आश्रितलाई बाँचेकाहरुको ‘बर्थडे गिफ्ट’- जिउँदा जीवराज वृत्तचित्र र कालजयी संग्रहालय (तस्वीरहरु) – Nepal Press

आश्रितलाई बाँचेकाहरुको ‘बर्थडे गिफ्ट’- जिउँदा जीवराज वृत्तचित्र र कालजयी संग्रहालय (तस्वीरहरु)

रुपन्देही । मदन आश्रित स्मृति दिवसका दिनमात्र सम्झिइने जीवराज आश्रित अब बुटवलमा सधैं जीवित रहनेछन् वृत्तचित्र र संग्रहालय भित्र । जीवराज आश्रितका लागि बाँचेका एमालेहरुले दिएको यो ‘बर्थ डे गिफ्ट’ हो ।

आज जीवराज आश्रितको ७८ औं जन्मदिन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगै संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ ०५० मा चितवनका दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।

जीवनको अन्तिम समयसम्म पनि पार्टीको जिम्मेवारीलाई संगसंगै पूरा गर्दै आएका मदन आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा परी मृत्युवरण भयो । वि.सं २००१ साउन १८ गते आमा चन्द्रकला र बुवा प्रेमराज शर्माका जेठो सन्तानको रुपमा गुल्मी जिल्लाको हरेवा रिठारुखमा जन्मिएका आश्रित विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए ।

गुल्मीबाट २०२० सालमा रुपन्देहीको हसनापुरमा बसाई सरेका आश्रितले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । आश्रितले वि.सं २०२६ देखि २०२८ सम्म जेल जीवन बिताएका थिए ।

२०२८ सालदेखि भूमिगत भएका आश्रित २०४७ साल बैशाख १३ गते सार्वजनिक भएका थिए । भूमिगतकालमै २०२८ सालमा लुम्बिनी अञ्चल पार्टी व्यूरो सदस्य, २०३० सालमा अर्घाखाँची जिल्ला इन्चार्ज भएका आश्रित २०४९ सालको पाँचौं महाधिवेशनबाट एमाले पोलिटव्यूरो सदस्य र संगठन विभाग प्रमुख बनेका थिए ।

मदन–आश्रितको मृत्यु भएको २५ वर्षको अवधिमा उनीहरुका योगदानलाई ताजा र स्मरणीय बनाउन देशका विभिन्न स्थानमा प्रतिष्ठान, संग्राहलय र स्मृति भवनहरु बनाइएको छ ।

तर महासचिवसँगै ज्यान गुमाएका आश्रितको योगदानलाई ओझेलमा पारिएको गुनासो बढ्दै गएको बेला बुटवलमा आश्रितको जीवनलाई स्मरण गर्न आश्रित स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।

गुल्मीको हरेवा गाविसमा जन्मिएर रुपन्देहीबाट राजनीतिक यात्रा शुरु गरेका आश्रितका विचार र योगदानलाई स्मरण गराई राख्न बुटवलमा सक्रिय एमाले कार्यकर्ता र उनका शुभेच्छुकहरुले आश्रित प्रतिष्ठान स्थापना गरेका हुन् ।

प्रतिष्ठानले उनको अनुभव, योगदानलाई नयाँ पुस्तामा परिचित बनाउन विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । राजनीतिमा उनका समकालीनहरुले आश्रितसंगको सहकार्यलाई स्मरणीय बनाउन योगदान गरेका छन् यो प्रतिष्ठानमार्फत ।

प्रतिष्ठानले बुटवलको हिलपार्क गेट नजिकै उनैको नाममा चार तले घर बनाएको छ । यही भवनमा आश्रितको ७५ औं जन्मजयन्तीको अवसर पारेर एकवर्ष अगाडि संग्रहालय सञ्चालनमा ल्याएको छ । जहाँ आश्रितको जीवनी झल्कन्छ । संग्रहालयमा आश्रितले प्रयोग गरेका सामग्रीहरु सजाएर राखिएका छन् । यसले उनका समकालीनलाई त उनको झल्को मेटाउँछ नै उनको इतिहास पढ्नेलाई पनि सचित्र वर्णन गरेको छ ।

संग्राहलयमा उनको दुर्घटना भएको त्रिशुलीबाट निकालिएको पार्थिव शरीरको गोजीमा फेला परेका एउटा एकहजार र तिनवटा एकएक सय गरी १ हजार ३ सय रुपैयाँ सजाइएको छ । उनले प्रयोग गरेका ढाकाको टोपी, कोट, पाइन्ट, स्वीटर, सर्ट, ज्याकेट, मफलर संग्राहलयमा सजाइएर राखिएको छ ।

संग्राहलयमा राखेको हालका एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भूमिगतकालमा आश्रितलाई उपहार दिएको रेडियो पनि राखिएको छ । यो सँगै घडी, धागोबाट बुनिएको झोला, टिनको बाकसमा उनले पढेका पुस्तक र संगै राखिएको आश्रितको तस्वीरले उनलाई भेटेका जो कोहीलाई पनि स्मरण गराउँछ ।

भूमिगतकालमा आश्रितले लेखेका दस्तावेज र चिठीपत्रसमेत राखिएको संग्राहलयमा राखिएको नागरिकता, पासपोर्ट र जीवनी तथा राजनीतिक यात्राका क्रममा खिचिएका तस्वीर, दासढुंगामा दुर्घटनामा परेको जिप, त्रिशुलीमा भेटिएको क्षतविक्षत शव, शवयात्रा र दाहसंस्कारको लागि राखिएका शवको तस्वीरले त्यहाँ पुग्ने जो कोहीलाई भावह्वीहल बनाउँछ ।

आश्रितको जीवनीमा आधारित शालिकले उनी संग्रहालयमै जीवित रहेकोजस्तो देखिन्छ । आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे हराउन थालेका जीवराजलाई चिनाउन र बुझाउन संग्रहालय बनाइएको बताउंछन् । आश्रितको बारेमा जान्न र बुझ्न चाहने जो कोहीलाई पनि संग्रहालय पाठशाला बनेको छ ।

संग्रहालयलाई प्रभावकारी देखाउन पहाडी क्षेत्रमा दैनिक प्रयोग गरिने डोको, सोली, गुन्द्री, गुन्द्री बुन्ने हतासो, ढिकी, हलो जुवा, ढकीया लगायतका दर्जनौं सामग्रीहरु राखिएका छन् ।

आश्रितसंग सम्बन्धित सामग्रीसँगै मानव विकास क्रम, पर्यटकीयस्थल, नेपाली समाजको विविध जातजातिका भेषभुषा, कला संस्कृति र परम्परासंग सम्बन्धित सामग्रीहरु पनि संग्रहालयमा सजाइएकाले यसलाई थप ओझिलो बनाएको छ ।

बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर संग्रहालय निर्माण गरिएको हो ।

२०३२ सालमा माया ज्ञवालीसँग वैवाहिक जीवनमा जोडिएका आश्रितका छोरा डा. सागर न्यौपाने र छोरी उषा न्यौपाने छन् । छोरा सागर अहिले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पेट तथा कलेजो रोग विशेषज्ञका रुपमा काम गरिरहेका छन् ।

प्रतिष्ठानले आश्रितको जीवनीलाई समेटेर आज उनकै जन्मदिनमा जिउँदा जीवराज नामक वृतचित्र सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर