एमाले महाधिवेशन, मोटरबोटको ब्यापार ! – Nepal Press

एमाले महाधिवेशन, मोटरबोटको ब्यापार !

चितवन । कोरोना महामारी फैलिएसँगै लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै डेढ वर्ष बन्द रहेका मोटरबोटहरु नारायणी नदीमा चल्न थालेको केहि महिनामात्र भयो । असोजदेखि फाट्टफुट्ट चलाइएका मोटरबोटमा पछिल्लो १५ दिन यता भने भीडभाड निकै छ ।

आयुष्मा मोटरबोटका सञ्चालक विजयचन्द्र अधिकारीले एमालेको महाधिवेशनको चहलपहलले मोटरबोट चढ्नेहरु बढेको बताए । ‘२ चरणको लकडाउनले स्थिति खत्तमै बनेको थियो, अहिले महाधिवेशनले चहलपहल बढेको छ,’ उनका अनुसार अहिले दैनिक १ हजार जनाले जलयात्रा गर्ने गरेका छन् ।

आयुष्माको २० सीटर एक र १० सीटर २ वटा, ८ सीटरको एउटा मोटरबोट छ । ‘हामी उत्साहित छौं, देशभरी नारायणीमा जलयात्राको सन्देश जानेछ,’ उनले भने, ‘कोभिडले सुस्ताएको जलयत्राले फेरी लय लिँदैछ ।’ एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

५ लाख जनता सहभागी गराउने गरी नारायणी नदी किनारा भव्य मञ्च बनाइएको छ । १ गतेदेखि मञ्च निर्माणको गतिविधि नियाल्न सयौं सर्वसाधरण दैनिक नदी किनार पुग्ने गरेका थिए । ‘आज महाधिवेशन उद्घानसत्र भएकाले चहलपहल अझै बढ्छ,’ उनले भने, ‘जलयात्रालाई प्रवर्द्धन गर्न यो कार्यक्रम सहयोगी बनेको छ ।’

उनका अनुसार आज दिनभर मोटरबोट सन्चालन नगर्न भने कतैबाट दबाब आएको छैन । ‘चलाउनुस्, तर भीडभाड व्यवस्थापन गर्नुस् भन्नुभएको छ,’ सन्चालक अधिकारीले भने । २ सय ५० रुपैयाँमा पोखरा बसपार्कदेखि नारायणी पुलसम्म जाने–आउने गरेर करिब ३ किमि जलविहार गराइन्छ । यस्तै ५ सय रुपैयाँमा पोखराबसपार्कदेखि नारायणी पुल हुँदै नगरवनसम्म करिब ६ किमि जलयात्रा गराइन्छ ।

एमटीएस मोटरबोटका सञ्चालक बुद्ध शर्माले दीर्घकालीन प्रचार भएको बताए । ‘देशविदेशमा नारायणीको जलयात्राको पनि प्रचार भएको छ,’ उनले भने, ‘भविष्यमा बोटिङ गर्न आउने अझै बढ्ने अपेक्षा छ ।’ एमटीएस, एचएसको एक एक वटा १० सीटर, रंगमहल रिभरल्याण्डको एउटा २२ सीटर, अल्टिमेट वाटर एडभेञ्चरको ६, १२ र २० सीटर एक एक वटा मोटरबोटहरु छन् ।

इक्युटर मोटरबोटको २ वटा र नेपाल क्रुजको १ वटा १० सीटर मोटरबोटहरु सञ्चालनमा छन् । अल्टिमेटका क्याप्टेन कृष्णप्रसाद लामिछानेले बाहिरी जिल्लाकाले नयाँ स्वादका रुपमा बोटिङ गर्ने गरेको बताए । ‘करिब १० मिनेट नारायणी नदीमा बोटिङ गरेपछि सबै रमाउँछन्,’ उनले भने, ‘चहलपहल बढेपछि हामी पनि रमाएका छौं ।’

महाधिवेशन स्थल अवलोकनमा आएका पाल्पा रामपुर–१० का लोकप्रसाद श्रेष्ठले नारायणीको जलयात्राले रोमाञ्चित बनाएको बताए ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा बनाइएको रिभर क्रुजसिप (मिनी पानीजहाज) पनि सञ्चालनकै तयारीमा छ । १५ करोड खर्चेर बनेको सुविधासम्पन्न क्रुजसिपमा २ सय जना बस्न मिल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर