सभामुखविरुद्ध धम्की दिएको भन्दै ओलीप्रति सत्ता गठबन्धनको आक्रोश (भिडियो) – Nepal Press

सभामुखविरुद्ध धम्की दिएको भन्दै ओलीप्रति सत्ता गठबन्धनको आक्रोश (भिडियो)

काठमाडौं । सत्तारुढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धम्की दिएको आरोप लगाएको छ ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संयुक्त विज्ञप्ति निकालेर संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रहसमेत गरेका छन् ।

‘नेकपा एमालेका माननीय सदस्यहरूले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरूमा दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठको हस्ताक्षर रहेको छ । श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) आवद्ध हुन् ।
विज्ञप्तिमा नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षकसमेत रहेको जनाइएकोछ । ‘सम्माननीय सभामुखज्यूविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादा अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।

एमालेका १४ जना सांसदहरूलाई कारवाही गर्ने सन्दर्भमा सभामुखले ढिला गरेको भन्दै एमाले सांसदहरूले सभामुखको कार्यकक्ष घेराउ गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकामाथि टिप्पणी गरेका थिए । विज्ञप्ति जारी गर्नुअघि सत्तारुढ दल आवद्ध सांसदहरूको बैठक सिंहदरबारमा बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *