भारतमा कोभिड संक्रमण पुनः उकालो, प्रधानमन्त्री मोदीले गरे राज्यका मुख्यमन्त्रीसँग छलफल – Nepal Press

भारतमा कोभिड संक्रमण पुनः उकालो, प्रधानमन्त्री मोदीले गरे राज्यका मुख्यमन्त्रीसँग छलफल

दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो ।

सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १।३१ प्रतिशत मात्रै हो । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।

यसैबीच, पुनः कोरोना संक्रमणमा वृद्धि हुन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य प्रमुखहरुसँग छलफल थालेका छन् । तेस्रो लहर रोकथामका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न उनले भनेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले केही महीनामै तेस्रो लहर आउन सक्ने बताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर