क्यानको ‘मध्यमार्गी’ प्रस्ताव खेलाडीलाई अमान्य, नि:शर्त कारबाही फिर्ता हुनुपर्ने अडान – Nepal Press
क्रिकेट-विवाद

क्यानको ‘मध्यमार्गी’ प्रस्ताव खेलाडीलाई अमान्य, नि:शर्त कारबाही फिर्ता हुनुपर्ने अडान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विवाद समाधानका लागि गरेको ‘मध्यमार्गी’ प्रस्तावलाई खेलाडीले अस्वीकार गरेका छन् । क्यानले गरेको कारबाही बिनाशर्त फिर्ता लिनुपर्ने उनीहरूको अडान छ ।

विवाद समाधानका लागि क्यानले कप्तान परिवर्तनको निर्णय यथावत राख्दै ४ खेलाडीहरूको कारबाही फिर्ता लिने प्रस्ताव गरेको थियो । साथै, खेलाडीहरूले ग्रेडिङको सम्बन्धमा असन्तुष्टि मिडियामा ल्याएकोमा आत्मालोचित हुनुपर्ने पनि क्यानको शर्त छ । तर, क्यानको यस्तो प्रस्ताव खेलाडीले अस्वीकार गरेका छन् ।

क्यानका बोर्ड सदस्य दुर्गाराज पाठकले मध्यमार्गी प्रस्ताव लिएर हिजो खेलाडीहरूलाई भेटेका थिए । तर, उनको प्रस्तावलाई खेलाडीहरूले अस्वीकार गरेको स्रोतले बताएको छ ।

एक खेलाडीले भने, ‘खेलाडीले आत्मालोचना गरेको खण्डमा निर्णयमा पुनर्विचार गर्न सकिने प्रस्ताव आएको थियो । यो भनेको हामीलाई ट्र्यापमा पार्ने र कारबाहीको औचित्य पुष्टि गर्ने प्रयास मात्र हो । त्यसैले हामीले स्वीकार्न सकेनौं ।’

यदि खेलाडीले गल्ती स्वीकार गरेमा सेन्ट्रल कन्ट्राक्टबाट ४ खेलाडीलाई बाहिर राख्ने निर्णय फिर्ता लिने क्यान पदाधिकारीबीच आन्तरिक समझदारी छ । कप्तान र उपकप्तानलाई अपदस्थ गर्ने निर्णय उल्टाउन भने क्यान तयार छैन ।

क्यानका एक पदाधिकारी खेलाडीले गल्ति स्वीकार गरेमा विवाद समाधानको ढोका खुल्ने बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामी निर्णयमा पुनर्विचार गर्न तयार छौं, तर त्यसका लागि खेलाडीले पनि एक कदम पछि हटेर गल्ती स्वीकार गर्नुपर्छ ।’

क्यानलाई खेलाडीको कारबाही फिर्ता लिन राजनीतिक दबाब पनि परिरहेको छ । साथै, क्यान बोर्डकै ६ जना सदस्यहरू उक्त निर्णयविरुद्ध संगठितरुपमै उत्रिएका छन् । उनीहरूले आज पत्रकार सम्मेलन गरी कारबाही फिर्ता लिन माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *