संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ को अर्थपूर्ण अग्रसरता – Nepal Press

संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ को अर्थपूर्ण अग्रसरता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेन । मुलुकको पछिल्लो राजनीतिको गाँठो फुकाउन महत्वपूर्ण मानिएको न्यायिक प्रक्रिया २ दिन रोकिँदा त्यसबारे अनेक आँकलन गरिए ।

बुधबार संवैधानिक इजलासको पेशी तोकिदासम्म मुद्धा के होला ? भन्ने अनेक तर्क वितर्क भइ नै रहे । खासगरी सरकारी पक्षले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईलाई इजलासबाट अलग गर्न माग गरेको थियो ।

त्यसबारे २ न्यायाधीशले आफ्नो राय इजलासमै दिने चर्चाबीच सुरु भएको बुधबारको सुनुवाईमा आँकलन गरिएका कुनै घटना भएनन् । इजलास सुरु हुनासाथ प्रधानन्यायाधीश राणाले शेरबहादुर देउवासहित १ सय ४६ जना रिट निवेदक रहेको मुद्धाको पक्षमा रहेका कानुन व्यवसायीलाई बहस गर्न समय दिए ।

राणाले समय दिदा सरकारी पक्षका कानुन व्यवसायीले धारणा राख्न खोजेका थिए तर उनले इजलासबारे बहस नहुने बताए । यहीबीचमा बहसका लागि तयार भइसकेका वरिष्ठ अधिवक्ता महादेव यादवलाई रोक्दै न्यायाधीश ईश्वर खतिवडाले समय लिए ।

त्यसयता बुधबार दिनभरको सुनुवाईलाई न्यायाधीश खतिवडाले नै ‘लिड’ गरे । सुनुवाईको प्रारम्भमै खतिवडाले ‘कडा मिजास’मा प्रष्ट कुरा राखेका थिए ।

‘हामीसंग पनि भन्नैपर्ने कुरा धेरै छन् । तर यो इजलासबाट यतिबेलै सबै कुरा भन्न चाहन्नौं । न्यायालयप्रति पछिल्लो केहीदिन यता जे जस्तो प्रहार भइरहेको छ अब त्यो सहन्नौं । इजलासबारे अब केही सुन्दैनौं’, खतिवडाको भनाई थियो ।

संविधानले प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासको कल्पनै नगरेको र आफूसहित ४ जना न्यायाधीश परिस्थतिवश इजलासमा रहेकोले अब इजलासबाट फिर्ता नहुने बताए । खतिवडाको यो भनाईले नै इजलास पुनर्गठनको मागलाई ‘अस्वीकार’ गरिसकेको थियो । अर्कोतिर ‘हामी चार जना एउटै डुंगामा छौं’ भन्ने भनाईले संवैधानिक इजलासमा रहेका ४ जना न्यायाधीशहरुबीच मतैक्य रहेको सन्देश प्रवाह भएको थियो ।

इजलासको आदेश अनुसार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादव बहसमा आए । उनलाई न्यायाधीश खतिवडाले मुद्धाको मूल विषय र धारा ७६ को ५ सम्बन्धी विषयमा केन्द्रीत हुन आदेश गरे । रिट निवेदन पक्षबाट २ जनालाई मात्रै बहस गर्न दिने र दुवैलाई ३० मिनेटभन्दा एक मिनेट बढी समय नदिने खतिवडाले स्पष्ट पारिसकेका थिए ।

यादवले आफ्नो बहस आधा घण्टा नपुग्दै टुंग्याए । अब पालो थियो वरिष्ठ अधिवक्ता शम्भु थापाको । थापालाई सुरुमै न्यायाधीश खतिवडाले अन्तरिम आदेश माग भएको विषयमा केन्द्रीत रहेर बहस गर्न आदेश गरे । थापाको बहस सकिनासाथ केही कानुन व्यवसायीले धारणा राख्न खोजेका थिए । तर खतिवडाले २ जनाको बहसपछि ‘टी ब्रेक’ गर्ने आदेश सुरुमै भएको स्मरण गराए । ‘अहिलेलाई टी ब्रेक । त्यसपछि के गर्नुपर्छ हामी भनौंला’, खतिवडाको आदेश थियो ।

निर्धारित भन्दा ढिलो गरी ‘टी ब्रेक’ सकिएको थियो । मुद्धाबारे अन्तरिम आदेश आउने वा नआउने भन्नेमा बार एसोसियसनको परिसरमा चलेको कानुन व्यवसायीहरुको तर्क वितर्क शान्त भयो । ‘टी ब्रेक’पछि सुरु भएको इजलासलाई पनि न्यायाधीश खतिवडाले नै ‘लिड’ गरे ।

‘केहीबेरमा लिखित आदेश आउँछ, लिएर जानुहोला’, प्रधान्यायाधीश राणाले यतिमात्रै बोले । कानुन व्यावसायीले ‘आदेश तयार भइसकेको भए पढेर सुनाइदिन’ अनुरोध गरेपछि खतिवडाले अग्रसरता देखाए । ‘शेरबहादुर देउवा निवेदक भएको रिटलाई मुख्य मानेर हामीले केही आदेश गरेका छौं । यो मुद्धाको परिणामले अरु मुद्धामा पनि फरक पर्ने भएकोले हामीले केही व्यवस्था गरेका छौं । त्यो अहिले किन सुनाउनु ? प्रिन्ट हुँदैछ लिएर जानुहोला’, खतिवडाले भने ।

त्यसपछि सर्वोच्च प्रशासनबाट जारी आदेशमा विपक्षीहरुको नाममा कारण देखाउने, अन्तरिम आदेश नगरी मुद्धाको अन्तिम किनारा लगाइने, छिटो फैसला गर्न बहस अवधी र प्रक्रिया छोट्याउने लगायतका विषय उल्लेख छन् । लामो समयदेखि ‘लिगल प्राक्टिक्स’ गरिरहेका कानुन व्यवसायीहरु बुधबारको इजलासलाई न्यायाधीश खतिवडाले ‘लिड’ गर्नु सकरात्मक रहेको बताउँछन् ।

‘ईश्वर श्रीमान्‌को आजको भूमिकाले सर्वोच्च अदालतलाई फाइदा पुगेको छ । प्रधानन्यायाधीश र इजलासका अन्य न्यायाधीशबारे प्रश्न उठेका बेला उहाँले जसरी लिड गर्नुभयो त्यसले अदालतप्रति भरोसा बढाएको छ’, एक वरिष्ठ अधिवक्ताले भने । सामान्यतया आफू सम्मिलित बेन्चमा प्रधानन्यायाधीले नै ‘लिड रोल’ गर्ने प्रचलन देखिन्छ । संवैधानिक इजलासमा बुधबारदेखि ‘ईश्वर श्रीमान्’ ले लिएको अग्रसरताले विचाराधीन मुद्धाको निरुपणलाई ‘न्यायिक तागत’ प्रदान गरेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया

One thought on “संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ को अर्थपूर्ण अग्रसरता

  1. Aba ta bathroom gayapani arthapurna huni vo ghar bata fone aayo vane
    pani arthapurna huni vo….terima ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *