मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ – Nepal Press

मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको कसरत चलिरहेका बेला एमालेको माधव नेपाल पक्ष सरकारमा जानेबारे अनिर्णित बनेको छ ।

एमाले विभाजन नभइ सरकारमा जाँदा केपी ओलीले सांसद पद खाइदिने भन्दै माधव नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान भनेका थिए ।

यसबीचमा माधव नेपाल पक्षका चार-पाँच जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी हुने चाहना व्यक्त गरेको माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका छन् । आइतबारको बैठकमा प्रचण्डले माधव नेपाल तत्कालै सरकारमा जाने अवस्थामा नरहेको भन्दै नेपालनिकट सांसदहरू भने व्यक्तिगतरूपमा मन्त्री बन्न खोजिरहेका बताएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘एमालेका चार-पाँच जना सांसदले प्रधानमन्त्रीलाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेछन् । तर, प्रधानमन्त्रीले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काएछन् । माधव समूह नै सहभागी नभई व्यक्तिलाई बनाउन हुन्न भन्ने मेरो पनि मत हो । तर, माधवजी अप्ठेरोमा छन् ।’

माधव नेपालसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । २२ सांसदको पछिल्लो भेलामा पनि सरकारमा जान नेपालमाथि दबाब परेको थियो । तर नेपालले भने निर्णय गर्न सकेका छैनन् ।

माधव नेपाल पक्ष सरकारमा नजाँदा देउवा सरकार अल्पमतमा पर्ने र सरकार ढल्ने भएकाले आफूले बनाएको सरकारमा जानुपर्ने तर्क नेपाल पक्षधर सांसदहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *