महाधिवेशन उद्घाटनस्थलमा एमाले कार्यकर्ताले गरे सरसफाइ – Nepal Press

महाधिवेशन उद्घाटनस्थलमा एमाले कार्यकर्ताले गरे सरसफाइ

चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलमा २ घण्टा लगाएर युवाहरुले सरसफाइ गरेका छन् । दिनभर निकै भिडभाड रहेको नदि किनारमा फालिएका फोहर उनीहरूले सफा गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल, जिफन्ट, अनेमसंघ, पार्टी भुगोल, खेलकुद महासंघ, अनेरास्ववियु, एमाले चितवन लगायतको सहभागितामा सरसफाइ गरिएको छ । युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले संकलित फोहर भोलि विहानै भरतपुर महानगरकाे ट्याक्टरमा पठाइने बताए ।
‘उद्घाटनसत्र सकिएलगत्तै सरसफाइमा जुटेका थियौं’ , उनले भने, ‘पवित्र भुमिलाई फोहर नबनाउँ भन्ने सन्देश पनि दिएका छौँ ।’
उनका अनुसार प्लास्टिक, फलफूलका बोक्रा, पानीका बोतल लगायतको फोहरलाई संकलन गरिएको छ ।
‘राति नै फोहर व्यवस्थापन गर्न महानगरलाई अनुरोध गरेका थियौं,’  उनले भने, ‘सरसफाइ परिचालित ट्याक्टर ल्याउन सम्भव भएन, बिहानै पठाइनेछ ।’
स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले सरसफाइमा ३ सय जना खटिएको बताए ।
‘एमाले हरेक क्षेत्रमा शुद्धीकरण  चाहन्छ,’ उनले भने, ‘नदी किनारलाइ सफा बनाएर छाडेका छौँ ।’
उनका अनुसार गैडाको मस्कट र मजदुरले पृथ्वी उचालेको सेल्फी प्वाइन्ट बाहेक बनाइएका सबै अस्थायी संरचनाहरु हटाइने छ ।
‘राती नै साउण्ड सिष्टम, डिस्प्ले बोर्डहरु हटाइनेछ,’ उनले भने, ‘ मञ्च १२ गते हटाइनेछ, नदी किनारका स्वागत गेटहरु पनि भोलि हटाइनेछ ।’
 उनका अनुसार महाधिवेशन उद्घाटनसत्रमा ५ हजार स्वयंसेवक परिचालन गरिएको थियो । बन्दसत्र हुने सौराहामा ३ सय स्वयंसेवक परिचालन हुनेछन् । बन्दसत्र हुने स्थल होटल सेभेन स्टारमा मदन भण्डारी, केपी ओली, कम्युनिस्टका आदर्श नेताहरुको प्रतिमा राखिएका सेल्फि प्वाइन्टहरु बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर