चुनावमा सहभागी हुनेगरी आएको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुस् ।” उनले चुनावमा सहभागी हुन सोँच क्रान्ति विरोधी भएको समेत बताए ।

त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिस्कारको कार्यक्रम बनाउनुपर्ने बताए ।

‘चुनावमा जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिस्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु ।’ ओलीले भने ।

अर्का सचिवलाय सदस्य बुढाले भने आज भनाई फेरेका छन् । सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखे ।

अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा र महासचिव विप्लवले बोल्ने बाँकी छ ।आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए । सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “चुनावमा भाग लिने विप्लवको प्रस्ताव क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर