माओवादी केन्द्रले तोक्यो कर्णाली प्रदेश पदाधिकारीलाई नै जिल्ला ईन्चार्ज, असन्तुष्टि बढ्दो – Nepal Press

माओवादी केन्द्रले तोक्यो कर्णाली प्रदेश पदाधिकारीलाई नै जिल्ला ईन्चार्ज, असन्तुष्टि बढ्दो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादीले कर्णालीका दश जिल्लामध्ये नौ जिल्लाको ईन्चार्ज टुंगो लगाएको छ । माओवादीले डोल्पाबाहेक अन्य जिल्लामा ईन्चार्ज तोकेको छ । ईन्चार्ज तोकेका जिल्लामा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।

माओवादी केन्द्रले जाजरकोटमा कर्णाली प्रदेश सचिवको जिम्मा पाएका रामदीप आचार्यलाई नै ईन्चार्ज तोकेको छ । कालिकोटमा पनि प्रदेश सह-ईन्चार्जको भूमिका पाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ईन्चार्ज तोकिएको छ । सल्यानमा प्रदेश सहईन्चार्जको जिम्मा दिइएका टेकबहादुर बस्नेतलाई नै ईन्चार्ज तोकिएको छ ।

माओवादीले प्रदेश पदाधिकारीहरु, जिल्ला ईन्चार्जहरु टुंगो लगाएसँगै सुर्खेतमा भने असन्तुष्टि बढेको हो । माओवादी केन्द्रले सुर्खेतमा संविधानसभा सदस्य नरबहादुर विष्टलाई ईन्चार्ज बनाएको छ भने दैलेखमा कर्णबहादुर बस्नेतलाई ईन्चार्जको जिम्मा दिएको छ ।

जुम्लामा गजेन्द्रबहादुर महत, मुगुमा मंगल शाही, हुम्लामा विजय भण्डारीलाई जिम्मा दिइएको छ भने रुकुम पीश्चममा वसन्त शर्मालाई जिम्मेवारी दिइएको हो । नौ जिल्ला इन्चार्जमा शर्मा, शाही र बस्नेतलाई नयाँ जिम्मेवारी दिइएको हो भने बाँकी सबै पुरानै अनुहारका रहेका छन् ।

सल्यानको ईन्चार्ज तथा प्रदेश सहइन्चार्जको भूमिका पाएका टेकबहादुर बस्नेतले आफूलाई जिम्मेवारी अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै छलफलबिनाको रहस्यमय गठबन्धनको यो जिम्मेवारी आफूलाई अस्वीकार्य भएको बताएका छन् ।

यता, सुर्खेतमा पनि नेकपा माओवादी केन्द्रमा विवाद चुलिएको छ । कतिपयले सामाजिक सञ्जालमै नेतृत्वको चर्को आलोचना गरेका छन् भने कतिपयले मनलाग्दी नेतृत्व चयन गर्ने पार्टीको नीतिकै कारण पार्टीको अवस्था दयनीय बन्न पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर