ओलीको नेतृत्वबाटै नयाँ ध्रुवीकरण आवश्यक : मणि थापा – Nepal Press

ओलीको नेतृत्वबाटै नयाँ ध्रुवीकरण आवश्यक : मणि थापा

एमाले एकताका लागि ओली र माधव दुवैले वातावरण बनाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले वृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि आफूहरूले केपि ओलीलाई साथ दिएको बताएका छन् ।

ओली र प्रचण्डले शुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले राजनीतिक रूपमा कुनै गल्ती नगरेको उनले बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरू गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ’, थापाले भने, ‘त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’

नेता थापाले एमाले एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताएका छन् । उनले भने, ‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरु पनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन । ठूलो डिवेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

माओवादीमा फर्कनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

थापाले एमालेभित्र पूर्वमाओवादीहरूले पूर्वसमूहको रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *