कर्णालीमा एमाले र माओवादीबीच अंश विवाद, नेकपाकालीन सम्पत्तिमा दुवैको दावी – Nepal Press

कर्णालीमा एमाले र माओवादीबीच अंश विवाद, नेकपाकालीन सम्पत्तिमा दुवैको दावी

सुर्खेत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचमा एकता भइसकेपछि बनेको नेकपा सर्वोच्च अदालतको आदेश पश्चात पूर्ववत अवस्थामा फर्किएपछि कार्यालयका सम्पत्तिमा विवाद देखिन शुरु भएको छ ।

नेकपा कर्णाली प्रदेश कमिटीको लागि भन्दै सुर्खेतमा माओवादी केन्द्रको कार्यालय प्रयोग भइरहेको थियो भने एमालेको जिल्ला कार्यालय जिल्ला कमिटीका लागि भन्दै प्रयोग भइरहेको थियो ।

सर्वोच्चको फैसलाका कारण एमालेले आफूले खरिद गरेको सामान पाउनुपर्ने अडान राखेको स्रोतले बताएको छ ।

‘तत्कालीन एमालेसँग साढे तीन लाख नगद थियो । सभामुख, सरकारका मन्त्रीहरुसँगको सहकार्यमा एमालेले दश लाख बराबरको सामान कार्यालयमा जोडेको थियो,’ स्रोत भन्छ, ‘इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कंडेल, पार्टी अध्यक्ष गोरख बोगटी र सचिव मायाप्रसाद शर्माको क्याविन बनाइएको थियो । उक्त क्याविनमा सोफा सेट, कुर्सी, टेवल, पार्टीसिफेसन आदि काम भएको थियो ।’

तर पछिल्लो समयमा एमालेले आफ्–आफ्ना कार्यालय रहेका कोठाका सामान आफै प्रयोग गरौं भन्दा माओवादी केन्द्रले भने मानिरहेको छैन ।

‘हामीले चार कार्यकक्ष मध्येका दुई कार्यकक्ष माओवादी केन्द्र तथा दुई कार्यकक्ष एमालेका रहेका थिए । ती सामान आफैं प्रयोग गरौं भनेर प्रस्ताव राखेको हो,’ एमाले अध्यक्ष वोगटीले भने, ‘आधा आधा गरेको खण्डमा बराबर हुने भएका कारण यस्तो प्रस्ताव राखिएको हो । उहाँहरुले यसमा फरक मत राखिरहनु भएको छ ।’

उनले आफूहरुले कार्यालय बनाउँदा हल मात्रै भएको र त्यसमा ठूलो लगानी गरिएको बताउँदै, एमाले प्रदेश कमिटिको कार्यालयका लागि तत्काल सामान आवश्यक परेकोले उक्त प्रस्ताव राखेको जानकारी दिए ।

यता, तत्कालीन पार्टी सचिव शर्माले भने आफू अहिले काठमाडोंमा रहेको बताउँदै केहि दिनमा सहमति मै उक्त कुरा टुंग्याउन तयार रहेको बताए ।

‘पार्टी एउटा भइसकेपछि जिल्ला र प्रदेश कमिटीमा कार्यालयहरु राखिएको हो । सिँगै पार्टी भएको समयमा कार्यालय व्यवस्थापन गरेका हौं,’ शर्माले भने, ‘यो समस्याको बारेमा हामी सल्लाह गर्ने, छलफल गर्ने गरी अघि बढछौं । हामीले मन दुखाउन आवश्यक छैन । पार्टी विभाजन होला भनेर सामान बनाएको होइन । सल्लाह गरेर लिँदा हुन्छ । चित्त बुझ्ने गरी मिलाउँला । उहाँका कागजपत्र उहाँहरु लिनुहुन्छ त्यसमा समस्या छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर