वीरका सीईओ बस्नेतलाई असफल बनाउन बाहिर-बाहिरै मेडिकल सप्लायरसँग कर्मचारीको डिल – Nepal Press

वीरका सीईओ बस्नेतलाई असफल बनाउन बाहिर-बाहिरै मेडिकल सप्लायरसँग कर्मचारीको डिल

काठमाडौं । वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको भूमिका पाएपछि सुधारको प्रयास भइरहेका बेला उपकरण खरिदलगायतका टेण्डर प्रक्रियामा चलखेल सुरू भएको छ ।

यसअघि वीर अस्पतालको निर्देशकका रूपमा सफल कार्यकाल पूरा गरेका बस्नेत डा. जागेश्वर गौतमलाई सरकारले सरुवा गरेपछि युनिफाइड अस्पतालको समेत प्रमुखका रूपमा कमब्याक भएका छन् ।

बस्नेत आएर सुधारको प्रयास थालेपछि खरिद एकाइ, जनरल स्टोर, सामाजिक एकाइमा लामो समयदेखि बसेर आर्थिक चलेखल गर्दै आएका कर्मचारीहरूले बाहिर बाहिरै व्यवसायीसँग डिल गर्न थालेपछि बस्नेतमाथि समेत प्रश्न उठेको छ ।

जागेश्वर गौतमनिकट मानिने कर्मचारीहरूले सप्लायरहरूसँगै बाहिर डिल गरेर मेडिकल सामग्री खरिद, विभिन्न सामान ठेक्का र कर्मचारी भर्नामा समेत मिलेमतो गरेको आरोप लागेको छ ।

उपकरण खरिदमा मेडिकल स्टोरका टिकाराम पनेरु र जनरल स्टोर का केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहराको अश्वभाविक चलखेलबारे बस्नेतलाई समेत केही कर्मचारीले जानकारी दिए पनि उनले एक्सन भने लिएका छैनन् ।

बिनाटेण्डर कोटेसनबाट सामान गरिद गरेर बस्नेतलाई विवादमा तान्न खोजिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूले लामो समयदेखि सेटिङमा रहेका सप्लायर र व्यापारीहरूलाई भुपेन्द्रकै नाममा सामानका दररेट मिलाएर ल्याउन भनिसकेका छन् ।

लेखा प्रमुख बोहोर र अहेब पनेरुले बाहिर बाहिरै व्यापारीसँग डिल गर्दै स्वास्थ्य मन्त्रालय समेत आफूहरूले मिलाउने भनेपछि बस्नेतमाथि कर्मचारीहरूले दबाब बढाएका छन् । उनीहरूमाथि अस्पतालका सबै शाखा,विभागका स्टो आफूहरु मातहत हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएको आरोप समेत छ ।

विगत पनि लेखा शाखा प्रमुख बोहरा र डा. जागेश्वरको मिलेमतोमा म्याक्सिक लाई २४ करोडको टेण्डर दिएको विषय विवादमा परेको थियो । अस्पताल कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल स्टोरमाथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारी रमाना लगायतका माग राखेर स्वास्थ्य मन्त्री र सचिवलाई निवेदन दिन लागेको बताइएको छ ।

पछिल्लो समय अस्पतालमा बस्नेतले सुधारका प्रयास भने गरेका छन् । उनी आएपछि अस्पतालमा पूर्णरूपमा संचालनमा रहेको छ भने दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ ।

यसका साथै २४सै घन्टा पीसीआर हुँदै आएको र टिकट काट्ने व्यवस्था सहज भएको छ । कोभिड अस्पतालमा अहिले दैकिन २ सय विरामीको उपचार भइरहेको छ । त्यस्तै ५ सय शय्याको सर्जिकल अस्पताल पनि पूर्णरूपमा सञ्चालनको तयारी भइरहेको छ ।

बस्नेत आएपछि कर्मचारीले नपाएको कोभिड भत्ता,औषधी खरिद खर्च, समयमै तलब र सेवा विस्तार भत्तासमेत पाएका छन् । तर, उनलाई नै निरीह बनेर मेडिकल सामाग्री खरिदमा चलखेल हुन थालेपछि बस्नेतको ध्यानाकर्षण गराइएको एक कर्मचारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर