चौथो चरणपछि ए डिभिजन लिग: ५० गोल पूरा, साविक विजेता शीर्ष स्थानमा – Nepal Press

चौथो चरणपछि ए डिभिजन लिग: ५० गोल पूरा, साविक विजेता शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिएका छन् । चौथो चरणको समाप्तीसँगै २८ खेलमध्ये ११ खेल बराबरीमा टुङ्गििएका छन् भने १७ खेलमा जित–हारको नतिजा निस्किएको छ । चौथो चरणसम्म आइपुग्दा लिगमा ५० गोल भएका छन् । जसमध्ये चौथो चरणमा सात खेलबाट ९ गोल भए । जारी लिगको एक चरणमा भएको यो दोस्रो कम गोल संख्या हो । यसअघि दोस्रो चरणमा सात गोल मात्रै भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न चौथो चरणका खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबिचको खेलमा सर्वाधिक ३ गोल भयो । जुन खेलमा मछिन्द्रले शेर्पालाई ३–० गोलको नतिजामा पराजित गरेको थियो ।

चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले फ्रेन्ड्स क्लबलाई २–० गोलको नतिजामा हराएको थियो । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २–० को नतिजामा पराजित गरेको थियो । तेस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी)सँग १–० गोलको पराजय बेहोरेको थियो । त्यो नतिजा सातदोबाटोको पहिलो पराजयसमेत थियो । चौथो चरणको पाँचौ खेलमा थ्री–स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एपीएफ फुटबल क्लबले पहिलो अंक जोडेको थियो । छैठौं खेलमा नेपाल पुलिस क्लबलाई १–० को नतिजामा संकटा क्लबले हराएको थियो ।

यस्तै, चौथो चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै तालिकामा अंकबिहिन रहेको जावलाखेलले एक अंक जोडेको थियो ।

चौथो चरणको समाप्तिसँगै ४ खेलबाट १० अंकसहित साबिक बिजेता मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा छ । समान ४ खेलबाट १० अंक जोडेको मनाङ गोलअन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ । आर्मी ८ अंकसहित तेस्रो र समान ८ अंकसहित गोलअन्तरका आधारमा संकटा चौथो स्थानमा छ ।

चार खेलबाट ७ अंक जोड्दै सातदोबाटो पाँचौ स्थानमा छ । पाँच अंक जोडेको थ्री-स्टार छैठौं, ब्रिगेड ब्वाइज सातौं, पुलिस आठौं र एनआरटी नवौं स्थानमा छ ।

चार अंक जोड्दै च्यासल १०औं, २ अंक जोडेको फ्रेन्ड्स र हिमालयन शेर्पा ११औं र १२औं स्थानमा छन् । चार खेलमा १÷१ अंकसहित जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् ।

लिगमा सबैभन्दा धेरै १९ गोल तेस्रो चरणमा भएको थियो । पहिलो चरणमा १६ गोल भएको थियो भने दोस्रो चरणमा सात गोल भए । पाँचौ चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछ । जसमा पाँचौ, सातौँ र आठौं चरणमा मनाङले तीन खेल पोखरा रंगाशालामा खेल्ने भएको छ ।

एन्फाले सर्वजानिक गरेको नवौं चरणसम्मको खेल तालिकामा तीन खेल पोखराका बाहेक बाँकी सबै खेल दशरथ रंगाशालामै हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *