कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि – Nepal Press

कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी कसलाई देलान् ? कांग्रेस वृत्तमा अहिले चासोको विषय छ ।

कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औं महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो ।

यसपटक संशोधित विधानअनुसार सभापतिसहित उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ ।

कोषाध्यक्षका लागि अहिले सबैभन्दा बढी चर्चामा छन्, केन्द्रीय सदस्य विनोद चौधरी । नेपालका एकमात्रै डलर अर्बपतिसमेत रहेका चौधरीलाई यसअघि नै देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिइसकेको बताइन्छ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई देउवाले लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक बनाएका थिए ।

कांग्रेस विधानले कोषाध्यक्षलाई पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत-साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने लगायतका जिम्मेवारी दिएको छ । चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । तीनवटै तहको निर्वाचन नजिकिएका कारण उद्यमी व्यवसायीसँग सहकार्य गर्नपनि चौधरीलाई जिम्मेवारी दिन उचित हुने देउवाको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

‘अहिलेसम्मको अवस्था हेर्दा कोषाध्यक्षमा विनोदजीकै सम्भावना बढी छ । टिमभित्र अधिकांशको सहमति पनि छ’, देउवानिकट एक नेताले भने । चौधरीले मधेशी खुला तर्फबाट देउवा प्यानलको उम्मेदवार रहँदै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ ।

देउवा समूहमा कोषाध्यक्षमा चौधरीको विकल्पको रुपमा चित्रलेखा यादवलाई लिइएको छ । उनी सुशिल कोइराला नेतृत्वको कार्यसमितिको कोषाध्यक्ष समेत हुन् । पूर्व पदाधिकारी भएपनि यादव यसपटक प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकरात्मक सन्देश जाने भन्दै कोषाध्यक्षमा चित्रलेखाको नामसमेत चर्चामा रहेको हो ।


प्रतिक्रिया

One thought on “कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

  1. अनुमान गलत, सम्भावना डा. अारजु राणाको मात्र हो अरूको रहर मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर