कोप-२६ बाहिर हजारौंको प्रदर्शन, ग्रेटा थनबर्ग भन्छिन् : सम्मेलन असफल भैसक्यो – Nepal Press

कोप-२६ बाहिर हजारौंको प्रदर्शन, ग्रेटा थनबर्ग भन्छिन् : सम्मेलन असफल भैसक्यो

ग्लास्गो । यसअघि भएका जलवायु सम्झौता कार्यान्वयन गर्न माग गर्दै राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) बाहिर रहेको ग्लास्गो पार्कमा हजारौंले आज प्रदर्शन गरेका छन् ।

पेरिस सम्झौता लगायतका अघिल्ला सम्झौता कार्यान्वयन दबाब दिन ग्लास्गोसहित विश्वका विभिन्न सहरमा समेत प्रदर्शन सुरु भएका छन् । प्रदर्शनकारीले जलवायु नीतिको विश्व्यापी पहलको माग गरेका छन् ।

विद्यार्थी, अभियन्ता र जलवायुप्रति चासो राख्ने मानिसहरु सहभागी प्रदर्शन र्‍याली ग्लास्गो सहरको केल्भिनग्रोभ पार्कदेखि सेन्ट्रल जर्ज स्क्वायरतर्फ अघि बढिरहेको छ ।

‘पूँजीवादले पृथ्वीलाई समाप्त गर्दैछ’ लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको छ भने युवाहरुले नाराबाजी समेत गरेका छन् । उनीहरुले जलवायु संकट निम्तनुमा कम्पनीहरुलाई दोष लगाउँदै समाजवादी व्यवस्थाको पक्षमा नारा लगाएका छन् ।

उक्त भीडमा दर्जनौं स्कटिस झण्डाहरु पनि फहराइएका छन् । उनीहरुले प्रभावित किसानहरुालई जलवायु न्याय हुनुपन मागसमेत गरेका छन् । गत सोमबारदेखि ग्लास्गो सहरमै कोप-२६ चलिरहेको छ ।

ग्लास्गोमा आयोजित जनसभामा बोल्दै जलवायु अभियन्ता ग्रेट थनबर्गले कोप-२६ सम्मेलन असफल भएको बताएकी छिन् । आजै थनबर्ग हजारौं स्कुले विद्यार्थी सहभागी एउटा विरोध र्‍यालीमा समेत सहभागी भएकी थिइन् ।

जर्ज स्क्वायरमा बोल्दै उनले तत्काल कार्बन उत्सर्जनलाई रोक्नु जरुरी भैसकेको बताएकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर