नेकपा (एस) को महासचिव – तुलाधरको पल्ला भारी, पाण्डेको प्राथमिकता मुख्यमन्त्री – Nepal Press

नेकपा (एस) को महासचिव – तुलाधरको पल्ला भारी, पाण्डेको प्राथमिकता मुख्यमन्त्री

काठमाडौं । माधव नेपालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेपछि धेरैलाई जिज्ञासा छ- एकीकृत समाजवादीलाई कसरी चलाउलान् ?

दोस्रो पुस्ताले साथ नदिएको नयाँ पार्टीमा को-कसलाई कहाँ राख्लान् ? त्यसमा पनि अध्यक्षपछिको प्रभावशाली पद महासचिवमा कसलाई अगाडि ल्याउलान् ?

पहिलो पुस्ता भनिने उनकै उमेर हाराहारीका तीन वरिष्ठ नेतामात्रै उनको साथमा छन् । झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल पाका नेताहरुमध्येमा पर्छन् ।

दोस्रो पुस्ताका प्रायः सबैले साथ नदिएकाले एमालेमा तेस्रो पुस्ता भनिएका नेताहरू नै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दोस्रो पुस्ताका भएका छन् ।

विधानमा २५ प्रतिशतभन्दा धेरै युवालाई पार्टी नेतृत्वमा स्थापित गर्ने विषय राख्नु र पार्टी विभाजन पनि युवाहरूको भरमा गर्नुले पार्टीको नेतृत्वमा तहमा उनले युवालाई प्राथमिकता दिन्छन् भन्न सकिन्छ ।

अध्यक्ष र वरिष्ठ नेताको टुंगो लागिसकेकाले मुख्य चासो महासचिवमा छ ।

को-को छन् आकांक्षी ?

एकीकृत समाजवादीले तयार पारेको अन्तरिम विधानमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

अहिले अध्यक्ष र वरिष्ठ नेताबाहेक सबै पदाधिकारी रिक्त छन् । चाँडै राष्ट्रिय भेला आयोजना गर्ने र त्यसलगत्तैको राष्ट्रिय प्रतिनिधि परिषद बैठकबाट पदाधिकारी टुंगो लगाउने योजनामा माधव नेपाल छन् ।

अन्य पदाधिकारीमा नखुलेका भए पनि महासचिवमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विरोध खतिवडा, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, रामकुमारी झाँकीलगायतले आकांक्षा व्यक्त गरेका छन् ।

स्रोतका अनुसार मुकुन्द न्यौपाने, बेदुराम, धर्मनाथ प्रसाद साहलगायतका नेताहरू उपाध्यक्षमा समेटिनेछन् । अन्य नेता मन्त्री र पदाधिकारीमा समेटिनेछन् ।

महासचिवमा राष्ट्रिय फिगरसमेत चाहिने भएकाले अहिले मुख्य गरी राजेन्द्र पाण्डे र गंगालाल तुलाधरमध्ये एकले महासचिवको जिम्मेवारी पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ ।

महासचिव चयनमा झलनाथ खनालको पनि सहमति लिनुपर्ने हुन्छ । खनालको रोजाइमा पाण्डे पर्न सक्छन् भने माधव नेपालको रोजाइमा तुलाधर ।

को बनाउलान् महासचिव ?

माधव नेपालले महासचिव कसलाई बनाउने भनेर आन्तरिक छलफल गरिरहेका छन् । महासचिव सक्रिय र संगठन बुझेको तथा प्रभावकारी फिगर हुनुपर्ने भएकाले निर्णय गर्न सकसपूर्ण छ ।

केन्द्रीयदेखि तल्लोतहसम्मका एकीकृत समाजवादीका नेताहरूसँग नेपाल प्रेसले संवाद गरेपछिको निष्कर्ष माधव नेपालले महासचिवमा गंगालाल तुलाधरलाई अगाडि बढाउँछन् भन्ने हो । उनीहरूकै अनुसार त्यसका केही करण छन् ।

पहिलो- माधव नेपाल पार्टीको मुख्य पदाधिकारीमा जातीय, क्षेत्रीय दृष्टिकोणबाट समेत सन्तुलित हुने गरी नेतृत्व चयन गर्न चाहन्छन् । त्यसका लागि नेवार समुदायका तुलाधर उपयुक्त पात्र हुन् ।

दोस्रो- बेदुराम भुसाललाई उपाध्यक्ष, राजेन्द्र पाण्डेलाई पनि उपाध्यक्ष वागमती प्रदेशको मुख्यमन्त्रीमा व्यवस्थापन गरेपछि तुलाधर अन्य आकांक्षीभन्दा वरिष्ठ नेता रहन्छन् । त्यस्तो अवस्थामा अकांक्षीमध्ये केहीलाई उपमहासचिव र केहीलाई सचिवमा व्यवस्थापन गरेर उनले सजिलैसँग तुलाधरलाई नै महासचिव अगाडि बढाउने छन् ।

तेस्रो- महासचिव संगठन विस्तारको पनि नेता हुने भएकाले ऊर्जाशील नेता त्यसमा चयन गर्नुपर्ने हुन्छ । त्यस्तै युवा नेतालाई पार्टीको मुख्य जिम्मेवारी दिएर नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्नुपर्ने दबाब पनि माधव नेपाललाई छ । यो समेतलाई दृष्टिगत गरी उनले तुलाधरलाई नै महासचिवमा अगाडि बढाउने अनुमान कतिपयको छ ।

संकेत

– गंगालाल पछिल्लो समय माधव नेपालका निकट सहयोगी हुन् । गएको प्रतिनिधिसभा चुनावमा माधव नेपालका चुनावी कमाण्डर उनै तुलाधर थिए ।

– ५ पुसको घटनापछि नेकपामा राजनीतिक विभाजन आई ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभक्त भएपछि नेकपाको केन्द्रीय कार्यालय सचिवमा नेता नेपालले तुलाधरलाई नै अगाडि सारेका थिए ।

– पछिल्लो समय एमालेमा आएको दरारमा तुलाधरले नै नेपाल पक्षको कार्यालय व्यवस्थापनसम्बन्धी अधिकांश काम सम्हाल्दै आएका थिए ।

– निर्वाचन आयोगबाट छुट्टै दलको मान्यता पाएको भोलिपल्ट १० भदौमा अधिकांश नेताहरूसहित अध्यक्ष नेपालले गरेको पहिलो पत्रकार सम्मेलनको संचालन पनि तुलाधरले नै गरेका थिए ।

तर, महासचिवमा राजेन्द्र पाण्डेको पनि सशक्त दावी छ । उनी नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेर झिनो मतले पराजित भएका थिए । अहिले एमालेमै रहेका दोस्रो तहका नेताहरूभन्दा पनि संसदीय राजनीतिमा पाण्डे प्रभावशाली नेता हुन् ।

पाण्डे र तुलाधर दुवैजना धादिङका हुन् । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् । पाण्डे २०४८ देखि निरन्तर धादिङबाट उम्मेदवार बनेर २०६४ मा बाहेक सधैँ निर्वाचित भएका छन् ।

तुलाधर २०४८, २०५१ मा निर्वाचित भएका थिए । २०५६ मा झिनो मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर