नेतृत्वमा हानाथाप भएपछि सिन्धुपाल्चोकका सात पाालिकामा एमाले अधिवेशन स्थगित, पाँचमा नयाँ नेतृत्व – Nepal Press

नेतृत्वमा हानाथाप भएपछि सिन्धुपाल्चोकका सात पाालिकामा एमाले अधिवेशन स्थगित, पाँचमा नयाँ नेतृत्व

गुटको धङधङी बाँकी नै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेकपा एमालेले मंगलबार राति अबेरसम्म पाँच पालिकाको मात्रै नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । केही पालिकाहरुमा उद्घाटन सत्र सम्पन्न भएपनि नेतृत्व चयनमा विवाद भएपछि अधिवेशन नै स्थगित गरिएको छ ।

बाह्रविसे नगरपालिका, लिसंखुपाखर, सुनकोशी, इन्द्रावती र हेलम्बु गाउँपालिकामा नेतृत्व छनोट भएको छ । लिसंखुपाखर गाउँपालिकामा सदस्य र अन्य पदाधिकारीहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भए पनि अध्यक्षमा भने मतदान भएको थियो ।

अध्यक्षमा प्रदिप भण्डारी र कुमार लामाबीच सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानमा प्रदिप भण्डारीले १२९ मत ल्याएका थिए भने लामाले जम्मा ९ मत मात्रै ल्याएका थिए ।

धेरै प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनको मध्यमबाट नेतृत्व छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए ।

बाह्रविसे नगरपालिकामा ज्ञानेन्द्र राउतलाई अध्यक्ष र राजकुमार सुवेदीलाई सचिवमा निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको छ । सहमतिमा नै नेतृत्व छनोट गरिएको एमाले नेता एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

त्यस्तै सुनकोशी गाउँपालिकामा अध्यक्ष प्रेमलाल लामा र सचिवमा रामहरी खड्का निर्विरोध निर्वाचित भएका छन् । इन्द्रावती गाउँपालिकामा शशीनाथ आचार्य अध्यक्षमा निर्वाचित भएका छन् भने हेलम्बु गाउँपालिकामा बेनबहादुर पण्डित अध्यक्षमा निर्वाचित भएका छन् ।

चौतारा, बलेफी, पाँचपोखरी र जुगलमा स्थगित

उद्घाटन सत्र सम्पन्न भएर पालिका कमिटीका सदस्यहरु समेत चयन भए पनि मुख्य पदाधिकारीहरुमा सहमति हुन नसकेपछि केही पालिकाको अधिवेशन भने स्थगित भएको छ ।

जुगल, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको अधिवेशन स्थगित भएको हो । तिनै पालिकामा सर्वसम्मत रुपमा सदस्य चयन भएपनि पदाधिकारीमा भने आकांक्षी धेरै भएपछि समस्या भएको एमाले नेता एवम् बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्षलगायत अन्य पदहरुमा सहमति भएपनि सचिवमा सहमति नभएपछि घोषणा नै नगरी अधिवेशन स्थगित गरिएको छ । ‘सचिवमा सहमति हुन सकेन, अध्यक्ष मण्डललाई नै सबै जिम्मा दिएर हाललाई स्थगित गरिएको छ’, एमाले जिल्ला सदस्य विजय पौडेलले भने ।

त्रिपुरासुन्दरी गाउँपालिकामा भने त्यहाँका पुराना एमाले नेता जगतबहादुर बोहोराको मंगलबार बिहान निधन भएपछि अधिवेशन स्थगित गरिएको छ । भोटेकोशी गाउँपालिकामा केही दिनपछि अधिवेशन हुनेछ भने मेलम्ची नगरपालिकामा कात्तिक १५ गतेका लागि अधिवेशनको मिति तोकिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए ।

नेतृत्वमा रस्साकस्सी, गुटको धङधङी बाँकी नै

१० बुदे सहमतिमार्फत एमाले एकताबद्ध भएको घोषणा भए पनि पालिकाहरुको अधिवेशनको माहौलले अझै एकताबद्ध हुन बाँकी भएको संकेत दिएको छ ।

अधिवेशन उद्घाटनमा सहभागी हुने प्रमुख अतिथिदेखि अतिथिहरुमा समेत यसअघिका गुटको चलखेल देखिएको थियो । एमाले कार्यालय सचिव समेत रहेका शेरबहादुर तामाङ दुई पालिकाको अधिवेशन उद्घाटन गर्न हतार हतार पुगेका थिए । वागमती प्रदेशस्तरका नेतादेखि जिल्ला अध्यक्ष समेत भएपनि गुटगत भागभण्डाको आधारमा तामाङ अधिवेशन उद्घाटनको हतारोमा थिए ।

अन्य पालिकाहरुमा समेत प्रमुख अतिथिदेखि अतिधिहरुमा गुटको प्रभाव देखियो । विगतमा भएको दोहोरो कमिटीगत अभ्यास पनि कतिपय पालिकाहरुको अधिवेशनमा देखिएको थियो ।

नेताहरु बीच एकआपसमा घोचेपेच समेत चलेको थियो । नेतृत्वमा समेत यसअघि नेपाल समूहमा रहेका र ओली समूहमा रहेकाहरु बीचको रस्साकस्सीले गर्दा नेतृत्व छनोटमा समस्या भएको थियो ।

सबै पालिकाहरुमा दुवै पक्षकाले पछि हट्न नमानेपछि अधिवेशन नै स्थगितसमेत गर्नुपरेको नेताहरुले समेत बताएका छन् ।

नेताहरुले भने– हामीबीचमा समस्या छैन

पालिकाहरुको अधिवेशनमा उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बाह्रविसे पुगेका थिए । त्यहाँ उनले विगतमा जे भएपनि अहिले एमाले एकताबद्ध भएको बताए । ‘हामीबीचमा समस्या छैन, अब एमाले एकताबद्ध भएर अघि बढेको छ’, नेता पाण्डेले भने ।

त्यसैगरी एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा बलेफी र सुनकोशी गाउँपालिकाको अधिवेशनमा पुगेका थिए । बोहराले पनि विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल बाह्रविसे र सुनकोशीको कार्यक्रममा सहभागी भएका थिए भने अर्का नेता सरेश नेपाल पनि बलेफी र सुनकोशीको कार्यक्रममा सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर