विभूषणमा नाम आउँदा आयशाको खुशी: यो क्षणको लामो प्रतीक्षा गरेकी थिएँ ! – Nepal Press

विभूषणमा नाम आउँदा आयशाको खुशी: यो क्षणको लामो प्रतीक्षा गरेकी थिएँ !

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण विजेता तथा तेक्वान्दो खेलाडी आयशा शाक्यले संविधान दिवसको अवसरमा सरकारले जनसेवा श्रीबाट सम्मान गर्दा आफू ‘सरप्राइज्ड’ भएको बताएकी छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषित गर्ने गरेको छ ।

सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जितेकी आयशा नेपाली खेलकुदमा परिचित नाम हो । तर, वर्षेनी यसरी विभूषित गरिने भए पनि यसअघि उनको पालो आएको थिएन । यसैपाली पहिलो पटक विभूषित हुन पाउँदा आफू उत्साहित भएको नेपाल प्रेससँग प्रतिक्रिया दिइन् ।

‘पहिलो पटक जनसेवा श्रीबाट सम्मानित हुँदा म आफैँ सरप्राइज्ड छु । मैले समाचार हेरेकै थिइनँ,’ आयशाले नेपाल प्रेससँग भनिन्, ‘एक्कासी फोनमार्फत् बधाई आउँदा के भयो ? जस्तो भएको थियो । पछि समाचार हेरेर थाहा पाँए जनसेवा श्रीबाट विभुषित भएछु । एकदम उत्साहित छु ।’

यसअघि खेल क्षेत्रकै अन्य खेलाडीहरू विभूषित हुँदा खुशी लागेको बताउँदै यसपाली आफ्नै नाम पर्दा झनै उत्साहित भएको सुनाइन् ।

‘खुशी लागेको छ, यसअघि अगाडि अरू खेलाडीहरू विभुषित हुँदा हामिले पाएको थिएनौ । २–२ वटा मेडल ल्याउने ३ खेलाडी अझ ४ ओटा मेडल जित्ने गौरिका सिंह लगाएत कसैको नाम परेका थिएन’ उनले भनिन्, ‘अहिले परेको छ खुशी छु ।’

खेलाडीले पदक जित्नका लािग कठिन मेहेनत गर्छन् । र, त्यसको कदर सरकारले गरिदियो भने खेलाडीलाई अझै प्रेरणा मिल्ने आयशाको बुझाई छ ।
‘स्वर्ण पदक भनेको हामीले मिहिनेत गरेर पाएको हो । त्यसको छुट्टै महत्व हुन्छ र खेलाडीलाई मेडलमात्रै पाएर खुशी हुनेभन्दा पनि त्यसलाई सरकारले नै विभूषित गरिदिने हो भने त्यसले पक्कै पनि खेलाडीलाई अझै प्रेरित गर्छ,’ उनी भन्छिन् ।

कोरोना भाइरसको महामारीले पूर्ण रूपमा खेल गतिविधि सञ्चालन नहुँदा खेलाडी अब के हुन्छ भन्ने सोच्न थालेको र यस्तो सम्मानले प्रेरित गर्ने आयशाले बताइन् ।

‘त्यसमाथि कोरोना भाइरसका कारण सबै खेलहरू रोकिएको अवस्थामा खेलाडीले अब केत ? सोच्ने बेला भइरहेको थियो,’ उनले भनिन्, ‘बेला यो चाहिँ एउटा प्रेरणा भएको छ । मलाई धेरै पहिलादेखि यो क्षणको पर्खाइमा थिए । र यो पल महसुस गर्न ढिला भए पनि धेरै खुशी भएकी छु ।’

दुई सन्तानकी आमा आयशाले १३औं सागमा नेपाललाई दुई स्वर्ण दिलाएकी थिइन् । उनले तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण जित्दै आफ्ना दुई छोरालाई पदक समर्पित गरेकी थिइन् ।

विभूषित हुने खेलकर्मीहरू

जनसेवाश्री

– चतुरबहादुर चन्द – अध्यक्ष, नेपाल क्रिकेट संघ
– आयशा शाक्य – तेक्वान्दो खेलाडी
– क्वन योङ दाल – तेक्वान्दो प्रशिक्षक

– हिमाल अर्याल – पारा क्रिकेट र बास्केटबल खेलाडी
– केशव थापा – पारा टेबल टेनिस खेलाडी

– शेरबहादुर खड्का स्मृति प्रतिष्ठान – राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदान

नेपाल प्रताप आभूषण

– लक्ष्मण बहादुर ऐर – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक

सुकीर्ति पदक

– अनु अधिकारी – कराते खेलाडी
– दीपक थापा – ब्याडमिन्टन पुर्व खेलाडी तथा अम्पायर
– नर्वु लामा – तेक्वान्दो प्रशिक्षक
-उत्तम न्यौपाने – खेल सामग्री केल्मीका प्रबन्ध निर्देशक
– जुनी राई – उसु खेलाडी
– संगीता बस्याल – तेक्वान्दो खेलाडी
– लक्ष्मण तामाङ – कराते
– सोनी गुरुङ – ट्रायथलन खेलाडी
– विमला चौधरी – फुटबल खेलाडी
– प्रकाश केसी – पावर लिफ्टिङ खेलाडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *