माओवादी नेतृत्व चयन – बन्दसत्रबाट कि बन्द कोठाबाट ? – Nepal Press

माओवादी नेतृत्व चयन – बन्दसत्रबाट कि बन्द कोठाबाट ?

नेताहरू चुनाव नलड्ने, अध्यक्षले सूची पढ्ने

काठमाडौं । केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बन्दकोठाभित्र केन्द्रीय सदस्य र पदाधिकारीको सूची बनाएको विषय निकै विवादित बन्यो । प्रतिनिधिको प्रजातान्त्रिक अधिकारलाई कुल्चिँदै अध्यक्षले एकाधिकार जमाएको भनेर सामाजिक सञ्जालमा तीब्र आलोचना भएको थियो ।

अहिले एमालेपछिको दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । र, एमालेको दृष्टान्तबाट कुनै पाठ नसिकिकन माओवादीले पनि बन्दकोठाभित्रै नेतृत्वको सूची बनाउने भएको छ । एमालेमा जस्तै सूचीमा नपरेकाहरूलाई चुनाव लड्ने अधिकार भने सुरक्षित गरिनेछ ।

आज समूहगत छलफलको निष्कर्ष सुनाउने काम भइरहेको छ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले प्रस्ताव गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज ११ समूहले सुझाव दिएका छन् भने बाँकी १४ समूहले भोलि प्रस्तुत गर्नेछन् । समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकिएपछि प्राप्त सुझावलाई समेत समेटेर दुवै दस्तावेज पारित गरिनेछ । त्यसपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने छ ।

माओवादी विधानअनुसार केन्द्रीय समितिको चयन महाधिवेशन हलले गर्छ भने पदाधिकारीको चयन केन्द्रीय समितिले गर्छ । महाधिवेशनले केन्द्रीय समिति सदस्य नियुक्त गर्ने र केन्द्रीय समितिले पदाधिकारी नियुक्त गर्ने विधानको प्रावधान हो । हालै भएका प्रदेश सम्मेलनमा पनि त्यही विधि अपनाइएको थियो । प्रतिनिधिहरूले प्रदेश समिति चयन गरेका थिए भने प्रदेश समिति सदस्यहरूले प्रदेश पदाधिकारी छानेका थिए ।

केन्द्रमा पनि त्यसै विधि अपनाइने छ । जारी महाधिवेशनमा पनि पदाधिकारीको प्रत्यक्ष चुनाव हुँदैन । प्रत्यक्ष चुनाव हुन सक्ने भनेको केन्द्रीय सदस्यहरूको हो । माओवादीका २९९ केन्द्रीय सदस्यमध्ये ९० प्रतिशत महाधिवेशनबाट चयन हुने व्यवस्था छ । बाँकी १० प्रतिशत मनोनित हुनेछन् । केन्द्रीय सदस्यमा पनि चुनाव हुने सम्भावना त्यति बलियो छैन ।

यसरी छानिनेछन् केन्द्रीय सदस्य

माओवादी केन्द्रीय समितिमा समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व गराइने छ । क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल समेत बनाएको छ । हिजो बसेको स्थायी समिति बैठकले देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, लीलामणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदल बनाएको थियो ।

कार्यदललाई आज साँझसम्म क्लस्टर अनुसारको संख्या टुंग्याएर दिन कार्यदेश छ । माओवादीले केन्द्रीय समितिमा महिलाका लागि ३५, दलितका लागि १५ र मुस्लिमका लागि ५ प्रतिशत प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ ।

त्यस्तै ४० वर्ष उमेरमुनिका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने माओवादीले व्यवस्था गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई दुर्गम क्षेत्रको नयाँ क्लस्टर थप्ने तथा मधेसी, थारू, जनजातिलगायत अन्य क्लस्टरलाई संविधानमा भएको व्यवस्थाअनुसार संख्या निर्धारण पनि कार्यदलले नै गर्ने छ ।

कार्यदलले प्रत्येक क्लस्टर अनुसारको नाम र संख्या टुंग्याएपछि अध्यक्ष प्रचण्डले महाधिवेशन हलमा केन्द्रीय सदस्यहरूको नामावली पेस गर्ने छन् । हलले त्यसलाई अनुमोदन गरे केन्द्रीय सदस्यका लागि चुनाव हुने छैन । नभए चुनावी प्रक्रिया शुरु हुने छ । प्रचण्डले पेस गरेको सूचीलाई कसैले चुनौती नदिने नेताहरूको विश्वास छ ।

‘बन्दसत्रमा पेस गर्ने कुरा औपचारिकताका लागि हो, केन्द्रीय समितिको चयन हुने भनेको बन्दकोठाभित्रै हो,’ एक नेताले भने ।

त्यसो त माओवादीले चुनावी प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोग पनि बनाएको छ । पार्टीले आग्रह गरे आफूहरू चुनाव गर्न जति बेला पनि तयार भएको आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ बताउँछन् ।

हलबाट केन्द्रीय सदस्यको टुंगो लागेपछि पदाधिकारी चयनमा प्रवेश हुने छ । सबै पदाधिकारीमा सहमतिको प्रयास हुने बताइएको छ । सहमति नजुटे निर्वाचन प्रक्रिया सुरू हुने छ र २९९ केन्द्रीय सदस्यले पदाधिकारीका लागि मतदान गर्ने छन् ।

माओवादी केन्द्रमा यसपाली अध्यक्षमा प्रचण्डलाई पुनः अनुमोदन गरेर अन्य पदाधिकारी खाली राख्ने सम्भावना छ । अध्यक्षमा प्रचण्ड निर्विकल्प भएकाले केन्द्रीय समितिले अध्यक्षमा उनको नाम पुनः अनुमोदन गर्नेछ । अन्य पदाधिकारीका भने धेरै अकांक्षी भएकाले प्रचण्डलाई नेताहरूको व्यवस्थापन गर्न गाह्रो छ । त्यसमा पनि महासचिवका आकांक्षी धेरै भएपछि प्रचण्डका लागि यो टाउको दुखाइको विषय पनि हो ।

दाबेदार धेरै भए पनि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुन मुख्य दाबेदार हुन् । उनीहरू दुवैजना प्रचण्डका प्रिय भएकाले कुनै एकलाई महासचिवमा चयन गर्न प्रचण्डलाई सकस छ । चीनमा उपचार गराइरहेका महासचिवका एकजना दाबेदार वर्षमान पुन महाधिवेशनमा आएका छैनन् । स्वास्थ्य उपचार नटुंगिएकाले उनी नआएका हुन् । आफ्ना विश्वासपात्रको अनुपस्थितिमा प्रचण्डले नेतृत्व सम्बन्धी महत्वपूर्ण निर्णय लिने सम्भावना कम छ ।

पुननिकट स्रोतले पनि उनलाई अप्ठ्यारो पर्ने गरी कुनै राजनीतिक निर्णय नलिने भनेर प्रचण्डले आवश्स्त पारेको बताएको छ । त्यसलाई समेत बहाना बनाएर प्रचण्डले पदाधिकारी चयनको टाउको दुखाइलाई प्रचण्डले केही समय पर धकेल्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर