कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै – Nepal Press

कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै

काठमाडौं । मुलुकको कानूनले युवाको परिभाषाभित्र ४० वर्षसम्म उमेर समूहलाई मान्छ । तर, नेपाली कांग्रेसभित्र ‘युवा नेता’ को हुन् भन्नेमै द्विधा छ । उमेरका हिसाबले युवाबारे बनाइने दृष्टिकोण कांग्रेसमा लागू हुँदैन । कांग्रेसको मूल नेतृत्वमा रहेकालाई पहिलो पुस्ता मान्ने हो भने त्यहाँ ७६-७८ वर्ष उमेर समूह हावी छ ।

सभापति शेरबहादुर देउवा ७६ औं वर्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ औं वर्षमा छन् । १४ औं महाधिवेशनले ५ वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्छ । पहिलो पुस्ताबाटै नेतृत्व निरन्तर रहेमा कांग्रेसमा ८० काटेका नेताहरूले हाँक्ने निश्चित छ ।

कांग्रेसमा दोस्रो पुस्ता भनिनेहरू अहिले पार्टीको पदाधिकारी तहमा छन् । केही पूर्वपदाधिकारी पनि छन् । उनीहरूमध्ये केहीले आसन्न महाधिवेशनमा सभापति पदको दावेदारी प्रस्तुत गरेका छन् । सभापतिमा चर्चा भएकामध्ये उपसभापति विमलेन्द्र निधि ६४, महामन्त्री डा. शशांक कोइराला ६२, प्रकाशमान सिंह ६५, डा. शेखर कोइराला ७० र गोपालमान श्रेष्ठ ७३ वर्ष भइसकेका छन् ।

सभापतिमा दावी गर्नेमध्ये सबैभन्दा कान्छा कल्याण गुरुङ हुन्, उनी ५० वर्षका भए । कांग्रेसवृत्तमा युवा नेता भनेर चिनिएका अनुहारहरू उमेरका आधारमा युवाको परिभाषाभन्दा पार भइसकेका छन् । राजनीतिमा उमेरलाई कति प्राथमिकता दिने ? भन्ने विषय आफैंमा विवादित छ यद्यपि कांग्रेसवृत्तमा उमेरका आधारमा ४० देखि ५५ वर्षसम्मका नेताहरुले ‘तेस्रो पुस्ता’को प्रतिनिधित्व गर्छन् ।

गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, डिला संग्रौला, सरिता प्रसाई, किरण यादव, सीता गुरुङ, सुजाता परियार , लक्ष्मी परियारलगायतका नेताहरू यही समूहमा पर्छन् ।

युवाहरूको गफै धेरै

कांग्रेसवृत्तमा युवा नेताहरु ‘गफ धेरै गर्छन्’ भन्ने चर्चा हुनेगर्छ । खासगरी पार्टीभित्र गुटको फेरो समातेर पदमा पुग्ने र आफू अनुकुल नभए ‘परिवर्तन र पुस्तान्तरण’ को हाँक दिने प्रवृत्ति कांग्रेसका युवा भनिने नेतामा देखिन्छ । युवा नेताहरूकै जोडबलमा कांग्रेसमा उल्लेखनीय निर्णय भएको उदाहरण भेटिँदैन । केन्द्रीय समितिमा अधिकांश ‘युवा भनिने’ नेता भए पनि निर्णयमा ‘बुढाहरू’ नै हावी छन् । केन्द्रीय समितिमा पर्याप्त छलफलअघि नै गुटगत आधारमा शीर्ष भनिने ‘बुढा नेताहरू’ को छलफल हुने गर्छ । सो छलफलमा भएको निर्णयमै केन्द्रीय समितिमा ताली बजाइन्छ । जसमा अधिकांश ताली ‘युवा भनिने’ नेताहरूकै हुन्छ ।

पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको विषयमा पनि ‘युवा भनिने’ नेताहरूको न चासो देखिन्छ न हस्तक्षेप । नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाट आएका सबैजसो नेताहरु नेविसंघको हालत खराब भइसक्दा पनि मौन छन् । नेविसंघलाई महाधिवेशन गर्नै नसक्ने र तदर्थको भरमा चलाउने अवस्था आउनुमा ‘युवा भनिने’ नेताहरूको मौन समर्थन नै निर्णायक छ ।

‘नेविसंघ र तरुण दललाई आजको हालतमा पुर्‍याउन युवा नेताहरू बढी जिम्मेवार छन् । भाषण चर्को गरेपनि पार्टीको निर्णय प्रक्रियामा युवा नेताहरूको केही चल्दैन । आफ्नो गुटको नेताले आदेश गरेपछि उहाँहरूको बोली फुट्दैन’, कांग्रेसका एक कार्यकर्ताको आक्रोश छ ।

गुटको हर्ताकर्ता नै ‘युवा भनिने’

पार्टीबाहिरका मञ्चमा नेतृत्व र पुस्तान्तरणको बहस गर्ने अधिकांश ‘युवा भनिने’ नेताहरु नै कांग्रेसभित्रका गुटका हर्ताकर्ता हुन् । सभापति शेरबहादुर देउवाको गुटमा महेन्द्र यादव, सुरेन्द्र पाण्डे, शंकर भण्डारी, मीन विश्वकर्मा , गोविन्द भट्टराई, विश्वप्रकाश शर्मालगायतका ‘युवा भनिने’ नेताहरू हावी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको गुटमा धनराज गुरुङ,बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, किरण यादव, सरिता प्रसाइँ लगायतका ‘युवा भनिने’ हरू हर्ताकर्ता छन् । तेस्रो धार भनिने कृष्ण सिटौला नेतृत्वको गुटका मुख्य खम्बा नै चर्चित युवा नेताहरू छन् । सो गुटको हर्ताकर्तामा गगन थापा र प्रदीप पौडेल रहेका छन् ।

पार्टीभित्रका आन्तरिक विवाद र विषयमा ‘युवा भनिने’ नेताहरूका बीचमा सहकार्य भएको पाइँदैन । बरु गुटगत पक्षपोषण र गुटको संरक्षणमा उनीहरुका बीचमा कडा प्रतिस्पर्धा छ । बेलाबखतमा युवा नेताका नाममा भेला वा समूहगत वक्तव्यबाजी भएपनि कांग्रेसभित्रको परिणाममा त्यस्ता प्रयत्नहरु सार्थक देखिएका छैनन् ।

आसन्न महाधिवेशनमा पनि ‘बुढा नेता’ कै फेरो समातेर दौडन ‘युवा भनिने’ नेताहरु सक्रिय छन् । सबैजसो ‘बुढा नेता’ को ‘किचन क्याबिनेट’ सक्रिय रहेका ती नेताहरुले आसन्न महाधिवेशनमा ‘नयाँ सन्देश’ दिनसक्ने सम्भावना कमै छ ।

अपवाद बन्लान् त कल्याण ?

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले १४ औं महाधिवेशनमा सभापति पदमा दावी गरेका छन् । यद्यपि अधिकांशले उनको उम्मेदवारी मैदानसम्मै कायम रहनेमा शंका गर्ने गरेका छन् । गुरुङ भने पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्ता हस्तान्तरण वा परिवर्तनको पक्षमा हुनेहरूले आफूलाई सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामीले अरुको सहयोगी भएर होइन आफैं अगाडि बढेर सन्देश दिनुपर्छ । मैले सभापतिमा उम्मेदवारी दिँदैछु, अरु युवा साथीहरू पनि यसमा जोडिनुपर्‍यो । कि मभन्दा योग्य साथीले आएर उम्मेदवार बन्नुपर्‍यो होइन भने मलाई सघाउनुपर्‍यो’, गुरुङले नेपाल प्रेससँग भने । पार्टीभित्र आफू अपवाद बन्न तयार रहेको भन्दै गुरुङले १४ औं महाधिवेशनले पार्टीभित्र न्याय र परिवर्तनको आभाष दिलाउन सक्नुपर्ने बताए ।

युवा नेता भन्छन्- गुट गलत होइन

विभिन्न गुटमा सक्रिय कांग्रेसका युवा नेताहरू गुट आफैंमा गलत अवधारणा नभएको दावी गर्छन् । देउवा गुटमा रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लोकतान्त्रिक दलभित्र फरक विचार समूह हुनु स्वभाविक रहने बताउँछन् ।

‘पार्टीको अधिवेशन र आन्तरिक प्रक्रियामा कसैलाई समर्थन गर्नु वा कसैको समर्थन खोज्न समूह बनाउनु स्वभाविक हो । तर आफूभन्दा फरक गुटमा छ भनेर कसैप्रति पूर्वाग्रही हुन चै गलत हो’, शर्माले नेपाल प्रेससँग भने । पार्टीभित्र गुटको नाममा क्षमता भएकालाई पनि ‘सिध्याउने’ खेल खेल्न नहुने शर्मा बताउँछन् । ‘गुटको अभ्यास लोकतान्त्रिक सौन्दर्यभित्र सीमित रहनुपर्छ’, उनले भने ।

सिटौला गुटमा रहेका युवा नेता गगन थापा कांग्रेसभित्र नेतृत्व चयनका लागि गुटहरु बन्ने कुरा स्वभाविक रहेको बताउँछन् । यद्यपि पार्टीको विचार र हितभन्दा माथि कुनै गुट नहुने बताउँछन् । ‘एउटा निश्चित सीमासम्म गुट हुन्छ । त्यो गुटभन्दा बाहिर पार्टीको संगठन र विचार सर्वोपरी हुन्छ’, थापाले नेपाल प्रेससँग भने ।

पार्टीभित्र युवा पुस्ताका नेताहरू अलग-अलग गुटमा भएपनि पार्टीको विचार र पार्टीलाई विधानसम्मत चलाउने सन्दर्भमा गुटको सीमा भत्काउन सक्नुपर्ने बताउँछन् । ‘गुटमा लाग्ने निर्णय र गुट छनोटको आधारमा युवाहरू अलग-अलग गुटमा हुनसक्छौं । तर, पार्टीलाई आवश्यक पर्दा, विचार र संगठनको हितमा हुन्छ भने गुटको सीमा भत्काउन तयार हुनुपर्छ । कहिलेकाहीं हामीले त्यसो गरेका पनि छौं’,थापाले भने ।

सिटौला गुटमै सक्रिय युवा नेता प्रदीप पौडेल पार्टीभित्र परिवर्तनकै लागि पनि गुट चाहिने बताउँछन् । ‘पार्टीभित्र राम्रो काम गर्न पनि गुट चाहिन्छ । तर गुटको आधार प्रष्ट हुन पर्‍यो । अहिले त कांग्रेसमा व्यक्ति हेरेर गुटमा लाग्ने प्रचलन भएर गुटको विरोध हुने गरेको हो । विचार, सिद्धान्त, संगठन र कार्यक्रमका आधारमा गुट बनाउन सक्नुपर्छ’, पौडेलले नेपाल प्रेससँग भने । अरुको फेरो समातेर आफूलाई सुरक्षित बनाउने प्रवृत्ति पार्टी रहेको स्वीकार्दै पौडेलले त्यसविरुद्ध उभिन सबैले हिम्मत गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेल नेतृत्वको गुटमा रहेका युवा नेता गुरुराज घिमिरे पार्टीभित्र गुटका नाममा अस्वस्थ प्रतिस्पर्धा बढेको स्वीकार्छन् । परम्परागत गुटको संस्कृति परिवर्तन गर्नुपर्ने उनको भनाई छ । ‘निहित स्वार्थका लागि गुट बनाउने र गुटमा लाग्नेहरुको मात्रै उन्नति प्रगति हुने गरेको देखिन्छ । यस्तो खालको गुटको राजनीतिले पार्टीलाई फाइदा गर्दैन’, घिमिरेले नेपाल प्रेससँग भने ।

सभापति देउवाको गुटमा सक्रिय पूर्वअर्थराज्य मन्त्री एवं युवा नेता उदयशमशेर राणा लोकतान्त्रिक पार्टीमा विश्वभर गुट व्यवस्था रहेको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीमात्रै होइन चिनियाँ पार्टीमा पनि गुट छ । पञ्चायतमा पनि गुटहरू थिए । त्यसैले गुटमा नलागी राजनीति गर्न गार्‍हो भइसक्यो । गुटमा लाग्नु भनेको मानवीय स्वभाव पनि होला’, राणाले भने । कांग्रेसमा गुटमा नलागेको व्यक्तिले टिकट समेत पाउन गार्हो रहेको बताउँछन् । ‘टिकट दिने नै नेताले हो । नेताको नजिक नभए टिकट पाउन कठिन हुन्छ । त्यसैले कसैं न कसैसँग लाग्नैपर्यो । गुटमा नलाग्दा अवसर पाउन गार्हो चै छ’, राणाले भने । गुट बन्नु स्वभाविक देखिएपनि गुट संस्थागत भएर पार्टी नै समस्यामा पर्ने अवस्था चै आउन दिन नहुने राणाको भनाई छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसमा युवा भनिने नै गुटका हर्ताकर्ता, कामभन्दा गफ धेरै

  1. अहिलेको समयमा डेमोक्रेसी टिमोक्रेसीमा परिणत भएको छ । टिम बन्छ, बनाउनु पनि पर्छ नत्र आफ्नो कार्यक्रम नै लागू गर्न सकिँदैन । तर गुट पद पाउनका लागि हुन भएन, कार्यक्रम लागू गर्नका लागि हुन पर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर