खुला इन्डो-प्यासिफिक बनाउन चीनलाई दबाब दिने क्वाड बैठकको निर्णय – Nepal Press

खुला इन्डो-प्यासिफिक बनाउन चीनलाई दबाब दिने क्वाड बैठकको निर्णय

छिमेकीलाई खोप प्राथमिकतामा राखिएको मोदीको जानकारी

वासिङ्टन । अमेरिका, जापान, भारत र अष्ट्रेलियाका नेताहरुले कुनै दबाब र कठिनाइबिनै हिन्द प्रशान्त क्षेत्रलाई खुला राख्न जोड दिने प्रतिबद्धता जनाएका छन् ।

पहिलोपटक भौतिकरुपमै उपस्थित भएर क्वाड भनिने यो संगठनका चार सदस्य मुलुकका नेताहरुले हिन्द-प्रशान्त क्षेत्रालाई खुला राख्न चीनलाई दबाब दिने निर्णय गरेका हुन् ।

राष्ट्रसंघीय महासभाको छेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड नेताहरुलाई ह्वाइट हाउसमा बैठकका लागि निम्तो दिएका थिए । बैैठकमा बाइडेनसहि जापानी प्रधानमन्त्री यासिहिदे सुगा, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागि थिए ।

चार लोकतान्त्रिक मुलुकको दुई घण्टा बसेको क्वाड बैठकलाई बेइजिङले भने नजिकबाट नियालिरहेको जनाएको छ । बेइजिङले यसअघि नै क्वाडलाई असफल भएको टिप्पणी गरिसकेको छ ।

‘हामी कानूनी शासन, उडान र परिवहनको स्वतन्त्रता, द्वन्द्वको शान्तिपूर्ण समाधान, लोकतान्त्रिक मूल्य र राज्यको सीमाको सम्मान चाहन्छौं’ बैठकपछि चार नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

निर्णय वरपर स्पष्टरुपमा बेइजिङ भएपनि लामो संयुक्त वक्तव्यमा चीनको नाम कतै पनि उल्लेख छैन । संयुक्त वक्तव्यमा हिन्द प्रशान्त क्षेत्रमा पटकपटक कानूनी शासनको प्रसंग उल्लेख गरिएको छ जहाँ चीनले आफ्नो प्रभुत्व जमाउन प्रयास गरिरहेको छ ।

यसैगरि, क्वाड नेताहरुले टापु राष्ट्रहरुको आर्थिक र वातावरणीय क्षेत्रलाई सघाउने प्रतिबद्धता पनि जनाएका छन् । साथै, आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर कूटनीतिक समाधान खोज्न उनीहरुले उत्तर कोरियालाई आग्रह समेत गरेका छन् । क्वाड नेताहरुले अक्टोबरदेखि पुनः सुरु हुने भारतको खोप आपूर्तिको स्वागत गर्दै विश्वव्यापी खोप वितरणलाई विस्तार गर्ने सहमति जनाएका छन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै जापानी प्रधानमन्त्री सुगाले क्वाड नेताहरुबीच खोपमा समन्वय, स्वच्छ ऊर्जा र अन्तरीक्ष तथा वर्षेनी सम्मेलन आयोजना गर्ने विषयमा सहमति भएको जनाए ।

बैठकमा भारतीय प्रधानमन्त्री मोदीले अक्टोबरदेखि कोभिड खोप आपूर्ति सुरु हुने जनाउँदै सुरुआतमा कोभ्याक्स र छिमेकी मुलुकलाई प्राथमिकतामा राखिएको जानकारी गराएका थिए । नेपालले समेत अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच ओकस गठबन्धन घोषणा भएको एक सातापछि क्वाड बैठक आयोजना भएको हो । यी दुबै गठबन्धनविरुद्ध चीन उभिएको छ ।

चीनले क्वाड गठबन्धनलाई शीतयुद्धकालिन मनस्थितीमा बनेको बताउँदै असफल भएको आरोप लगाएको छ । यसैसाता चिनियाँ विदेश मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता झाओ लिजानले क्वाड र ओकस गठबन्धनले इन्डो–प्यासिफिक क्षेत्रमा हतियारको होड सुरु हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर