कुख्यात अपराधी फूलहसन अन्सारी वीरगञ्जबाट पक्राउ – Nepal Press

कुख्यात अपराधी फूलहसन अन्सारी वीरगञ्जबाट पक्राउ

जनकपुरधाम । दुई वर्ष अगाडि पर्साको वीरगञ्ज महानगरपालिका–४ विर्ता बजार र वडा नम्बर ८ घण्टाघर नजिक बम विष्फोट घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह हुन् । पर्सा प्रहरीका अनुसार सिंहकै योजना बम विष्फोट गराइएको थियो । उनीसहितका एक समूहले बम पड्काएर त्रास फैलाई उद्योगी व्यापारीसँग रकम उठाउँदै आएका थिए ।

बम काण्डमा संलग्नहरु वीरगञ्ज महानगरपालिका २४ का इनुस अन्सारी, सोही ठाउका जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली र बिष्फोटक पदार्थ (सुतली बम)सहित पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गत मुद्दा चलाएको थियो ।

पर्सा जिल्ला अदालतबाट फैसला हुँदा पक्राउ परेका इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारीलाई जनही २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला भई कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेका छन् ।

सोही आपराधिक घटनाका मुख्य योजनाकार फूलहसन अन्सारी घटनापश्चात् फरार भएकाले मुद्दा मुल्तबी रहेको थियो । उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान बदलेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनी बेलाबखतमा भारतीय बजार रक्सौल आई बीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले केही दिनभित्रै वीरगञ्जमा अर्को विष्फोटको योजना बनाइरहेको प्रहरी दावी छ ।

बीरगन्ज महानगरपालिका २४ रामगढवास्थित घर आउँदै गरेको अवस्थामा उनलाई सोमबार पक्राउ गरी कानूनबमोजिम कारबाही अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

अन्सारी यसअघि नै हत्या अभियोग प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति हुन् । २०६५ मा वीरगन्जकै राजेश क्यालको हत्या गरी हत्यामा प्रयोग भएको हतियारसहित पक्राउ परेका उनलाई अदालतले जन्मकैद सजाय सुनाएको थियो । २०७४ दशैंको अवसरमा उनको बाँकी कैद अवधि मिनाहा भएपछि जेलबाट छुटेका थिए । पुनः आपराधिक क्रियाकलाप सुरु गरेपछि प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर