अझै दुई साता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने – Nepal Press

अझै दुई साता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

काठमाडौं । अझै दुई सातासम्म काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । नुवाकोटको सिसडोल फोहोर फाल्ने ल्यान्डफिल साइट पुग्ने सडकखण्ड बिग्रिएकाले फोहोर उठ्न नसकेको महानगरले जनाएको छ ।

समयमा नै फोहोर संकलन गर्न गाडी नआए पछि स्थानियहरुले सडकका किनारमा फोहोर फाल्न थालेका छन् । बिग्रेको सडक मर्मत गरेर नियमित फोहोर उठ्न कम्तीमा १५ दिन लाग्ने महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

यस वर्ष जेठयता नियमित फोहोर संकलनको व्यवस्थापन भइरहेको छैन । शंखमूल, बानेश्वर, सामाखुसी, ठमेललगायत काठमाडौंको मुख्य मुख्य स्थानमा फोहोरको डंगुर देखिएका छन् । पानी पर्ने मौसम र कोभिड–१९को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा राजधानीको मुख्य सहरमा यसरी फोहोरको दुर्गन्ध जताततै फैलिरहेको छ ।

महानगरले सूचना जारी गर्दै नागरिकलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ । ‘ल्यान्डफिल साइटको सडक केही दिनदेखिको अविरल वर्षाका कारण बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकाले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरको सूचनामा भनिएको छ ।

उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हन्छ तर अहिले दिनमा ५ सय मेट्रिक टन फोहोर उठिरहेको छ । श्रेष्ठले भने, ‘दिनमा १ सय ५० गाडी फोहोर सिसडोल पुग्नुपर्ने वर्षाका कारण अहिले मुस्किलले ५० गाडी फोहोर मात्र पुगेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *