माओवादी नेताहरूको जुँगाको लडाइँले लुम्बिनीमा प्रदेशदेखि स्थानीय कमिटी नेतृत्वविहीन – Nepal Press

माओवादी नेताहरूको जुँगाको लडाइँले लुम्बिनीमा प्रदेशदेखि स्थानीय कमिटी नेतृत्वविहीन

रुपन्देही । पार्टीको अधिवेशन गर्ने, सदस्यहरू छान्ने तर पदाधिकारी नटुंग्याउने माओवादी केन्द्रको रोग प्रदेश तथा स्थानीय कमिटीमा पुगेको छ ।

केही नेताहरूको स्वार्थका कारण लुम्बिनी प्रदेशको पदाधिकारी तथा यहाँका केही पालिकाका कमिटी पदाधिकारीविहीन कमिटी बनेको लामो समय बितिसकेको छ । डेढ महिनाअघि प्रदेश अधिवेशन सकिएको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नेताहरुको टकरावले प्रदेश पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

पदाधिकारीमा आकांक्षी धेरै भएको र प्रदेशबाट केन्द्रीय नेतृत्वमा रहेका नेताहरुले आफूअनुकूलका नेतालाई जसरी पनि नेतृत्वमा समावेश गर्नुपर्ने अडानका कारण मंसिर २५ र २६ मा दाङको भालुवाङमा सम्पन्न सो पार्टीको प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी मात्रै चयन गरेको थियो ।

सो कमिटीले पदाधिकारी राष्ट्रिय महाधिवेशनअघि नै टुंग्याउने भनिए पनि नेतृत्वको विवाद नमिल्दा अझै टुंगिएको छैन । निर्वाचित प्रदेश सदस्यका अनुसार पदाधिकारीको टुंगो, सदस्य र शीर्ष नेताहरूको सल्लाहमा टुंग्याउने सहमति भएपनि केन्द्रको पदाधिकारीमै ढिलाइ भएकाले यताको चासो कम भएको हुनसक्ने बताए ।

राष्ट्रियसभाको निर्वाचनका लागि खटिनुपर्ने बेला पदाधिकारीको टुंगो नलाग्दा निर्वाचन परिचालनमै अलमल भएको ती नेताको दाबी छ । लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणि खनाललगायत नेताहरूबीच पदाधिकारीमा कसलाई राख्ने भन्ने सहमति नहुँदा पदाधिकारीमा अलमल भएको हो ।

अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाममा सहमति भएको उनी आफैंले पत्रकारलाई जानकारी दिए पनि नेता आईपी खरेलले तत्काल यो समाचारमा आपत्ति जनाएका थिए । खरेल नेता नारायणकाजी श्रेष्ठसँग नजिक भएकाले पनि बराललाई प्रस्ताव गरेकोमा उनले आपत्ति जनाएका हुन् । उनी आफै अध्यक्षको प्रत्यासी भएकाले पनि आफ्नो समूहलाई शीर्ष नेताहरुले बेवास्ता गरी सहमति गरेका समाचार बाहिर लगेको जनाएका छन् ।

अध्यक्षमा प्रस्ताव गरिएका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्षका रूपमा आएको बताइएपनि अर्को समूहले आधिकारिक सहमति नभएको जनाएको छ । लुम्बिनी प्रदेश अध्यक्षका लागि केन्द्रीय कमिटीमा रहेकाले दाबी गर्न नपाउने विधि माओवादीले सुरूमै बनाएकाले धेरैलाई बन्देज लागेको थियो ।

अध्यक्षमा बरालको नाम सहमति भए पनि औपचारिक रूपमा घोषणा भएको छैन । सहमति भएको भन्दै बरालको सञ्चार माध्यममा अध्यक्षको रूपमा सार्वजनिक नै भइसकेको छ । अध्यक्षमा बराल पक्कापक्की भए पनि डेढ महिनासम्म टुंगो नलाग्दा कमिटी सक्रिय हुन पाएको छैन ।

माओवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सांसद तुलाराम घर्तीमगरले आकांक्षी धेरै भएकाले मिलाउन समस्या र केही दिनमा टुंगो लाग्ने बताए ।

प्रस्ताविक अध्यक्ष तथा माओवादी नेता सुदर्शन बरालले पदाधिकारी टुंगाउने विषयमा नेताहरूबीच छलफल भइरहेको र अहिले कोभिडले गर्दा पनि ढिलाइ भएको र केही नेताहरूलाई कोभिड संक्रमण भएको र निको हुनसाथ पदाधिकारी टुंगोमा पुग्ने बताए ।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बन्जाडेले दाबी गरेका छन् । सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्युठानका प्रकाश अधिकारीको दाबी छ । सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई समर्थन गरेका छन् ।

त्यसो त अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले आफ्नै ज्वाइँ लुमाकान्त न्यौपानेलाई अघि सारेका छन् । सचिव पदको टुंगो नलागेकै कारण लुम्बिनी प्रदेशको नेतृत्व टुंगिन नसकेको हो । लुम्बिनी प्रदेशका शीर्षमध्येका नेता वर्षमान पुन स्वास्थ्यका लागि चीनमा भएकाले पनि ढिलाइ भएको हो । उनी पनि निको भएर स्वदेश फर्किएकाले केन्द्रीय पदाधिकारी सँगसँगै लुम्बिनीको पदाधिकारी पनि टुंगोमा पुग्ने एक नेताले बताए ।

माओवादीको सम्मेलनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्यीय हुने निर्वाचन समितिले जनाएको छ । बाँकी ११ वटा विभिन्न कलस्टरबाट मनोनित गरिने जनाइएको छ ।

पालिकामा पनि अझै टुंगिएन

प्रदेशमा मात्रै होइन माओवादी केन्द्रको नेतृत्वका विवाद भएका प्रदेशका केही पालिकाहरूमा समेत नेतृत्व टुंगिएको छैन । रुपन्देहीको बुटवल उपमहानगरपालिका र ओमसतिया गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका, अर्घाखाँचीको भूमिकास्थान, बर्दियाको एक पालिकामा अधिवेशन सकिए पनि विवादका कारण अझै पदाधिकारीको टुंगो लागेको छैन । प्रदेश सम्मेलनअगावै सकिएका पालिका अधिवेशनमा नेताहरुको आन्तरिक विवादकै कारण अहिलेसम्म नेतृत्व नटुंगिएको हो ।

बुटवलको विवादमा नेताहरुबीच हात हालाहालको स्थितिमा पुगेको थियो तर त्यसपछि न त त्यो विषयमा छलफल भयो न त नेतृत्व नै टुंगो लागेको एक नेताले जानकारी दिए । रुपन्देहीको ओमसतियामा दुई अलग अलग कमिटी बनेका छन् । अहिले गाउँपालिकाको अध्यक्षसमेत रहेका हिरा केवट राहुल र अर्को नेता राजेन्द्र धवलको टकरावका कारण यहाँ दुई अलग-अलग समूह बनेका हुन् ।

राहुललाई माओवादीका धेरै नेताहरुले एमालेमा जान लागेको आरोप लगाएका छन् । अर्घाखाँचीको भूमिकास्थानमा ठाकुर सौराग र नरेन्द्र मुखियाको कडा प्रतिस्पर्धा भएकाले विवाद बढेको एक नेताले बताए । उनीहरू दुवै वर्षमान पुन नजिकका नेताहरू भएपनि ठाकुर जनयुद्धबाट आएको मुखिया अखिल छैठौंबाट प्रवेश गरेर आएकाले दुवैले आआफ्नो दाबि गरे पनि जिल्ला नेताहरु सहमतिकै लागि चुनाव नगराइ मिलाउन लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर