दाङमा तरूण दलका अध्यक्षले कांग्रेस जिल्ला सचिव कुटे – Nepal Press

दाङमा तरूण दलका अध्यक्षले कांग्रेस जिल्ला सचिव कुटे

दाङ । दाङमा फेरि कांग्रेस नेताबीच कुटाकुट भएको छ । तरूण दल दाङका अध्यक्ष टीका घर्तीले काँग्रेस दाङका सचिव शंकर डाँगीलाई कुटेका छन् ।

आज अपरान्ह तुलसीपुरको अञ्जु स्विट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई घर्तीले कुटेका हुन् । प्रत्यक्षदर्शी हरि बस्नेतका अनुसार डाँगीले चिया पिइरहेका बेला घर्ती त्यहाँ पुगेका थिए ।

बस्नेतले भने, ‘शंकरजीले के छ ? टीका आराम छौ, भन्दै हालखबर सोध्नुभयो । त्यसपछि मलाई चुनावमा हराउने तैँ हो भन्दै कुर्सी उठाउनु भयो अनि झमाझम मुक्का बर्साउनु भयो ।’

घर्ती दाङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि लडेका थिए । उनी खिमबहादुर वलीसँग पराजित भएका थिए । घर्ती गृहमन्त्री बालकृष्ण खाँड निकट हुन् भने सभापतिमा विजयी वली केन्द्रीय सदस्य दिपक गिरी निकट हुन् ।

घर्तीले कुटपिट गरिरहेका बेला पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेस हमालले घर्तीलाई रोकेका थिए । काँग्रेसका नेताबीच झडप भएको खवर पाएसँगै इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याललको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी अर्यालले भने, ‘झगडा भएको खवर पाएपछि म त्यहाँ पुगेको थिँए । उहाँहरूले हाम्रो पार्टीको आन्तरिक लफडा हामी आफैं मिलाउछौँ भन्नुभयो अनि म फर्केर आएँ ।’

डाँगी र घर्तीले आफूहरूबीच सामान्य चुनावी लफडा भएको प्रतिक्रिया दिएका छन् । डाँगी निकट एक काँग्रेस कार्यकर्ता अनुसार  घर्तीले आफूलाई कुटपिट गरेको पार्टीको केन्द्रीय सदस्य दिपक गिरीलाई उनले रिपोर्टिङ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर