पुराना पुस्तकका लागि नयाँ नक्सासहितको पेज छुट्टै बाँड्ने तयारी – Nepal Press

पुराना पुस्तकका लागि नयाँ नक्सासहितको पेज छुट्टै बाँड्ने तयारी

काठमाडौं । सरकारले पुरानो नक्सा छापिएका पाठ्यपुस्तकलाई नष्ट नगरी त्यसमै टाँस्न मिल्ने गरी नयाँ नक्सासहितको पेज छुट्टै वितरण गर्ने तयारी गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एक हप्ताअघि पुरानो नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएपछि जनक शिक्षा सामग्री केन्द्रले सो उपाय निकालेको हो ।

सरकारले कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिसकेपछि नयाँ नक्सासहितको पाठ्यपुस्तक छपाइ भएका छन् । तर, धेरै विद्यार्थीलाई पुरानै नक्सा भएका पुराना पाठ्यपुस्तक बिक्री वितरण भइरहेको पाइएपछि शिक्षामन्त्रीले एक्सन लिएका थिए ।

जनक शिक्षा सामग्री केन्द्रले अहिले पुराना नक्सा छापेर बिक्री भएका पुस्तकमै नयाँ नक्सा टाँस्न सकिने जनाएको छ । जनक शिक्षाका प्रमुख अनिलकुमार झाले पाठ्यपुस्तकमा पुरानो नक्सा भएको पानामाथि गमको सहायताले नयाँ पाना जोड्ने गरी व्यवस्था मिलाउन लागिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘सबै किताब जफत गरेर नष्ट गर्दा करोडौंको नोक्सानी हुने देखियो । साथै पुस्तक छापेर फेरि वितरण गर्न पनि ३ महिना समय लाग्छ । विद्यार्थीले पढ्न पाउँदैनन् । त्यसैले नक्सा छुट्टै वितरण गर्न लागेका हौं ।’

पुराना पुस्तकमा विद्यार्थी आफैंले गमले टाँस्न सक्ने गरी नयाँ नक्सासहितको पाना जनक शिक्षाले छापिरहेको छ । ती नक्साहरू विद्यालयमा पुर्‍याएपछि शिक्षकले विद्यार्थीलाई टाँस्न निर्देशन दिने झा बताउँछन् ।

‘बिक्री भएको पुरानो किताबको संख्याअनुसार हामी आफैं नयाँ नक्सा विद्यालयलाई पठाउँछौं । जुन पेजमा पुरानो नक्सा छ, त्यही पेजमा छुट्टै पाना टाँस्छौं,’ प्रबन्धक झाले नेपाल प्रेसलाई भने ।

अहिलेसम्म ५० प्रतिशतभन्दा बढी विद्यालयमा भने नयाँ नक्सासहितको पाठ्यपुस्तक पुर्‍याइएको उनले बताए । आगामी एक हप्ताभित्र देशभरका सबै विद्यालयमा पुस्तक पुर्‍याइसक्ने गरी तयारी भएको झाको भनाइ छ ।

‘बीचमा निषेधाज्ञाले गर्दा केही अवरोध भयो, अब पुस्तक वितरणलाई तीव्रता दिनेछौं,’ उनले भने ।

कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको छपाइ र वितरणको काम जनक शिक्षाले गर्दै आइरहेको छ । सरकारले नयाँ नक्सा जारी भएको पाठ्यपुस्तक पठाउन निर्णय गर्नुअघि कतिपय पुराना नक्सासहितका पुस्तकहरु बजारमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर