सभामुखसमक्ष एमालेका दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस् – Nepal Press

सभामुखसमक्ष एमालेका दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सर्त राखेको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका छन् ।

सभामुखसँग भट्टराईले कुन-कुन दललाई सर्वदलीय बैठकमा बोलाइएको छ भन्ने जिज्ञासा राखेका थिए । जवाफमा नेकपा एस पनि रहेको जानकारी पाएपछि विधिसम्मत तरिकाले दर्ता नभएको र आफूहरूले गैरसांसद भनेकाहरू सहभागी बैठकमा आउन नसक्ने बताएका थिए । भट्टराईले त्यसअघि सिंहदरबारमा भेटौं भन्दा सभामुखले आफू आज सिंहदरबार नआउने बताएका थिए ।

एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न भन्दै त्यसो भए बैठकमा आउने जानकारी दिएको छ । तर, सभामुखले निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेको भन्दै सूचना टाँस गर्न नसकिने जवाफ दिएको स्रोतले जनाएको छ ।

जवाफमा एमालेले भनेको छ, ‘तपाईको गैरकानूनी कार्य र पदमुक्तको सुचना नटाँसेका कारण आयोगबाट नेकपा एसले मान्यता पाएको हो । त्यसैले कि तपाई सूचना टाँस्नुस् कि मार्ग प्रशस्त गर्नुस् ।’

मार्ग प्रशस्त गर्नु भन्नुको अर्थ राजीनामा रहेको एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर