प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार – Nepal Press

प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार

काठमाडौं । नेकपा एमालेमा असन्तुष्ट रहेका नेता प्रभु साहलाई नेकपा माओवादी केन्द्रमै फर्काउन प्रचण्ड सक्रिय भएका छन् । साहले एमालेमा ८ बुँदे फरक मत राख्दै पछिल्लो समय विधान महाधिवेशन समेत बहिष्कार गरेका छन् ।

साह एमालेका बैठकहरूमा पनि सहभागी छैनन् । आइटी आर्मीको ब्यानरमा रौतहटमा विभिन्न कार्यक्रम र किसानका समस्या उजागर गरिरहेका प्रभु साहसँग एमाले नेताहरूले गरेको वार्ता असफल भएको छ ।

साहले नेकपा एकताको निरन्तरता भनेरमात्र मात्र नपुग्ने भन्दै व्यवहारमा पनि सोही अनुसारको विचार र संगठन हुनुपर्ने माग एमालेमा राखेका छन् । उनले जबजको साटो जनताको जनवाद भन्नुपर्ने र तत्कालीन माओवादीका नेताहरूलाई सोही बमोजिमको पद दिनुपर्नेलगायका माग राखेका छन् ।

प्रदेश २ मा प्रभाव रहेका साहले आफूनिकट २१ जना प्रदेश कमिटी सदस्यलाई सामूहिक राजीनामा गराइसकेका छन् । तर, ज्वालाकुमारी साह, रामचन्द्र मण्डललगायतका नेताहरू भने अब प्रभु साहसँग छैनन् । उनीहरू एमालेमै क्रियाशील छन् । ज्वाला साह विधान महाधिवेशनमा प्रदेश २ बाट टोली नेता थिइन् ।

साहले अलग पार्टी खोल्ने कि माओवादीमा फर्किने भन्नेबारे निर्णय गरि नसकेको तर वार्तामा रहेको उनीनिकट स्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा केही ठूलै नेता पार्टीमा फर्किन लागेको भन्दै नाम नखुलाउने बताएका थिए ।

प्रचण्डको संकेत प्रभु साहतर्फ रहेको बताइन्छ । प्रभु साह र गौरीशंकर चौधरीलाई फर्काउन सकिने रिपोर्टिङ भएपछि प्रचण्डले पनि छलफल चलाउन खोजेको निकट स्रोतले जनाएको छ ।

एमालेको विधान महाधिवेशनमा ६ सय भन्दा बढी पूर्वमाओवादीहरू सहभागी हुँदा प्रभु साहको समूह भने सहभागी भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर