प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा ६८ दिनमै राजीनामा – Nepal Press

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा ६८ दिनमै राजीनामा

विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले राजीनामा दिएका हुन् ।

राजीनामा दिँदै आचार्यले भने, ‘अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गर्छु । सहयोगका लागि सबैलाई धन्यवाद ।’ जुनसुकै सरकार आए पनि एमालेको रचनात्मक सहयोग हुने उनले बताए । उनले अब प्रदेश प्रमुखसमक्ष गएर राजीनामा पत्र बुझाउने बताए ।

आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

एक सिट रहेको राप्रपा मौन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर