लन्डन आउँदाआउँदै पुटिनलाई बाइडेनको चेतावनी : रुसविरुद्ध अमेरिकाले बलियो र अर्थपूर्ण उपाय खोज्नेछ – Nepal Press

लन्डन आउँदाआउँदै पुटिनलाई बाइडेनको चेतावनी : रुसविरुद्ध अमेरिकाले बलियो र अर्थपूर्ण उपाय खोज्नेछ

जी-सेभेन बैठकका लागि नेताहरु भेला हुने क्रम जारी

लन्डन । अमेरिकी राष्ट्रपति जो बाइडेन पहिलो औपचारिक भ्रमणको सिलसिलामा बुधबार बेलायत आइपुगेका छन् ।

लन्डन ओर्लिएलगत्तै उनले आफ्नो अभिव्यक्तिको निशाना रुसलाई बनाए । यदि रुसले आफ्ना घातक गतिविधि कायमै राखे बलियो र अर्थपूर्ण परिस्थितीको सामना गर्नुपर्ने चेतावनी समेत दिए ।

शुक्रबारदेखि सुरु हुने ठूला सात धनी राष्ट्रहरुको समूह जी-सेभेनको सम्मेलनमा भाग लिन बाइडेन बेलायत पुगेका हुन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगै नयाँ एटलान्टिक सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सन्धिलाई सन् १९४१ मा विन्स्टन चर्चिल र फ्रांकलिन रुजभेल्टले हस्ताक्षर गरेको एटलान्टिक सन्धिको नयाँ संस्करण भनिएको छ । नयाँ सन्धि जलवायु परिवर्तन र सुरक्षाका मुद्दामा केन्द्रित हुने बताइएको छ ।

अघिल्ला अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा भएको द्धिपक्षीय सम्बन्ध र कोरोनाभाइरस महामारीले सिर्जना गरेको दबाबका बाबजुद यी दुई देशले नयाँ सम्बन्ध विकास गर्न चाहिरहेका हुन् ।

आठ दिन लामो बेलायत भ्रमणमा बाइडेनले महारानी एलिजाबेथ द्धितियालाई विन्डसर क्यासलमा भेट्नेछन् । जी–सेभेन बैठकमा भाग लिने र नेटो अध्यक्षको रुपमा नेटो सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

भ्रमणको अन्त्यमा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जेनेभामा भेट्ने कार्यक्रम छ । पुटिनसँगको भेटमा बाइडेनले पछिल्लो समय दुई मुलुकबीचका जल्दाबल्दा समस्याबारे वार्ता गर्ने भएका छन् ।

जसमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रुसी सेनाको सहभागिता, रुसी साइवर ह्याकिङ प्रकरण र रुसीले देश निकाला गरेका अलेक्जाइ नाभाल्नीको बारेजस्ता मुद्दाहरु छन् ।

बुधबार अमेरिकी सेना र तिनका परिवारलाई सम्बोधन गर्दैै बाइडेनले वार्तामार्फत आफूले रुसलाई स्पष्ट सन्देश दिने बताए । ‘हामीले रुससँग युद्ध चाहिरहेका छैनौं’ उनले भने, ‘हामी दिगो र अपेक्षित सम्बन्ध चाहिरहेका छौं, तर म के कुरामा स्पष्ट छु भने यदि रुस हिंसात्मक गतिविधिमा सामेल भए अमेरिकाले बलियो र अर्थपूर्ण बाटो रोज्नेछ ।’

जी–सेभेनका अन्य सदस्य मुलुकका प्रतिनिधि पनि इङल्यान्डको कर्नवेलमा पुग्ने तयारीमा छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, युरोप र अमेरिका जी–सेभेनका सदस्य राष्ट्रहरु हुन् ।

यसपटकको जी–सेभेनको मुख्य मुद्दा चाहिँ बलियो कोभिड–१९ बाट कसरी मुक्त हुने भन्ने नै हुनेछ । साथै, भविष्यमा आइपर्ने महामारीबाट बच्न कसरी बलियो विश्व स्वास्थ्य प्रणाली स्थापना गर्ने भन्ने बारेमा पनि जी–सेभेन केन्द्रित हुने जनाइएको छ ।

साथै, जलवायु परिवर्तन तथा व्यापार पनि मुद्दा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर