आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै – Nepal Press

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडाैं । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भाेलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हाे ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइने छ । पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन् ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर