इजरायल रोजगारीका लागि १२ दिनमै करिव २० हजारको आवेदन – Nepal Press

इजरायल रोजगारीका लागि १२ दिनमै करिव २० हजारको आवेदन

काठमाडौं । सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्राप्त आवेदनमध्ये तीन हजार आठ सय जनाले कागजपत्र पुर्‍याएको विभागको इजरायल शाखाका प्रमुख उपसचिव डम्बर सुनुवारले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवेदन दिनेमा एक हजार ६ सय ५१ जना महिला र दुई हजार एक सय ६१ जना पुरुष रहेका छन् ।

एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएकोमा १२ दिनको अवधिमा चार गुणा बढी आवेदन परेको विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले बताए । उनका अनुसार रोजगारीमा जान चाहनेले विभागको बेवसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । दुवै देशका सरकार-सरकार अर्थात जिटुजीमार्फत कामदार पठाउन भएको सम्झौताअनुसार आवेदन खुला गरिएको हो ।

विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक करिब एक लाख ९३ हजार रुपैयाँ हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।

आवेदन दिएकामध्येबाट छनौट भइसकेपछि इजरायलमा ३० प्रतिशत अर्थात् तीन सय जना पुरुष र ७० प्रतिशत अर्थात् सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् । इजरायल सरकारले पहिलो चरणमा केयर गिभर क्षेत्रमा मात्र नेपाली कामदार लिन खोजेको हो । यसपछि क्रमश कृषि, होटल, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा पनि इजरायल सरकारले नेपालीलाई रोजगारीको अवसर दिने जनाइएको छ ।

यसअघि आकर्षक सेवा-सुविधासहित मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथी अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि जान रोक लगाइएको थियो । नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी झण्डै ११ वर्षपछि खुलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर