नयाँ किर्तिमान सहित नासिर बिश्व च्याम्पियनसिप छनौटमा – Nepal Press

नयाँ किर्तिमान सहित नासिर बिश्व च्याम्पियनसिप छनौटमा

काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमान सहित अवुधावीमा आयोजना हुने १५ औं फिना बिश्व च्याम्पियनसिप २०२१ का लागि छनौट भएका छन् ।

नेपाल पौडी संघले आईतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ बिश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।

यस अघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर शाहको नाममा २ मिनट ००.०४ सेकेण्डको किर्तिमान रहेको थियो । शाहले उक्त किर्तिमान २ बर्ष अघि काठमाडौंमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पियकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका सिंहलाई उच्च शिक्षा अध्ययनका लागि बिदेशमा रहेकोले उनीहरुको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाईरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई बिश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भए । तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

दुई महिला तर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले बिश्व च्याम्पियनसिपको लागि छनौट भए । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।

सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय किर्तिमान कायम गरे । उनले निर्धारित दूरी ५९.१० सेकेण्डमा पुरा गरेका थिए । यस अघि उक्त दूरीको किर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त किर्तिमान नेपालगञ्जमा आयोजना भएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर