पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो – Nepal Press

पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो

काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि विश्व नम्बर एक बेल्जियम र युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगल भिड्दै छन् । नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे स्पेनको सेभियामा हुने खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुमाथि सबैको नजर हुनेछ ।

यी दुई खेलाडीले मात्रै जारी युरोमा ८ गोल गरिसकेका छन् । जारी युरोका सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले तीन खेलमा पाँच गोल गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ताको कीर्तिमान एकलौटी बनाउन अब एक गोल मात्रै बाँकी छ ।

टिम न्यूज

आजको खेलमा लेस्टर सिटीका मिडफिल्डर योरी टिलेमन्स बेल्जियन टोलीमा फर्किन सक्नेछन् । टिलेमन्सले बेल्जियमबाट सुरुआती दुई खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए भने फिनल्यान्डविरुद्धको खेलमा अनुपस्थित थिए ।

वुल्भ्सका डिफेन्डर नेलसन सेमेडो फ्रान्सविरुद्धको खेलमा सामान्य घाइते भएका थिए । तर, उनले आजको खेलमा भने पुनरागमन गर्ने सम्भावना प्रवल देखिन्छ ।

अन्तिम खेलमा फ्रान्सविरुद्ध सुरुआती-११ मा नपरेका ब्रुनो फर्नान्डेज बेल्जियमविरुद्ध टोलीमा पुनरागमन गर्ने आशामा छन् ।

यहाँसम्मको यात्रा

फिफा बरियताको शीर्ष स्थानमा रहे पनि बेल्जियमले अहिलेसम्म विश्व फुटबलका ठूला प्रतियोगिता जितेको छैन ।

नेदरल्यान्ड्स र इटालीसँगै रोबर्टो मार्टिनेजको बेल्जियम समूह चरणबाट सर्वाधिक तीन अंक हासिल गर्ने तेस्रो टोली हो ।

इटाली र डच टोलीले तीनै खेल घरेलु मैदानमा खेलेका थिए । तर, बेल्जियमले भने दुई खेल रुसमा र एक खेल कोपनहेगन डेनमार्कमा खेलेको थियो ।

युरो २०१६ को च्याम्पियन पोर्चुगलले तेस्रो स्थानमा समूह चरण टुङ्ग्याएर पनि नकआउटमा स्थान बनाएको थियो ।

जर्मनीसँग ४-२ ले पराजित भएको पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गरेको थियो भने फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

फरवार्डको लडाईँ कसले जित्ला ?

विश्वकप २०१८ पछि लुकाकुले बेल्जियमका लागि २१ खेलमा २३ गोल र ४ असिस्ट ठोकिसकेका छन् ।

इन्टर मिलानका फरवार्ड लुकाकुले समूह चरणका तीन खेलमा पनि तीन गोल गरिसकेका छन् । ती मध्ये दुई गोल उनले रुसविरुद्धको खेलमा गरेका थिए ।

पोर्चुगिज स्टार रोनाल्डो युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता हुन् । त्यती मात्रै नभएर उनी ठूला प्रतियोगिता (युरो र विश्वकप)मै सर्वाधिक २१ गोल गर्ने खेलाडी हुन् । उनले गत हप्ता मात्रै जर्मनीका पूर्व खेलाडी मिरोस्लभ क्लोससँगको कीर्तिमान एकलौटी बनाएका थिए ।

यसअघिका दुई तीनमध्ये दुई खेलमा दुई/दुई गोल गरेका रोनाल्डो उत्कृष्ट फर्ममा छन् । अहिलेसम्म युरोपियन च्याम्पियसिपको इतिहासमा कसैले पनि एकै संस्करणका तीन खेलमा दुई गोल गरेको छैन ।

‘उनको उमेरमा अझै पनि उनी चम्किरहेका छन्, म उनी जस्तै उपलब्धि हासिल गर्न चाहन्छु,’ ३६ वर्षीय रोनाल्डोबारे २८ वर्षीय बेल्जियन फरवार्ड लुकाकुले भनेका छन् ।

म्याच फ्याक्ट्स

  • यी दुई टोलीको ठूला प्रतियोगितामा यो पहिलो भेट हो ।
  • सबैखाले प्रतियोगितामा गरी बेल्जियमविरुद्धका पाँच खेलमा पोर्चुगल अपराजित छ । तीमध्ये तीन खेलमा जित तथा दुई बराबरी खेलेको छ ।
  • बेल्जियमले अन्तिम पटक पोर्चुगललाई १९८९ को सेप्टेम्बरमा विश्वकप छनोटमा ३-० गोलको नतिजामा पराजित गरेको थियो ।
  • रोबर्टो मार्टिनेजको नेतृत्वमा खेलेका बेल्जियमले पछिल्ला ५८ खेलमध्ये दुई खेलमा मात्रै गोल गर्न सकेको छैन ।
  • जारी युरो २०२० मा बेल्जियमबाट १३४ मिनेट मात्रै खेलेका केभिन डी ब्रुयनाले एक गोल र दुई असिस्ट गरिसकेका छन् ।
  • युरो २०२० तीन खेलमा पोर्चुगलले ६ गोल खाइसकेको छ । यो २०१६ मा उपाधि जित्दा फर्नान्डो सान्तोषको टोलीले प्रतियोगिताभर खाएको भन्दा एक गोल धेरै हो ।
  • लगातार दोस्रो पटक पोर्चुगल समूह चरणबाट तेस्रो टोलीको रूपमा नकआउटमा पुगेको हो । यसअघि २०१६ मा पनि यसरी नै नकआउटमा पुगेर उपाधि उचाल्न सफल भएको थियो ।
  • समूह चरणका तीन खेलमा ४ अंक मात्र हासिल गर्नु युरोको साविक विजेता टोलीको २००८ मा ग्रीसपछि सबैभन्दा कमजोर पुनरागमन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर