एमाले नयाँ नेतृत्व कति समावेशी ? – Nepal Press

एमाले नयाँ नेतृत्व कति समावेशी ?

पहिलोपल्ट ३३ प्रतिशत महिला, खुला र भुगोलमा खसआर्यकै बर्चस्व

काठमाडौं । चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ भने तीन सय एक सदस्यीय केन्द्रीय समिति र २५-२५ सदस्यीय विभिन्न अयोग पनि गठन गरेको छ ।

राजनीतिक दलको नेतृत्व तहमा ३३ प्रतिशत महिला अनिवार्य हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार नै पहिलोपटक नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुगेको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ ।

पदाधिकारीमा महिला १०, दलित र मधेसी ५-५ प्रतिशत

एमालेको १९ सदस्यीय पदाधिकारीमा २ महिला, १ दलित र १ जना मधेसी समुदायका नेताको उपस्थिति भएको छ । यो हिसाबमा पदाधिकारीमा महिलाको सहभागिता १० प्रतिशत देखिएको छ भने दलित र मधेसीको सहभागिता ५-५ प्रतिशत देखिएको छ । संख्यात्मक हिसावले महिला, दलित र मधेशीको संख्या पदाधिकारीमा कम देखिए पनि यसअघिको तुलनामा सुधार भएको छ ।

२ जना महिला पदाधिकारीमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, दलित समुदायको तर्फबाट सचिवमा छविलाल विश्वकर्मा र मधेसी समुदायबाट रघुवीर महासेठ पनि निर्वाचित भएका हुन् ।

३०१ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ । उनीहरूमध्ये अधिकांश निर्विरोध निर्वाचित भएका हुन् भने कतिपय निर्वाचनमार्फत केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

भूगोलका ६७ केन्द्रीय सदस्यमा एकमात्र दलित

भौगोलिक क्षेत्रअन्तरगत सातवटै प्रदेशबाट ६७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जसमा प्रदेश एकबाट ६ जना निर्वाचित भएकोमा जनजातितर्फ ४ जना निर्वाचित भए ।

प्रदेश एकबाट भौगोलिक क्षेत्रमा खुलामा एकजना पनि महिला र दलित निर्वाचित भएनन् । भूगोलअन्तरगत नै प्रदेश एकबाट ३ जना महिला निर्वाचित भए । जहाँ १ जना जनजाति महिला निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाटै महिला निर्वाचित भए । दलित र मधेसी समुदायबाट एकजना पनि महिला निर्वाचित भएनन् ।

प्रदेश दुईमा भने खुलातर्फ ६ जना निर्विरोध निर्वाचित भए, जसमा सबै मधेसी र जनजातिबाटै निर्वाचित भए । खुलातर्फ भने एकजना पनि महिला र दलित निर्वाचित भएनन् । प्रदेश २ कै महिलातर्फ भने ३ जना निर्वाचित हुँदा एकजना पनि दलित महिला परेनन् ।

वाग्मती प्रदेशमा ६ जना खुलातर्फ निर्विरोध निर्वाचित हुँदा १ जनामात्र जनजातिबाट निर्वाचित भए । दलितबाट एकजना पनि निर्वाचित भएननन् । वाग्मतीबाटै तीनजना महिला निर्वाचित हुँदा १ जना महिला जनजातिबाट परे । बाँकी २ महिला खसआर्यबाटै निर्वाचित भए । यहाँ पनि दलित महिला निर्वाचित भएनन् ।

गण्डकी प्रदेशबाट ६ जना खुला निर्विरोध निर्वाचित हुनेमा ५ जना खस आर्यबाट निर्वाचित भए भने दलितबाट जगत विश्वकर्मा निर्विरोध भए । गण्डकी प्रदेशकै तीनजना महिला निर्विरोध निर्वाचित हुँदा १ जना खस आर्य महिला निर्वाचित भए । २ जना जनजातितर्फका महिला निर्वाचित भए । दलित महिला भने एकजना पनि आएनन् ।

लुम्बिनी प्रदेशमा ६ जना खुलातर्फ निर्वाचित भएकामा ५ जना खस आर्यबाटै निर्विरोध भए । एकजना नवीन रोकामगर जनजातिबाट निर्वाचित भए । दलित भने एकजना पनि आएनन् । महिलातर्फ पनि ३ जना निर्विरोध निर्वाचित भएकोमा तीनै जना खस आर्यबाट निर्वाचित भए । महिला भित्र पनि जनजाति र दलित महिला अटाएनन् ।

कर्णाली प्रदेशबाट खुलातर्फ ६ जना निर्वाचित हुनेमा शतप्रतिशत खस आर्यबाट निर्विरोध निर्वाचित भए । ३ जना महिलातर्फ पनि तीनैजना खस आर्यबाट निर्वाचित भए ।

सुदूरपश्चिम प्रदेशमा ६ जना खुलामा निर्वाचित भएकोमा चारजना खस आर्यबाट परे । दलितबाट अफिलाल ओखेडा र जनाजातिबाट नारदमुनि राना निर्विरोध भए । महिलातर्फ भने तीनैजना खस आर्य निर्वाचित भए ।

उपत्यका विशेषबाट भने एक खुला सदस्यमा खसआर्य पुरुष र महिलामा भने जनाजातितर्फ बिनाकुमारी श्रेष्ठ निर्विरोध निर्वाचित भए । सम्पर्क समन्वयतर्फ एकजनामा जनजाति समुदायबाट र महिलातर्फ खस आर्यबाटै निर्विरोध निर्वाचित भए ।

जनजातिको सहभागिता ३२ प्रतिशत

समावेशीतर्फ ७८ मध्ये आदिवासी जनजातिबाट खुलातर्फ १७ जना निर्विरोध भएकामा सबै पुरुष परे । आदिवासी जनजाति महिलातर्फ ८ जना निर्वाचित भए । समावेशीतर्फकै मधेसीतर्फ खुलाबाट १३ जना सबै पुरुष निर्वाचित भए भने मधेसी महिलातर्फ ६ जना महिला निर्वाचिन भए ।

समावेशी दलिततर्फ ८ जना निर्वाचित हुनेमा सबै पुरुष परे । महिलातर्फ भने चारजना निर्वाचित भए । समावेशीकै थारुतर्फ पाँचजना खुलामा निर्वाचित हुनेमा सबै पुरुष नै निर्वाचित भए भने महिला दुईजना निर्विरोध भए ।

मुस्लिमबाट चारजना खुलामा सबै पुरुष नै निर्विरोध निर्वाचित भए भने महिलामा एकजना निर्विरोध भए । यस्तै श्रमिकतर्फ चारजनामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी तीन जना खस आर्यबाटै निर्वाचित भए ।

महिलातर्फ २ जना जनजातिबाटै निर्वाचित भए । पिछडिएको क्षेत्रबाट ३ जना खुलामा एकजना जनजातिबाट निर्वाचित भए भने बाँकी २ जना खस आर्यबाट परे । पिछडिएको महिलामा पनि खसआर्यबाटै निर्वाचित भए ।

८४ खुला केन्द्रीय सदस्यमा ८६ प्रतिशत खसआर्य

केन्द्रीय सदस्य खुलाअन्तरगत ८४ जनामा १० जना जनजाति, एकजना मधेसी निर्वाचित भए भने बाँकी सबै खसआर्यबाटै आए । महिला र दलित समुदायबाट खुलातर्फ एकजना पनि निर्वाचित भएनन् । खुलातर्फ नै ५३ जना महिला निर्वाचित हुनेमा ६ जना जनजाति, दुई थारु, १-१ मधेसी र दलित महिला निर्विरोध निर्वाचित भए भने बाँकी सबै खस आर्य महिला नै निर्वाचित भए ।

नेकपा एमालेको नवौं महाधिवेशनमा पनि २ जना महिला पदाधिकारीमा निर्वाचित भएका थिए । जसमा उपाध्यक्षमा विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य थिए ।

भण्डारी राष्ट्रपति भएकी थिइन् । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति शून्य नै थियो । नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर