कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै – Nepal Press

कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जितको यात्रामा देखिएका छन् । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उनको स्पष्ट अन्तराल छ ।

शेखर कोइराला प्यानलबाट उठेका गगनले मतगणनाको सुरुदेखि नै अग्रता बनाएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । यही रुझान कायम रहेमा उनले सहज जितको स्वाद चाख्नेछन् । अघिल्लो महाधिवेशनमा उनी महामन्त्रीमै पराजित भएका थिए ।

दोस्रो महामन्त्रीमा विश्वप्रकाश शर्माको दावेदारी बलियो बनेको छ । सुरूआती मतगणनामा दोस्रो स्थानका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको थियो ।

विश्वप्रकाशसहित संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धामा थिए । तर, पछिल्लो अवस्थामा विश्वप्रकाशले संस्थापनका उम्मेदवारहरुसँग स्पष्ट अन्तराल कायम राखेका छन् ।

यदि गगन र विश्वप्रकाश दुवैले जितेमा त्यो संस्थापन समूहका लागि गतिलो धक्का हुनेछ । संस्थापन समूहबाट टिकट नपाएपछि विश्वप्रकाशले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्रतिनिधिहरुले प्यानल हेरेर भन्दा पनि उम्मेदवार हेरेर क्रस भोटिङ गरेको देखिएको छ ।

शेखर कोइरालाको प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको दावेदारी भने कमजोर बन्दै गएको छ । कांग्रेसमा महामन्त्रीका लागि ४ वटा प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये विमलेन्द्र निधिको प्यानलबाट उठेका राजाराम कार्कीले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर