एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ) – Nepal Press

एमालेको जनसमर्थन नघटेको महाधिवेशनबाट स्थापित भयो : सुवास नेम्वाङ (भिडिओ)

आफूले पाएको जिम्मेवारीमा सन्तुष्ट छु

चितवन । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै रहेको सन्देश दिएको दाबी गरेका छन् ।

महाधिवेशनपछि काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘महाधिवेशन सफल बनेको छ, एमाले नै कम्युनिष्ट आन्दोलनको मुलधार रहेको सन्देश दिएको छ ।” एमालेप्रतिको जनमत यथावतै रहेको पुष्टि गरेको पुष्टि भएको नेम्वाङको भनाइ छ ।

‘धेरै षड्यन्त्रका बावजुद कमजोर बनाउने, घेराबन्दी गर्ने कैयन प्रयास भए’, उनले भने, ‘अझैपनि एमालेको उही शक्ति रहेछ, जनताको उत्तिकै समर्थन रहेछ भन्ने स्थापित भएको छ ।’ महाधिवेशनले एमाले एकजुट भएको देखाएको भन्दै नेम्वाङले भने, ‘विधान महाधिवेशनका बेलामा पनि के गर्छन् भन्थे । राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने प्रश्नहरू उठे, तर हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौं ।’

उनले एकता, सहमति र समझदारीको महाधिवेशन बनाउन सुरूदेखि नै जोड दिइएको त्यसमा सफल पनि भएको जिकिर गरे । केही पदमा निर्वाचन हुनु स्वाभाविक भएको बताउँदै निर्वाचनमा भाग लिएकाहरूलाई समेटेर लैजानुपर्नेमा नेम्वाङको जोड छ ।

‘भीम रावललाई परेको मत पनि एमालेकै हो’, उनले भने, ‘निर्वाचनमा गएपछि मत पाउने नै भए, त्यसलाई अन्यथा लिनुहुँदैन, कसले कति प्रतिशत मत पाए भनेर निष्कर्षमा पुग्नुहुँदैन, एमाले एकजुट र एक ढिक्का बनेको छ ।’

उनले आफूले पाएको जिम्मेवारीमा सन्तुष्ट रहेको बताए । ‘सयमा सय सन्तुष्टि कहिँ पनि हुँदैन’, नेम्वाङले भने, ‘समग्रमा म सन्तुष्ट छु, महाधिवेशनले चाहेको सन्देश दिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर