जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित – Nepal Press

जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

दार्चुला । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ ।

जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन राख्नुपर्ने बिरामीलाई मध्य नजर गर्दै इमर्जेन्सी बाहेकको स्वास्थ्य सेवा स्थगित गरिएको उनले बताए । दुई जना कोरोना संक्रमित बिरामीको जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

‘कोरोना संक्रमितको आइसोलेसन र ओपिडी सेवा परिसर नजिकै रहेकाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको हो, एक हप्ता सम्म यो अवस्था हुन सक्छ,’ डा लिम्बुले भने ।

पछिल्लो २४ घण्टामा दार्चुलामा १४ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला भरि विभिन्न स्थानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले जानकारी दिए । योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ७३ पुगेको छ । दार्चुलामा कोरोना सङ्क्रमणको तेस्रो लहर आएयता ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ गतेदेखि बुस्टर डोज दिइने

दार्चुलामा माघ १२ गतेदेखि कोरोनाको बुस्टर डोज दिइन लागेको छ । आइतबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दार्चुलामा माघ १२ गते देखी १४ गतेसम्म कोरोनाको बुस्टर डोज दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर