‘फ्रन्टलाइनर हौं’ भन्दै पेट्रोल पम्प सञ्चालकहरु खोपको लविङमा, आन्दोलन गर्ने चेतावनी – Nepal Press

‘फ्रन्टलाइनर हौं’ भन्दै पेट्रोल पम्प सञ्चालकहरु खोपको लविङमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री गर्ने पेट्रोल पम्पका सञ्चालकले कोरोनाविरुद्धको खोप माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् ।

पेट्रोलियम पदार्थ बिक्रेताहरुको संगठन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पम्प सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन धेरैपटक माग गर्दा पनि नपाएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

केही दिन अगाडि पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीले आपूर्ति नै रोकेर आन्दोलित भएका थिए । उनीहरुले बागमती प्रदेशमा ३ दिन आपूर्ति बन्द गरेपछि नेपाल आयल निगमले कोरोनाविरुद्धको खोप व्यवस्था गरेको थियो । ढुवानी व्यवसायीले खोप पाएपछि उनीहरुको सिको गर्दै पम्प व्यवसायी आन्दोलन गर्न तम्सेका हुन् ।

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पनि सरकारसँग धेरैपटक कोरोनाविरुद्धको खोप माग्दा पनि नपाएको बताएको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले नेपाल आयल निगमसँग धेरैपटक पहल गर्दा पनि सुनुवाइ नभएको बताए ।

उनले भने, ‘पेट्रोल पम्पमा काम गर्ने व्यवसायी र कर्मचारी पनि अग्रपंतिमा नै पर्ने हुन् । तर सरकार र नेपाल आयल निगमले हाम्रो मर्का बुझेको छैन ।’

बन्दको बेला थोरै मान्छे तेल भर्न आउने गरेपछि बजार खुलेसँगै पम्पमा भिडभाड बढ्ने भएकाले जोखिम हुने उनको भनाइ छ ।

उनले भने, ‘अब बजार खुलेको छ । जस्ता मान्छे पनि तेल हाल्न आउँछन् । हामी अब झन् असुरक्षित भएका छौं ।’

अहिलेसम्म १ हजार जना पम्पका सञ्चालक तथा कर्मचारीलाई कोरोना संक्रमण भइसकेको प्रधानले बताए । उनका अनुसार १० जनाको कोरोनाको कारण मूत्यु समेत भएको छ ।

‘हाम्रो कुरा सरकारले सुनवाइ नगरे अन्दोलनमा उत्रिने तयारी गरेका छौं,’ उनले भने ।

हाल देशभर १ हजार ४ सय पेट्रोल पम्प रहेका छन् । प्रत्यक पम्पमा सञ्चालकसमेत औसत ६ जनाले काम गर्ने भएकाले करिब ८ हजार ४ सय जनालाई खोप उपलब्ध गराउनुपर्ने हुन्छ । उनीहरुमध्ये ३० प्रतिशतले भने खोप लगाइसकेको प्रधानले बताए ।

बागमती प्रदेशको पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्का सरकारले पेट्रोल पम्पलाई पनि ‘फ्रन्टलाइनर’ का रुपमा बुझ्नुपर्ने बताउँछन् ।

उनले भने, ‘हामी कोरोनाको जोखिममा छौं । यो कुरो नेपाल आयल निगम, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयले बुझनु पर्ने कुरा हो । खोप नपाए आन्दोलन गर्छौं भनेर नेपाल आयल निगमलाई पनि भनेका छौं ।’

नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्याय भने देशमा खोपको अभाव रहेको एसोसिएसनले बुझ्नुपर्ने बताउँछन् ।

उनले भने, ‘कसैले सरकारसँग माग त राख्न पाउँछन् । माग राख्दैमा बन्द गर्छु भन्ने पनि हुँदैन । एसोसिएसनका पदाधिकारीहरुले पनि अति आवश्यक सेवा बन्द गर्न हुँदैन भन्ने बुझनु भएको छ ।’

खोपका लागि उद्योग मन्त्रालयसँग आफूहरुले कुरा गरेको भन्दै चाँडै व्यवस्था हुन सक्ने आशा उनले व्यक्त गरे ।

त्यसो त उद्योगी-व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष चन्द ढकालले अब खोप लगाएर व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले सरकारसँग यसका लागि आग्रह गरिएको बताए ।

सरकारसँग निजी क्षत्रले ढुवानी सेवाका लागि ४ हजार ६ सय, यातायात व्यवसायीको लागि १ लाख ४० हजार र ग्यास विक्रेताको लागि ४ हजार ६ सय डोज खोप मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *